• २०८१ बैशाख १३ बिहीबार

राजकुमार ह्यारी र मार्कलबीच बिवाह हुदै, को हुन् मेघन मर्केल ?

kharibot

विन्डसोर, बेलायत । बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गर्न लागेका छन्  । 

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको वैबाहिक समारोहलाई विश्वभरीबाट चासोका साथ हेरिएको छ । 

विवाह समारोहमा एक लाख निम्तालु सहभागी हुने अनुमान गरिएको छ । यसलाई एउटा ऐतिहासिक घटनाको रुपमा लिइएको छ । 

विवाहको खुशीयालीमा देशभरी चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ । 

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । 

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेका थिए । 

हलिवुडका फिल्म र अमेरिकी टेलिभिजनको टेलि श्रृखंलामा काम गर्दा चर्चित मार्कल परोपकारी कार्यमा पनि संलग्न छिन् । 

को हुन् मर्केल ?

सन् १९८१ अगष्ट ४ मा अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा जन्मिएकी मर्केलको पूरा नाम रचेल मेघान मर्केल हो । एक्ट्रेस, मोडल र ह्युमेनिटेरियनको रुपमा संसारलाई चिनाएकी मर्केलले सन् २००२ देखि २०१७ सम्म आफ्नो सक्रिय जीवनलाई अगाडि बढाइरहेकी छिन् । आफूलाई बहुप्रतिभाशाली बनाउने क्रममा उनले कलाकार, मोडल र मानवसेवालाई जोड दिँदै आएकी छिन् ।

बेलायती राजकुमारसँगको प्रेममा परेपछि मिडियाले उनलाई खोज्न थालेको हो । दुवैको कर्मवाद मिल्दोजुल्दो भए पनि बेलायती दरबारमा उनको प्रवेश एउटा ऐतिहासिक कुरा भएको छ । 

एउटा हलिउड सपनाबाज

अमेरिकाको लस एन्जल्सनिवासी यी कलाकार बाबु थोमस मर्केल र आमा डोरिया रगल्याण्डको कोखबाट जन्मिएकी हुन् । यद्यपि उनको बुबाआमाको वैवाहिक जीवन उनी सानै छँदैमा टुक्रिएको थियो । तर त्यसले मर्केललाई कलाकार बन्न असर गरेन । उनले परिवारबाट सहायोग र सद्भाव पाइरहिन् । उनले लेख्ने कला सिक्दै गइन् भने एउटा रेष्टुरेन्टमा अतिथिसेविका भएर पनि काम गरिरहेकी थिइन्, जुन कलाकार बन्नका लागि अत्यावश्यक थियो ।

त्यसबेलासम्म उनले ‘सीएसआई : मिआमी’, ‘९०२१०’ र ‘जनरल हस्पिटल’ जस्ता फिल्मले उनलाई अभिनय गर्ने आधार दिएको थियो । त्यसमा उनले थोरै भए पनि अभिनय गर्ने स्थान पाइन् । यसका अतिरिक्त ‘रिमेम्बर मि’ र ‘हरिबल बोसेस’मा पनि उनले अभिनय जारी राखिन् । त्यसपछि ब्रेकथ्रु नै भयो उनको भूमिका सन् २०११ मा जब उनले ‘सुट्स’ नामको टिभी सिरिजमा काम पाइन् । अहिले यो शोको सातौँ सिजन चलिरहेको छ ।

'बाइ–रेसियल' मूल

सन् २०१५ मा फेसन, सुन्दरता, मनोरञ्जन र स्वास्थ्यसम्बन्धी म्यागजिन एल्ले युकेका लागि निबन्ध लेखेकी मर्केलले एउटा बाइ रेसियल (दुई छुट्टाछुट्टै जातिका बाबुआमाबाट जन्मिएको) कलाकारका रुपमा उसले जीवनमा भोग्नुपर्ने अप्ठ्याराहरु शब्दमा उतारेकी थिइन् । उनी अश्वेतमूलकी आमा र श्वेतमूलका बाबुबाट जन्मिएकी थिइन् । सोही कारण उनको परिवारले जीवनमा आउने कठिनाइहरुबारे सानैदेखि तम्तयार पार्ने कोसिस गरेको थियो ।

महिलावादी टिभी स्टारडम

संसारकै शक्तिशाली दरबारको एक सदस्य बन्न लागेकी मेघन एक महिलावादी नारीका रुपमा समेत चिनिन्छिन् । उनलाई उनके साइकोथेरापिष्ट र योग सिकाउने आमाले ‘कसरी ग्लोबल सिटिजन (विश्वकै नागरिक) बन्ने’ भनेर प्रशिक्षित गरेको उनले २०१६ मा एल्लेमा लेखेकी छिन् ।

मर्केलले लैंगिक समानताको लागि आफ्नो टिभी स्टारडमलाई नै आधार बनाएर क्लिन वाटर क्याम्पेन, दासमुक्त आधुनिक समाजजस्ता रचनात्मक आन्दोलनहरु चलाएकी थिइन् । उनी आफू नारी र नारीवादी भएको भन्दै मर्केलले संयुक्त राष्ट्रसंघको राजनीतिक सहभागिता र नेतृत्वका लागि महिला वकालत भन्ने विषयमा सन् २०१५ को अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रसंघीय सम्मेलनमा भाषण गरेकी थिइन् ।

उनी सानैदेखि जेन्डर इक्वेलिटी (लैंगिक समानता)को वकालत गर्थिन् ।  स्कुले जीवनमा उनले आफूलाई दुई जना केटा साथीले केटी (महिला)हरु खालि भान्सासँग मात्रै सम्बन्धित रहेको भन्दा उनी निकै रिसाएको बताउँछिन् मर्केल । त्यतिबेला उनी तत्कालै प्रतिवादमा उत्रिएकी थिइन् । यसले पनि उनी सानैदेखि कति ‘सिरियस’ थिइन् भन्ने देखाउँछ । बुबाकै सल्लाहमा उनले एक जना साबुन उत्पादक र गत वर्षको राष्ट्रपतीय चुनावी मैदानमा पराजित हिलारी क्लिन्टनलाई समेत चिठी पठाएकी थिइन् । एकपटक उनकै प्रयासमा ‘महिलाविरोधी विज्ञापन’मा प्रयोग भएको ‘वुमन’ शब्दको ठाउँमा ‘पिपल’ राखिएपछि यसले उनलाई थप हौसला दियो । त्यसो त मर्केलले लेडी गागासँग स्वरमा स्वर मिलाउँदै ‘शिक्षामा महिलाअधिकार’ व्यावहारिक रुपमै हुनुपर्ने माग गरेकी थिइन् ।

समाजसेवी मर्केललाई समाजसेवक नै जीवनसाथी !

मानव सेवामा रम्न चाहने यी अमेरिकी अभिनेत्रीले भविष्यमा समेत आफ्नो कामलाई साथ दिने समाजसेवकलाई आफ्नो जीवन साथी बनाउने लगभग पक्कापक्की भएको छ ।

उनका भावी श्रीमान् अर्थात् प्रिन्स ह्यारी पनि समाज सेवा गर्न रुचाउने राजकुमार हुन् । सन् २००६ मा ह्यारीले अफ्रिकाको लेसोथोमा टुहुरा र असहायको सहायोगका लागि च्यारिटी आयोजना गरेका थिए । त्यहाँ उनले महिला, रोगी र घाइतेहरुको लागि सहयोग अभियान चलाएका थिए । आफ्नो आमा डायनाले जस्तै एड्स र एचआईभीपीडितका लागि ह्यारीले सहयोग गर्दै आएका छन् ।

दोस्रो विवाह

विवाह हुनुअघि मर्केलले आफूहरु दुवै एक अर्काप्रति प्रेममा रहेको र यसबाट निकै खुसी रहेको बताइसकेकी छिन् । यद्यपि मर्केलको भने यो दोस्रो विवाह हुनेछ । यसअघि एक फिल्म निर्माता ट्रेभर एन्जेल्सनसँग विवाह भएको मर्केलको वैवाहिक जीवन २ वर्षसम्म टिकेको थियो । उनीहरुबीच सन् २०१३ मा सम्बन्धविच्छेद भएको थियो ।

...र त्यो ‘ब्लाइन्ड डेट’

मर्केलले सन् २०१६ मा आफ्नो साथीमार्फत प्रिन्स ह्यारीलाई भेटेकी थिइन् । उनीहरुका लागि कुनै साथीले मध्यस्थकर्ता भएर ‘ब्लाइन्ड डेट’ आयोजना गरिएको थियो । गत नोभेम्बरको अन्तिमतिर सार्वजनिक रुपमा प्रिन्स ह्यारीले सम्बन्ध खोल्नुअघि नै उनीहरु गोप्य भेटमा थिए । सम्बन्ध गाँसिएको १ वर्षपछि मात्रै मर्केलले ह्यारीसँगको आफ्नो सम्बन्धबारे खुलाएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामी दुई एक अर्काप्रति प्रेममा र खुसी छौँ ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै