• २०८१ बैशाख १३ बिहीबार

सिँचाइ सुविधा पुगेपछि बाजुरामा खुशी

kharibot

बाजुरा / जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीको माथिल्लो खेतमा डेढ दशकदेखि सिँचाइ हुन सकेको छैन । 

गाउँ नजिकैको खोलाको पानी सिँचाइ गर्न कुलो निर्माण गरिएको भए पनि २०६१ भदौमा भएको अविरल वर्षाका कारण नहर बगायो । सिँचाइ कुलोको नहर बगाएपछि स्थानीयवासीले माथिल्लो खेतमा १४ वर्षदेखि धानखेती लगाउन नपाएका हुन् । 

सिँचाइ कुलो मर्मत भएपछि अहिले स्थानीय किसानले धानखेती गर्न पाउने भएका छन् । डेढ दशकभन्दा अघिसम्म धानखेती गर्न नपाएका रजातोलीवासीले यस वर्ष सहज रुपमा रोपाइँ गर्न पाउने भएपछि निकै खुशी देखिएका छन् । यसभन्दा पहिलेका वर्षमा सबै खेतमा कोदोमात्र लगाउने र धान रोपाइँ हुन नसकेको स्थानीयवासी देवराज पाध्यायले बताए । 

असारमा धान रोप्न पाउने भएपछि सबै किसानले धानको बेर्नासमेत लगाइसकेका बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए । 
जिल्ला सिँचाइ सबडिभिजन कार्यालय बाजुराको आयोजनामा सिँचाइ कुलो मर्मत गरेपछि यो वर्षदेखि धान रोप्ने तयारीमा स्थानीयवासी रहेको वडाध्यक्ष पाध्यायले बताए । 

जिल्ला सिँचाइ सबडिभिजन कार्यालय बाजुराको एक करोड ६० लाख ६७ हजारको लगानीमा निर्माण गरेपछि रजातोलीका १०२ घर परिवारभन्दा बढी परिवार लाभान्वित हुने जिल्ला सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख छविराज जोशीले बताए । रजातोलीमा ६८० जनसंख्या छ । डेढ सय मिटर लामो पक्की सिँचाइ कुलो बनाइसकिएकाले यो वर्ष ७०० रोपनी जमिन सिँचाइ हुने भएको छ । 

तीन वर्षदेखि सञ्चालन गरिएको ऋषिमाण्डौ सिँचाइ योजना सम्पन्न हुने चरणमा पुगेकाले यो असारमा नै रोपाइँ गर्न सकिने कार्यालय प्रमुख जोशीको भनाइ छ । 

योजनाको पूरा काम गर्न यो वर्ष नसकिए पनि खेतमा पानी पुग्ने गरी काम गराइएको ऋषिमाण्डौ सिँचाइ योजनाका अध्यक्ष धनलाल पाध्यायले बताए । बडिमालिका–७ मा मात्र तीन वटा सिँचाइ योजनामा सञ्चालनमा रहेको सिँचाइ कार्यालय बाजुराले बताएको छ । रजातोलीको माथिल्लो खेतमा धेरै उब्जाउ हुने भए पनि सिँचाइ नहुँदा हिउँदे बालीसमेत सुक्ने गरेको थियो । सिँचाइ सुविधा भएपछि हिउँदेबाली पनि राम्रो हुने रजातोलीका किसानको भनाइ छ । सिँचाइ कुलो शुरु भएपछि तरकारीखेती पनि राम्रो हुने जिल्ला सिँचाइ कार्यालय बाजुराले जनाएको छ । 

सडक सञ्जाल पुगिसकेको हुनाले यहाँ अन्य खेतीभन्दा पनि तरकारीखेतीतिर किसानलाई आकर्षक गर्न आवश्यक रहेको छ । 
खडेरीले प्रभावित बन्दै गएको उत्तरी भेगको बूढीनन्दा नगरपालिकाको स्यालकाटिया खोलादेखि वीरसैनसम्मको सिँचाइ कुलो, स्वामीकार्तिक गाउँपालिकाको साप्पाटामा समेत सिँचाइ कुलो निर्माण गरिएको सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख छविराज जोशीले जानकारी दिए  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै