• २०८१ बैशाख १३ बिहीबार

भारतीय नाकाबन्दी बारे एमाले काँग्रेसको युटर्न : त्यतिबेला के भने ? अहिले के भन्दै छन् ? 

kharibot

काठमाडौं । ०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भएसँगै तराईका केही भारतीय स्वार्थ बोकेका तथाकथित मधेशी नेताहरुको आह्वानमा भारतले अघोषित रुपमा भूपरिवेष्ठित मुलुकले पाउने निर्बाध पारवहन सेवालाई अवरुद्ध पारेर नाकाबन्दी लगाइदियो । नेपालका मधेशवादी दलका नेता कार्यकर्तालाई सीमामा उतारेर मात्र हैन, आफ्नै भूमिमा खानपानकै व्यवस्था मिलाइदिएर तत्कालीन समयमा महिनौँसम्म नाकाबन्दी लगाएको नेपाली जनताले बिर्सिनै नसक्ने ऐतिहासिक घटना हो । 

नेपाल र नेपालीका लागि जनप्रतिनिधिहरुले बनाएको संविधानलाई अन्य देशले स्वीकारेर बधाई दिइसक्दा पनि भारत केही मधेशी नेताको झुण्डलाई प्रयोग गर्दै त्यसलाई असफल  बनाउन विश्वभर कूटनीतिक लबिङमा लागेको थियो । संयुक्त राष्ट्रसंघको एक बैठकमा त तत्कालीन परराष्ट्रमन्त्री कमल थापा र भारतीय पक्षबीच चर्काचर्की नै भएको थियो, जतिबेला परराष्ट्रमन्त्री थापाले भारतीय नाकाबन्दीको प्रतिवाद गरेका थिए । नाकाबन्दीपछि मधेशमा तिनै भारतीय स्वार्थ बोकेका नेताको कारण धेरै मधेशी नेपालीले ज्यान गुमाए । तर पूरा प्रभाव भने पहाडसम्म पुगेको थियो ।

नाकाबन्दीले नेपालको पूरा अर्थतन्त्रमा प्रतिकूल प्रभाव त पारेको थियो नै, भूकम्पले दिएको पीडामाथि झन् पीडा थप्ने समेत काम गर्यो । पेट्रोलियम पदार्थको कालोबजारी भारतीय सीमाबाट बाक्लै भयो । वैध आयात गर्न प्रतिबन्ध लगाएको भारतले अवैध आयातलाई भने प्रश्रय दिएको थियो । सो समयमा मधेशी नेताहरुको भारत र नेपालमा रहेको भारतीय राजदूतावास आवतजावत पनि बाक्लै भएको थियो । आफ्नै देशका नागरिकलाई पीडा दिन सकेकामा उनीहरु असामान्य खुसी देखिन्थे । ठूला राजनीतिक दल खास गरी तत्कालीन अवस्थामा सत्तासीन नै रहेका हालका प्रधानमन्त्री केपी ओली र उनको दलले भारतीय नाकाबन्दीविरुद्ध ठूलो विरोध गर्यो, घुँडा नटेक्ने अड्डी कसे भने केपी ओलीले चीनबाट केही थान ट्यांकरमा रसुवागढी हुँदै पेट्रोलियम पदार्थ ल्याएर भारतलाई देखाउन सकेकोमा गर्व गरे, चीनसँग पारवहन सन्धिमै हस्ताक्षर भयो र पेट्रोलियम पदार्थमा रहेको भारतीय एकाधिका अन्त्य भएको भनियो । 

तर यता प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले भने त्यो बेला भारतीय नाकाबन्दी नै हो भन्न सकेन । सीमा ठप्प थियो, आन्दोलन चर्किरहेको थियो, सबै जना पेट्रोल पम्पमा लामबद्ध भइरहेका थिए, तिनमा कतिपय कांग्रेसी पनि थिए होलान्, तर जगजाहेर सत्य नाकाबन्दीलाई नाकाबन्दी हो भन्न कांग्रेसले सकेन । नेपाली जनताले पाएको पीडा उसले त्यतिबेला दैवले दिएको जस्तो ठानेर भारतको गल्तीलाई गल्ती भन्न सकेन । त्यसको प्रभाव चुनावमा देखियो, ओली र एमालेले राष्ट्रवादी छवि र पहिलो दल बन्ने मौका पाए, कांग्रेसले एकपछि अर्को हार व्यहोर्न बाध्य भयो । नाकाबन्दी नै प्रमुख कारक थियो यसको, जुन स्थितिमा अहिले कांग्रेस रहेको छ । देशका अधिकांश गाउँ-नगरपालिका प्रमुख-उपप्रमुख, मेयर-उपमेयर, वडाध्यक्ष सबै पदमा एमाले छ, केन्द्रको सत्तादेखि प्रदेशको सत्तासम्मको नेतृत्व र शक्तिशाली पदमा एमाले छ । यी सबैको उपज नै भारतीय नाकाबन्दी थियो । 

समयको मापन वर्षअनुसार गर्ने हो भने भारतले लगाएको नाकाबन्दीदेखि हामी झण्डै तीन वर्ष अगाडि बढिसकेका छौँ । पहिलेजस्तो नाकाबन्दी छैन अहिले । धेरै कुरा परिवर्तन भएको छ । चुनावमा भाग लिन्न भन्नेदेखि संविधानको खारेज गर्नुपर्छ भन्ने मधेशवादी नेताहरु अहिले तिनै संविधानप्रदत्त अधिकारबमोजिम २ नं. प्रदेश हाँकिरहेका छन् । तर उनीहरुले मागेको एक प्रतिशत माग पनि पूरा भएको छैन । यसकारण त्यतिबेला उनीहरुले मागेका संविधान खारेज होइन बरु कार्यान्वयन भइरहेको छ । ७ सय ५३ नयाँ प्रशासनिक विभाजन भएको छ, ७ प्रदेशमा प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु पदस्थ भएका छन् ।

नाकाबन्दीप्रति: मोदी भ्रमणले युटर्न एमाले, चुनावी हारले युटर्न कांग्रेस 

खासगरी नाकाबन्दीयता समयगत परिवर्तनबाहेक राजनीतिक मागमा परिवर्तन भएको छ, जुन मधेशवादी दलहरुको राजनीतिक अवस्था भनिसकियो । तर यहाँ उठाउन खोजेको मुख्य कुरा के हो भने नाकाबन्दीलाई हेर्ने दृष्टिकोण खासगरी कांग्रेस र एमाले कसको कस्तो थियो र कस्तो छ अहिले मात्रै देखाउन खोजिएको हो । त्यतिबेला नाकाबन्दीको खुंखार विरोध गर्ने एमाले र नाकाबन्दीको विरोध गर्दा भारत रिसाउला कि भन्ने कांग्रेस अहिले विपरीत कोणमा उभिएर एकअर्काविरुद्ध औँला ठड्याउन थालेका छन् ।

गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी  दुई दिन नेपाल भ्रमणमा आए र गए । कूटनीतिकभन्दा पनि धार्मिक भ्रमणमा आएका उनी नाकाबन्दी लगाइमाग्नेहरुबाट अभिनन्दित भएर गए । उनी आएकामा मधेशवादी दलहरु यति खुसी भए कि उनीहरुले मोदी भारतका प्रधानमन्त्री हुन् भन्ने नै बिर्सिए । मोदीलाई स्वागत गर्न नाकाबन्दीताका खुंखार विरोधी रहेका वर्तमान प्रधानमन्त्री ओली कुर्ता पाइजामा ढल्काएर जनकपुरमा देखापरे ।

संयोग कस्तो पर्यो भने मोदीले तत्कालीन समयमा नाकाबन्दी लगाएकैले अभिनन्दन पाएजस्तो हुनपुग्यो, जब उनलाई एमालेबाट निर्वाचित काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले अभिनन्दन गरे ।

तर जनताले पहिलेजस्तो जयजयकार गरेनन्, किनकि उनीहरुको मानसिकतामा ०७२ कै नाकाबन्दीको हाहाकार बाँकी थियो । यो एक किसिमले एमालेप्रति र खासगरी ओलीप्रति नै नमीठो व्यंग्य थियो । अरु त अरु मोदी अहिले फर्किसकेका छन् तर उनको भ्रमणका क्रममा ओलीकै अगाडि प्रदेश २ का मुख्यमन्त्री लालबहादुर रावतले विभेदकारी संविधान मोदी नेपाल आएकैले संशोधन हुने भनी च्यालेन्ज प्रस्तुत गरे, नेपाली राष्ट्रिय झण्डाको आकार जानाजान बिगारियो, जब कि भारतको झण्डा उच्च गौरवसाथ इन्च इन्च मिलेको थियो ।

अहिले ओलीले छानबिन गराउन निर्देशन जारी त गराएका छन्, तर ‘राष्ट्रवादी’ ओलीलाई भारतीय प्रधानमन्त्री साक्षी राखेर यसरी नंग्याउने काम भयो । मोदी भ्रमणले ओलीको असलियत मात्रै होइन, नाकाबन्दीको विरोध गर्न नसकेको कांग्रेसलाई पनि नंग्याइदिएको छ । उतिबेला नाकाबन्दी भन्न नसक्ने कांग्रेसले त अहिले सोही नाकाबन्दीलाई चुनावमा हार्नुको मुख्य कारण मानेको छ । यतिमात्रै होइन, नाकाबन्दी विरोधीहरुले मोदी भ्रमणमा गरेको विरोधलाई होष्टेमा हैँसे गर्दै कांग्रेसीहरु लागेका छन् । दुवै दलको कति मजाको यूटर्न नाकाबन्दीप्रतिको धारणामा । 

सरकारको एउटै कामले नांगिए कांग्रेस र एमाले

दुवै दलको नाकाबन्दीलाई लिएर युटर्न भएको दृष्टिकोणलाई प्रस्तुत गर्ने गतिलो उदाहारण बन्यो विवेकशीलको पोष्टर विवाद । ‘मोदी तपाईंलाई स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखेर विवेकशील साझा पार्टीले आफ्नो कार्यालयमा ब्यानर टाँगेको थियो तर त्यसलाई च्यात्न, उतार्न प्रहरी लगाइयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा निर्वाचन आयोगमा विधिवत् दर्ता भएर चुनावमा सामेल समेत भएको यत्ति पनि अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न ओली सरकारले उक्त पार्टीलाई दिएन ।

मोदीलाई दिइएको आतिथ्यताको विरोध विवेकशीलले गरेको थिएन तर सरकारले त्यसलाई मोदीले देख्लान् झैँ गर्यो भने कांग्रेसले त्यसलाई नै हतियार बनाएर ओलीप्रति सोझ्यायो तर सरकारको यस्तो कामले भने दुवै पार्टी नांगिए ।

किनकि नाकाबन्दी सत्य घटना थियो तर दुवै पार्टी तत्कालीन समयमा विपरीत दिशामा उभिए, हातमा हात मिलाउन सकेनन् । त्यतिबेला नाकाबन्दीको विरोध गर्ने एमालेको वर्तमान सरकारले नाकाबन्दी शब्दै पचाउन नसक्ने स्थिति देख्नु र पहिला नाकाबन्दीलाई नाकाबन्दी हो भनेर भन्न नसक्ने कांग्रेसका मिनेन्द्र रिजालहरु अहिले पोष्टर च्यात्न लगाएको विषयलाई हतियार बनाइरहेका छन् र उनकै दल चुनावको हारलाई नाकाबन्दीको कारण मानिरहेको छ ।

यसले के देखाउँछ भने अहिले समय फेरियो, विगत भइसक्यो तर नाकाबन्दीका बेला उभिएको दिशा दुवै पार्टीले परिवर्तन गरेका छन्, तर आफैँ नांगिने गरी । यसले कांग्रेस र एमाले जनताभन्दा कति टाढा रहेर राजनीति गर्छन् भन्ने छर्लंग भएको छ । त्यतिमात्र होइन उनीहरुको राजनीतिक चरित्र समेत उदांगो भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै