• २०८१ बैशाख ८ शनिबार

कथा ‘सङ्ग्रह’

kharibot

“अवाल, दि.के. अवाल ।” ऊ चिनजान गर्न हात मिलाउँदा यसै भन्ने गर्दथ्यो । बाजेले प्रेमपूर्वक राखिदिएको दीलकुमार नामलाई उसले छोट्याएर डि.के. बनाएको थियो र यो डि.के.लाई पनि उसको लवजले नेवारीकरण गरिदिएकोले दि.के. हुन गएको थियो । तर हाम्रो लागि भने ऊ सदैव अवाल मात्र रह्यो । ऊसँग हाम्रो पहिलो भेट सैँतिस सालमा भएको थियो । त्यतिखेर हामी मीनभवन कलेजमा आइ.कम प्रथम वर्षका विद्यार्थी थियौँ । त्यही साल मलाई पढ्न सजिलो हुन्छ भनेर बुबाले जडबिुटिबाट दुई सय मिटरजति भित्र सिनामंगलमा नयाँ घर किन्नु भएको थियो । हामी सिन्धुलीबाट सपरिवार त्यहाँ बस्न आएका थियौँ । आइ.कम. प्रथम वर्षको सुरुवाती विद्यार्थी भएकोले हामी थुप्रै एक अर्कासँग प्राय अपरिचित नै थियौँ । 

त्यो दिन करिब बाह्र बजेतिरको समय हुँदो हो, कक्षामा हामी केही विद्यार्थीहरू मात्र थियौँ, त्यसैवेला अवाल साइकल चढेर कक्षा कोठाभित्र आएको थियो । उसको त्यस्तो चाल देखेर कक्षामा भएका हामी छक्क पर्यौँ । मलाई पनि उसको त्यस्तो आँट देखेर ताज्जुप लाग्यो । उसले कक्षाभित्रै साइकल घुमाउँदै सबैको अनुहारमा एक नजर हेरेर बाहिर निस्किएको थियो । पढाइ नभएकोले क्याम्पसमा केही बेर रल्लिएर म घर फर्कन बस कुरेर बसिरहेको बेलामा ऊ साइकल चलाउँदै आयो र मलाई देखेर नजिकै आएर रोक्यो र साइकलबाट नओर्लिकनै सोध्यो, “काँ जाने ? घर कटा हो ?”

मलाई उसको अपर्झटको सोधाइले फेरि अचम्म लाग्यो । मैले केही नबोली उसलाई नियाल्न थालेँ । उसले धेरै पटक धोएर रङ्ग खुइलिएर लगभग सेतै देखिन पुगेको निलो कमिज र त्यस्तै हालतको खुइलिएको जिन्सको पाइन्ट लगाएको थियो । उसको कपाल केही घुम्रिएको थियो । चौडा निधार, चिम्सो आँखा र नाक चुच्चो भए पनि नाथ्री पच्किएको थियो । उसको शरीर भने गाँठ्ठिएको र हातपाखुरा मजबुत थियो । उसलाई नियाल्दा मेरो नजर उसको आँखामा पुग्यो । अवालको आँखा सामान्य मान्छेका आँखाभन्दा अलिकति फरक थियो । उसको चिम्सो परेको आँखा रक्तवर्णको थियो । पहिलो पटक मलाई उसको आँखा देखेर हलुका डर पनि लागेको थियो । चिम्सा आँखाको भाव बुझ्न गाह्रो हुन्छ भन्ने मलाई लाग्दथ्यो र उसको अनुहारमा त्यति बेला कुनै भाव पनि थिएन । यसैले मैले झट्ट उसलाई कुनै जवाफ दिन नसकेर उसले चलाएर ल्याएको साइकलतिर हेर्न थालेँ । उसको साइकल पनि निक्कै थोत्रो थियो, उसले लगाएको लुगा जस्तै ।

“कटा जाने भनेको ?” उसले उही पारामा सोध्यो । 
“जडिबुटि,” मैले संक्षेपमा उत्तर दिएँ । 
“ल पछारी बस्,” उसले आदेश दिएझैँ गरेर भन्यो, “ट्याँसम्म छोरदिन्छु ।” कलेजमा देखेकोले ऊ पक्कै हाम्रै साथी हो भन्ने कुराले विश्वास त थियो तर उसको साइकलमाथि भने मलाई पत्यार लागेन । ऊ देख्दैमा मेरै कदकाठी र छाँटकाँटको मोटोघाटो तगडा थियो, आफ्नो ज्यान पनि उसकै जस्तो भएकोले साइकलले धान्ला वा नधान्ला भनेर दोमन गरेर बसिरहेँ ।
 
“वा भन्या ख्वासा, म मनरा जाने के, मेरो घर ट्यैँ हो, छोरदिन्छु,” यसपालि उसको आवाजमा आदेश भन्दापनि आत्मियता बढी थियो । मैले एक पटक फेरि उसको अनुहार नियालेँ । उसको पातलो ओंठमा ओंठै अनुसारको पातलो मुस्कान लहरिरहेको थियो । खै ! किन हो कुन्नि ! मैले उसको आदेशात्मक स्वरलाई नकार्न सकिनँ र चुपचाप साइकल पछाडिको क्यारियरमा बसेँ, उसले साइकल अगाडि बढायो । बस्न त बसेँ तर मैले सोचे अनुरूप नै उसको साइकलले हाम्रो भार मुस्किलले थेगिरहेको थियो । तै पनि उसले साइकल जबरजस्ती चलाउँदै लग्यो । मीन भवनबाट तीनकुनेसम्म त ओरालो ओरालो भएकोले उसले सजिलैसँग साइकल चलायो, तर तीनकुने काटेर उकालो बढेपछि भने तान्न सकेन र साइकल रोकेर स्वाँ स्वाँ गरेर सास फेर्दै भन्यो, “ओर्लि ख्वासा, टँलाई राखेर टान्न सकेन, हाट्टी टान्या जस्तो भो ।”

म साइकलबाट ओर्लेँ र एक्कासी “तँ” भनेर सम्बोधन गरेकोमा अचम्म मानेर उसलाई हेर्न थालेँ । उसले भने कुनै प्रतिक्रिया नदेखाएर चुपचाप साइकल डोर्याउन थाल्यो, ऊ हिँडेकोले म पनि उसको सँगसँगै हिँड्न थालेँ । “कस्तो खालको मान्छे होला यो ?” भनेर सोच्दै म मनमनै कुरा खेल्न थाल्यो । कलेजमा देखेको भरमा उसले मलाई साइकलमा हालेर ल्याएकोले ऊप्रति मेरो आत्मियता र आकर्षण दुवै बढ्दै थियो । उसको अचम्मको व्यवहार र “तँ” को सम्बोधनले कौतुहलता पनि बढ्दै थियो । यसैले हिँडदाहिँडदै म बेलाबेलामा उसलाई कर्के नजरले पुलुक्क हेर्दै उसलाई पढ्ने कोशिश गर्दै थिएँ ।   

“पैले ट डेखिन नि, नयाँ हो ?” मैले उसलाई हेरिरहेकै बेलामा उसले अकस्मात उसले मतिर हेरेर सोध्यो ? 
“हो,” मैले उसको त्यो अकस्मातको क्रियामा सकपकाएर काँपेको स्वरमा भने । 
“नदरा,” उसले एक छिन मेरो अनुहारमा हेरेर भन्यो । सायद यसले मेरो आवाजमा भएको कम्पनलाई महशुश गरेर होला, सान्त्वना दिँदै भन्यो, “म साठी हो, काँ बात आ को ?” 
“सिन्धुलीबाट,” मैले एकसासमा जवाफ दिएँ ।
“बर्मु कि खेँ ?” यस पटक भने उसले ओंठमा त्यही पातलो मुस्कान दौडाएर मतिर हेर्दै सोध्यो र साइकल डोर्याएर अगाडि बढायो ।
“मतलब ?” मैले उसको अनुहारतिर हेर्दै सोधेँ ।
“बौन कि छेट्री ?” उसले मतिर हेर्दै नहेरि सोध्यो ।
“क्षेत्री, खड्का ।” 
“ए, खेँ रहेछ, अनि नाम के नि ?”
“अंगद ।” 
“म अवाल, दि.के. अवाल,” उसले साइकल रोकेर हात मिलाउन हात बढायो, मैले हात मिलाएँ । हात मिलाउँदा उसले आफ्नो दह्रो हातले मेरो हात कस्सेर समायो ।
“हात त साह्रै कडा रहेछ नि !” मैले आफ्नो शंकोच फाल्दै भने । 
“नदरा, यो हाठ साठीको लागि सलाम, डुस्मनको लागि फलाम, बुझ्यो ?” उसले मेरो हातबाट आफ्नो हात निकालेर निधारमा लगेर सलाम गर्दै फिल्मी अन्दाजमा डाइलग दियो ।

अवाल (दि.के. छाडेर पहिलो भेटपछि मैले उसलाई यही नामले बोलाउन थालेँ र मेरो सिको गर्दै साथीहरूले पनि उसलाई अवाल नै भनेर बोलाउन थालेका थिए) सँगको पहिलो भेटमै ऊ मलाई रमाइलो मान्छे लागेको थियो । यो पहिलो भेटपछि ऊ मसँग नजिकिँदै गयो र कलेजमा हामीसँग अरू पनि साथीहरू जोडिँदै गए । अरूसँग चिनापर्चि गर्दा बरु म शंकोचित हुन्थेँ तर ऊ भने पहिलो भेटमै जोसँग पनि निर्भीक र निस्फिक्री भएर भेट्ने गर्दथ्यो । बिस्तारै कलेजमा अवालसँग हाम्रो हिमचिम बढ्दै गयो । मसँगै उसका अरू साथीहरू पनि बन्दै गए । ऊ बिना हिच्किचाहट हरेकसँग सहजै बोलिदिन्थ्यो, साथी बनाउँथ्यो, हात मिलाउँथ्यो र उही फिल्मी पारामा सलाम गर्दै भन्थ्यो, “यो हाठ साठीको लागि सलाम, डुस्मनको लागि फलाम, बुझ्यो ?” 

अवाल सरल थियो, मनकारी थियो, उसमा कुनै आडम्बर थिएन, कुनै कुराको तुजुक पनि थिएन । त्यसैले ऊ भित्री चमक भए पनि बाहिरी तडकभडक नर्भको नताछिएको हिरा जस्तो थियो । अवालको चिम्सा रक्तवर्णको आँखा र ओंठमा सधैँ नाचिरहने पातलो मुस्कानले गर्दा ऊ रिसाएको या खुसाएको छुट्याउन नसकिए पनि वास्तवमा ऊ रिसाउँदैन थियो । हामी बेलाबखत उसलाई “ज्यापू” भन्दथ्यौँ भने ऊ बाहुनहरूलाई “बर्मु” र क्षेत्रीहरूलाई “खेँ” भनेर बोलाउँथ्यो । उसको मनमा पाप थिएन, त्यसैले उसले भनेका कुरा हामीलाई कहिल्यै बिझेन, कसैले चित्त दुखाएनन् । कहिलेकाहीँ उसलाई कसैले ज्यापू भन्दा लवजमा हेपेको जस्तो लागेमा भने ऊ भन्ने गर्दथ्यो, “ए ख्वासा, कल्लाई ज्यापू भनेको, तँ कोसँग कुरा गर्दै छस्, मान्छे चिन्या छस्, पृठिबिनारानले ढोका न ड्या भे म भक्तपुरको राजकुमार हुन्ठेँ बुझिस् ।” उसको कुरा सुनेर हामी हाँस्थ्यौँ, उसलाई हेपेर ज्यापू भन्ने खिस्रिक्क पर्दथ्यो । तर भोलिपल्ट अवाल फेरि पहिलाको जस्तै अवाल हुन्थ्यो, बितेको कुरा आयो गयो हुन्थ्यो । उसले यस्ता कुरा कहिल्यै मनमा लिएन, चित्त कुँडाएन, न त ईवि नै राख्यो ।  अवालको यही विशेषता थियो, यसैले अवाल हामी सबैको प्रिय थियो । 

अवाललाई अप्रिय लाग्ने कुरा भनेको धनको तजुक थियो । कोही कसैले झुक्किएर पनि उसको अगाडि पैसाको धाक देखाएको लगाएको जस्तो लागेमा ऊ भनी हाल्थ्यो, “साठी साठीमा पैसाको कुरा नगर ख्वासा, टिनिखेल (टुँडिखेल) जट्रो खेट छ मेरो । मेरो फूलबारी बेच्डे टेरो घरबारी किन्न पुग्छ बुझिस्, ख्वासा बर्मु ।” उसको यही कुरालाई लिएर हामी उसलाई “ओ भक्तपुरको राजकुमार” भनेर फुर्काइदिन्थ्यौँ र ऊ फुर्किन्थ्यो पनि । ऊ फुर्किदा हामीलाई खाजाको पैसा तिर्न हलुको हुन्थ्यो । ऊ खल्तीमा भएको जम्मै पैसा झिकेर अगाडि राख्दिन्थ्यो र “बाँकी टिमीहरू टिर” भनेर राजकुमार सरह निस्कन्थ्यो । 

केही महिनामै अवाल हाम्रो ब्याचमा मात्र नभएर अघिल्लो ब्याचमा पनि प्रख्यात भइसकेको थियो । ऊ कलेज त आउँथ्यो तर पढाइमा भने उति सारो रुचि थिएन । एउटा दुईटा क्लास लिएर ऊ क्यान्टिनमा जान्थ्यो, चारपाँच जना वरिपरि राखेर चिया खुवाउँथ्यो, मालपुवा सेल खुवाउँथ्यो र बेलाबखत चिया ल्याउने केटा नारानको हातमा पाँचको नोट पनि खुसुक्क राखिदिने गर्दथ्यो । पैसा तिर्ने बेलामा ऊ काउन्टरमा गएर उभिन्थ्यो । काउन्टरमा क्यान्टिन चलाउने बुढा बा चिया पुर्याउने केटोतिर हेरेर सोध्थे, “बाबुहरूको कति भयो नारान ?” खाएको जतिसुकै किन नहोस्, नारान भने सुतुरमुर्गले टाउको लुकाएझैँ सफा गर्ने बहानामा टेबल मुनि टाउको लुकाएर चिच्याउँथ्यो, “बिस ।” अवाल बिस रुपियाँ तिरिदिन्थ्यो । 

मैले धेरै एक पटक उसको यो चर्तिकला समातेर अचम्म मान्दै उसको अनुहारमा हेरेको थिएँ । प्रतिउत्तरमा उसको ओंठमा त्यही पातलो मुस्कान नाच्दथ्यो । बाहिर निस्केपछि ऊ कानमा फुस्फुसाएर भन्ने गर्दथ्यो, “यो व्यापारको त्याकतिस हो बुझिस् ।”
“तेरो के को व्यापार र ट्याक्टिसि भन्छस् ! फोकटमा केटाहरू जम्मा पारेर खाजा ख्वाएको छ, बाउको पैसा छँदै छ, के छ र तँलाई ?” 
“हे ख्वासा,” ऊ झोकिन्थ्यो, “व्यापारमा पछि काम लाग्छ के ।”
“के काम लाग्छ ?” 
“आफू ट हेर व्यापार गर्ने मान्छे, भोलि यिनीहरू नै थाउँ थाउँमा पुग्छ, अनि भन् ट ! थाउँमा पुगेको मान्छे साठी भएपछि काम लाग्दैन ?”
मलाई भने उसको सबै कुरा हावादारी गफ मात्र लाग्दथ्यो । म भन्थेँ, “न त तेरो टुँडिखेल जत्रो जग्गा छ, न त तँ भक्तपुरको राजकुमार नै होस्, भेटेका जति सबैको अगाडी हावादारी गफ ठोकेर पुख्र्यौली सम्पत्ति मात्र सक्दै छस् ।” प्रतिक्रियामा ऊ हाँसिदिन्थ्यो ।     

एक दिन अवालले हामी सबैलाई बाजेको जंकुको भोज छ भनेर घरमा डाक्यो । मनोहरा खोलाको पुल काट्ने बित्तिकै बायाँपट्टि डाँडामा उसको घर थियो । अवालले वास्तवमै गफ दिएको थिएन रहेछ । करिब चार रोपनीको कम्पाउन्डमा उसको तीन तले घर थियो । उसले टिनिखेल भनेझैँ घरदेखि मुनि मनहरा फाँटमा उसको टुँडिखेलभन्दा पनि ठूलो खेत थियो । उसले हामीलाई लगेर जंकु गर्न लागेको बुढो बाजेसँग र आमा, बुबा, बहिनी र विवाह भइसकेकी दुई दिदीहरूसँग पनि चिनापर्चि गरायो ।
“यो बरमास छ कि के हैँ ?” बुढो बाजेले हामीतिर हेरेर सोध्नु भयो । हामीले अवालको मुखतिर हेयौँ, उसको मुख रातो भएको थियो । 
“छैन बाजे, यो त असाध्यै सोझो छ,” मैले कुरा सम्हाल्दै जवाफ दिएँ । 
“पढ्नमा पनि राम्रो छ बाजे, फस्ट फस्ट हुन्छ,” अर्को साथीले अवाललाई हेर्दै आँखा झिम्काएर भन्यो । बाजे “हँ हँ” गर्दै हाँसेर, “का का राम्रो रे छ,” भनेर खुसी हुनुभयो ।

क्याम्पसमा हाम्रो पढाइ चल्दै थियो । अवालको ताल त्यही थियो । ऊ छ महिनासम्म त दिनहुँजसो क्याम्पस आयो, तर त्यसपछि भने ऊ बिराएर आउन थालेको थियो । कलेज नआए पनि बाटो पर्ने भएकोले ऊ मेरो घर भने आइ नै रहन्थ्यो । कहिले ऊ एका बिहानै आउँथ्यो र उसको बारीमा फलेका एक डंगुर तरकारीको फालेर जान्थ्यो । कहिले मलाई घरमा लिएर जान्थ्यो र फर्कने बेलामा बोक्नै नसक्ने तरकारीको भारी जबरजस्ती बोकाएर पठाउँथ्यो । उसको र मेरो मित्रता घनिष्ठ भएको थियो, त्यसैले न मलाई उसको घरमा आउनजान कुनै रोकटोक थियो न त उसलाई मेरो घरमा । म भए पनि नभए पनि ऊ मेरो घरमा आउँथ्यो, मेरो कोठामा बस्थ्यो, सुत्थ्यो र मेरो लुगा मन परे लगाएर हिँडिदिन्थ्यो पनि । विशेष गरेर मेरो नयाँ लुगामा आँखा पर्यो कि ऊ लगाएर हिँडिदिन्थ्यो । मलाई उसको यो आत्मियतामा खुसी लाग्थ्यो तर रिसाएझैँ गरेर भन्थेँ, “साँच्ची ! तँ काँ को राजकुमार रे ?” ऊ खाली “ख्वासा” भनेर हाँसिदिन्थ्यो ।    

एक दिन अचानक बिहानै एउटा केटाले आएर “आवालको बाजे बित्नुभयो, जानुस् रे !” भनेर खबर दियो । म हुर्दुराउँदै उसको घरमा पुगेँ । बाजे बित्नुभएको दुःखमा अवाल हिक्का छाडेर रुँदै थियो । उसलाई रोएको देखेर मेरो पनि आँसु झर्न थाले । उसले मलाई देख्ने बित्तिकै आएर अङ्गालो हाल्यो र आँगनमा सुताएको बाजेको लासतिर औंलाले देखाउँदै झन् जोडले रुन थाल्यो । अवाल बाजेलाई धेरै माया गथ्र्यो भन्ने त थाहा थियो, तर यत्तिधेरै माया गथ्र्यो भन्ने कुरा मैले अन्दाज लगाउन सकेको थिइनँ । 

बजेको मृत्युपछि अवालले क्याम्पस आउन छाड्यो । मेरो घरमा पनि ऊ फाट्टफुट्ट मात्र आउँन थालेकोले म नै फुर्सदमा उसको घरमा जान थालेको थिएँ । बाजेको मृत्युपछि अवाललाई बाबुले खेती किसानीतिर धकेल्न बल गर्नु भएको थियो तर अवाललाई खेती किसानीमा पटक्क रुचि थिएन । क्याम्पस पढदैदेखि उसको दिमागमा चढेको व्यापारको भूत बाजे मरेपछि भने झन् बढेर गएको थियो । ऊ भेट भएको बेलामा व्यापारका अनेक योजनाहरू मलाई सुनाउने गर्दथ्यो । कहिले ऊ बैँककमा गएर कपडाहरू ल्याएर बिक्री गर्ने योजना सुनाउँथ्यो त कहिले झापाबाट खाद्यान्य ल्याएर बेच्ने योजना सुनाउँथ्यो । उसको योजना निक्कै गहकिलो हुन्थ्यो । म उसलाई हौस्याउँदै “गर न त गर” भन्थेँ । मेरो कुरा सुनेर ऊ हौसिन्थ्यो तर एकै छिनमा उसको अनुहार वैलन्थ्यो । किन उसको अनुहार वैलन्थ्यो त्यो कुरा न त उसले भन्यो, न त मैले नै बुझ्न सकेँ । 

आइ.कम. सकाएर म बि.कम. पढ्न शंकरदेवमा भर्ना भएँ । अवालसँगको मेरो भेटघाट पातलिए पनि सम्बन्ध भने उस्तै थियो र अवाल पनि । अवाल उस्तै थियो, उसको कुरा गराई उस्तै थियो । न त उसको पुरानो राजकुमारवाला ध्वाँस गएको थियो न त उसले पहिलेझैँ खुइलिएको लुगा लगाउन नै छाडेको थियो । ऊ अचानक मेरो घरमा तरकारीका डंगुर लिएर टुपुल्किन्थ्यो, व्यापारका अनेक योजना सुनाउँथ्यो र उसलाई मनपरेको मेरो लुगा हकैले लगाएर जान्थ्यो । यो क्रम मेरो बि.कमको अन्तिम वर्षसम्म चलिरह्यो । 

एक साँझ अवाल मेरो घरमा हुर्दुराउँदै आयो । मैले बस्न भनेँ तर ऊ हतार छ भनेर उभिई मात्र रह्यो । 
“बस भन्या ज्यापू, चिया त खाएर जा, त्यस्तो के को हतार !” मैले कर गर्दै भनेँ ।  
“भोजमा जानु छ के ख्वासा,” ऊ भोक्कियो, “तेरो पाइँट र ज्याकेत दे त,” उसले पहिलाझैँ हकैले माग्यो ।
“हेरेर लग न,” मैले सामान्य भएर भनेँ । 
“अलि नयाँ झिक् ख्वासा, भोजमा जानु छ के, तेरो दराज खोल,” उसले आदेश दियो, मैले दराज खोलिदिएँ, ऊ लुगा छान्न थाल्यो । 
“हैन तेरो यो के चाला हो हँ राजकुमार ! उहाँ भने व्यापारको कुरा गर्छस् ताल भने यस्तो छ, त्यत्रो जग्गावाल बाउको एक्लो छोरा पो होस् त तँ !” मैले जिस्काउँदै भनेँ ।  
“तैँले भनेर हुन्छ ! बालाई एक टुक्रा जग्गा बेच्नुस्, व्यापार गरूँ भनेको बा मान्दै मान्नुहुन्न,” उसले सुतुरमुर्गले बालुवामा टाउको लुकाएझैँ दराजभित्र टाउको लुकाउँदै पहिलो पटक मनको दुखेसो पोख्यो ।

अवाल आफूलाई मनपर्ने लुगा लिएर हिँड्यो तर मेरो मथिंगलमा भने प्रश्नहरू जन्माएर गयो । “के नपुग्दो छ र अवाललाई ? घरबार राम्रै छ, खेतमा प्रशस्त उब्जनी हुन्छ, मनग्गे पैसा आउँछ, एक्लो छोरोले नराम्रो कुरा पनि त भनेको छैन नि ! फेरि किन कञ्जुस्याईँ ?” मैले आफैलाई प्रश्न गरेँ । “सायद बहिनीको विवाहको लागि पो हो कि !” एक मनले जवाफ दियो । “तर बहिनीको विवाहको लागि पनि मनग्गे छ भने ...” मेरो अनुमान अधुरै रह्यो ।

मान्छेलाई धनले कहिले पो पुगेको छ र ! अथाह धन सङ्ग्रह गरेकाहरू पनि धनकै पछि लागेर अझ बढोत्तरीको लागि मरिमेटेर लागि परेको देख्दा मलाई मेरो जिजुमुमाले “सङ्ग्रह दुःखदायकः” भनेर भन्नुभएको कुरा ठीकै लागेर आयो । मान्छे बाँच्नको लागि कमाउँछ या कमाउनको लागि बाँच्छ ? सन्तोकको लागि कमाउँछ या तृप्तिको लागि धन कमाउँछ ? बाँच्नको लागि मीठोचोखो दुई छाक जुरे त सन्तोक हुँदो हो तर तृप्तिको लागि धनको पछि लाग्नु र संचित धनको पनि सदुपयोग नगर्नु भनेको आखिर दुःख नै त हो ! अथाह धन भए पछि अनेक चिन्ता उब्जन्छ, अनेक तर्कना आउँछ, मनमा अनेक पाप पलाउँछ । सङ्ग्रह दुःखदायकः भनेको वास्तवमै साँचो हो । दिनको भोक न रातको निन्द्राकै भनेर धन संचय गर्न दगुर्ने मान्छेलाई एक पटक भेटेर सोध्न मन लाग्छ, “हैन ! आखिर तिमीलाई कति चाहिन्छ ?” र भन्न मन लाग्छ, “हाउ मच ल्याण्ड डज अ म्यान निड ?” भनेर ।   
    
बि.कम. सकिएपछि म जागिर खाँदै एम.कम. पढ्न थालेँ । अब भने मेरो फुर्सद कम हुन थालेकोले अवालसँग भेटघाट झनै पातलियो । अवाल बेलाबखत मेरो घरमा आउँथ्यो । एक छिनको बसाइ नै किन नहोस्, ऊ फेरि व्यापारकै कुरा सुनाउँथ्यो र बाले व्यापार गर्न पैसा नदिएको गुनासो सुनाउँथ्यो । 

