• २०८१ बैशाख ७ शुक्रबार

क्रान्ति गर्नेछु [कविता]

kharibot

आमा म क्रान्ति गर्नेछु 
अब बन्दुक बोकेर होइन 
कलम बोकेर क्रान्ति गर्नेछु 
आमाको मुहारमा हाँसो ल्याउने छु 

धेरै भयो आमाको आँखामा आँसु आइरहेको 
रक्सी खाएर आमालाई पिट्नेहरुलाई 
खबरदारी गर्नेछु हो म क्रान्ति गर्नेछु 
गाउँ गाउँ डुल्नेछु हिड्नेछु आमालाई खुसी बनाउनेछु 

तपाईंको स्नेह ममता निस्वार्थ माया 
त्यसै त्यसै विलीन भएको छ माटोमा 
यौवनका पिपासुहरु हो तिमीहरू सुन नामर्द लोग्नेहरु 
तिमीहरूको अस्तित्व हराउँदै छ धर्तीमा 

हो आमा म क्रान्ति गर्नेछु 
तपाईंको भावना बुझ्नेछु 
देश विकासतिर लाग्नेछु 
भ्रष्टाचार बलात्कार अन्नाय अत्याचार माथि 
बिरोध गर्छु खबरदारी गर्छु आन्दोलन गर्छु 
कलमबाट 
हो अब आमा म क्रान्ति गर्नेछु 

मेरो दिव्यमा चेतनाको बीउ रोपेर 
प्रेमको भाव जगाएँर मेरो आकाशमा उज्यालो बनाउने छु 
मैले टेकेको धर्तीमा दियो जलाउने छु 
आमा मलाई नरोक्नु होस् 
अब छाडी दिनुहोस् आमा मलाई न रोक्नुहोस् 
धर्तीमा नयाँ बिहानी हुन्छ सुर्य उदाउनेछ 

हो तपाईंको छोरो अब क्रान्ति गर्ने भएको छ 
तपाईंको मातृत्व मैले बुझेको छु 
तपाईंको आँसुको मुल्य तिर्ने भएको छु 
तपाईंको माया अपरम्पार छ 
अनुपम छ 
आमा तपाई अब दुखित नबन्नुहोस् 
हो आमा बन्दुक बोकेर होइन 
कलम बोकेर क्रान्ति गर्नेछु 
हो आमा म क्रान्ति गर्नेछु । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै