• २०८१ बैशाख ६ बिहीबार

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

kharibot

मनाङ ।  सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन । 

मनाङवासी नेपाल टेलिकमले दिएको सेवाबाट अझै वञ्चित छन् । ठाउँठाउँमा अग्लाअग्ला टावर निर्माण भएका त छन् तर सेवा सुविधा भने प्रभावकारी छैन । 

अहिलेको आधुनिक संसारलाई जोड्ने सञ्चार संस्थानले धेरै मुनाफा कमाएको अवस्थामा पनि सेवाग्राही भने कति लाभान्वित भए हेर्नु जरुरी छ । 

अहिले नेपाल टेलिकमले विभिन्न सेवा सुविधा उपलब्ध गराए पनि मनाङमा फोन सम्पर्कसमेत कठिन भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनले भने, “हामीले नेपाल दूरसञ्चार, मनाङ शाखालाई पटकपटक पहल गर्दा पनि यो र उ बहाना बनाएर बेवास्ता गरेको छ ।” यसरी मनाङमा सबै सेवासुविधा हुँदाहुँदै पनि पछाडि परेको उहाँको भनाइ रहेको छ । 

उता दूरसञ्चारको भने आफ्नै कहानी छ । हिमाली जिल्लामा अप्टिकल फाइवरबाट सञ्चालित सिडिएमए पिडीएसमा टेक्निकल असर परेको नेपाल दूरसञ्चार मनाङ शाखाका प्रमुख निमङैटुक लामाले बताए । उनको भनाइअनुसार नासों गाउँपालिकामा पर्ने ताल, ताँचे बगरछापलगायतका ठाउँमा समस्या देखिएको छ । 

हावाहुरी, बाटो निर्माणको क्रममा अप्टिकल लाइनका तार क्षति भएको छ । यस्ता समस्याले सेवाग्राही मर्कामा परेका हुन् । यसलाई मर्मत गर्न प्राइवेट कम्पनीबाट प्राविधिक ल्याउनु पर्ने भएकाले ढिलो भएको लामाले बताउनुभयो । हाल मनाङमा रहेका एडिएसएलबाट चल्ने इमेल इन्टरनेट नचल्दा सरकारी कामकाज गर्न निकै कठिनाइ भएको जिल्लामा रहेका सरकारी कार्यालयको गुनासो रहेको छ । 

आजको जमानामा इमेल इन्टरनेटबाट सबै कामकाज गर्नुपर्ने भएको अवस्थामा आवश्यक सेवासुविधाबाट वञ्चित भएर बस्नु परेकोमा मनाङवासी आक्रोशित भएका छन् । 

मनाङवासीले बिकल्पमा प्राइभेट कम्पनीबाट राखिएता पनि सबै नाफामुखी भएको र सेवासुविधा राम्रो नभएको होटल व्यवसायी थुतेन लामाले बताए । 

सरकारले लगानी गरेको संस्थाबाट नै सेवाग्राही मर्कामा पर्छन् भने प्राइभेट कम्पनीको त नाफाको खेती नै हो । यस्तै हो भने दुर्गम जिल्ला सधैँ नै दुर्गम भएर रहनेछन् । कहिलेसम्ममा सेवासुविधा पाउने हो र कहिलेसम्म समस्या झेलेर बस्ने मनाङवासी नेपाल टेलिकमलाई प्रश्न गर्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै