बारा । पूर्व राजा ज्ञानेन्द्र शाह दुई हप्ताको लामो बसाईका लागि बाराको सिमरा आएका छन् । बुद्ध एयरको विमानबाट अपरान्ह ३:३० बजे सिमरा विमानस्थलमा ओर्लिएका पूर्व राजा शाह सिमरा स्थित प्रभू वासमा बस्ने छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बजनी स्थित पूर्व राजाका बाल्य कालका साथी प्रभू शमसेर राणाको निवास प्रभू वासमा रहेर पूर्व राजा शाहले बारा पर्साका धार्मिक स्थलहरुको भ्रमण गर्ने छन् ।
पूर्व राजा शाहका नीजि सचिव सागर तिमल्सिनाले भ्रमणको सम्पूर्ण कार्यक्रम तय भईनसकेको जानकारी दिए । ‘दुई हप्ता वहाँ सिमरा बस्ने हो, अन्य कार्य तालिका यतैबाट तयार गर्छौं’ उनले भने ।
सिमरा विमानस्थलबाट पूर्व राजा शाह सिधै प्रभू वास पुगेका हुँन् । आईतवार कँुनै कार्यक्रम नरहेको पूर्व राजा शाहका नीजि सचिव तिमल्सिनाले जानकारी दिए । आईतवार आराम गरेर सोमवारबाट भ्रमण शुरु हुने तिमल्सिनाले बताए ।
बारा पर्साका विभिन्न स्थानबाट आएका समर्थकहरुले पूर्व राजा शाहको भव्य स्वागत गरेका थिए । हजारौंको संख्यामा उपस्थित भएका राजावादीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाउँदै पूर्व राजाको स्वागत गरेका थिए ।