अवालसँग भेटघाट नभएको लगभग वर्ष दिन जति भइसकेको थियो । एक दिन अफिस छुटेर म फर्कँदै थिएँ, उसलाई नयाँ सडक गेटमै भेटेँ । उसको रंगरूपमा कुनै परिवर्तन थिएन । क्याम्पसका दिनमाझैँ ज्याकेट र कपडा लिन आउँदाको अवस्थाभन्दा अहिलेको अवस्था बिल्कुलै फरक थिएन । 
“कताबाट हो राजकुमार, के छ हालखबर ?” मैले सोधेँ । 
“के हुनु, बोर छ यार, बालाई अलि सन्चो छैन, त्यै भएर औषधी लिन आ को,” उसले संक्षिप्त जवाफ दियो । 
“लौ के भयो बा लाई ?” मैले आत्तिएर सोधेँ ।
“दम बढेको छ ।” 
“अनि तैँले त खबरै गरिनस् त !” 
“तँ पनि त आ छैनस् नि ।” 
ऊ नआए पनि आफू नगएकोमा भने मलाई अपराध बोध भयो । मैले कुरा घुमाउँदै सोधेँ, “अनि राजकुमार तेरो व्यापारको कुरा कहाँ पुग्यो नि ?” 
“अचेल खासाको व्यापार क्या गजबको हुँदैछ । बालाई अलिकति जग्गा बेच्नुस्, खासाको व्यापार गर्नुप¥यो भनेको, बुरा मान्दै मान्दैन ।” उस्ले पुरानै राग अलाप्दै ठुस्कियो ।
“तँ त ज्यापू, तेरो त रगतमै खेती किसानी छ भने किन व्यापार व्यापार भनिरहेको ?”  
“मेरो ट डिमागमै व्यापार छ भन्या के गर्ने,” अवालले आफ्नै राग अलाप्यो, “खेटमा चल्नै मन लाग्दैन, बा भने कचकच मात्र गरिरनु हुन्छ ।” 
“हेर, एउटा कुरा भन्छु नरिसा है । तँ माटोसँगै खेल्दै हुर्केकोले माटोसँग उप्किएर बाँच्न तँलाई गाह्रो हुन्छ । कुमाले जति माटोको भाँडा बनाउँन पोख्त हुन अरूलाई दशकौँ लाग्छ । लौहकारले जति फलाम कसले चिन्छ ? सुनारले जति सुनको राम्रो काम कसले गर्न सक्छ । यो त पुर्खौँपुर्खादेखि रगतमा घुलिँदै आएको इन्सिटिङ्क्ट हो । तँ पनि एक किसानको छोरा होस्, व्यापार स्यापार छोड, बरु आधुनिक तरिकाले खेती गर न, कि कसो ?”
“ख्वै के भन्ने ! मनै मान्दैन,” अवालले अप्ठेरो मान्दै भन्यो, “मलाई त व्यापारै गर्न मन छ, एक पतक त्राइ गरूँ भनेको, बुरा मान्दै मान्दैन ।”
“ल ल बिचार गर,” मैले ऊसँग छुट्टिदै भने ।

त्यहाँबाट छुट्टिएपछि मेरो र अवालको भेटघाट भएन । एम.कम.को परीक्षा लगत्तै अफिसबाट तालिमको लागि म छ महिना भारततिर गएँ । भारतबाट अध्ययन सकाएर फर्किएपछि पनि अफिसको कामको चटारोले म अवालको घरमा जान सकिन, न त अवाल नै मेरो घरमा आयो । कामको बोझले गर्दा अवाल यताहुँदि निस्कन पाएन होला भनेर मैले सोचेँ र मैले पनि फुर्सद निकालेर उसको घरमा जाने मौका पाइन ।        

यस्तैमा एक दिन म एउटा सेमिनारको लागि अन्नपूर्ण होटलमा गएको थिएँ । दिउँसो लन्च खाएर बचेको समय बाहिर डुल्न निस्केर निरुलाज अगाडि उभिएको मात्र थिएँ, निरुलाज भित्रबाट अवाल फुत्त बाहिर निस्कियो । यस पटक उसको हुलिया आकाश पातालले फेरिएको थियो । आँखामा रेबेनको कालो चस्मा लगाएको अवालले जिन्सको पाइँट र जिन्सकै ज्याकेट लगाएको थियो । ऊ चोरऔंलामा किरिङ्ग घुमाउँदै बाहिर निस्कँदा नाडीमा लगाएको सुनको मोटो ब्रासलेट झल्किरहेको थियो । 

“ओ अवाल,” मैले उसलाई हकारेर बोलाएँ । उसले मतिर र्हेयो र चिनेर मेरो नजिकै आयो ।
“कहाँबाट यता ?” मैले पुरानै अन्दाजमा सोधेँ 
“क्लाइन्त भेतन आ को,” अवालले निरुलाज भित्रतिर हेर्दै भन्यो ।
“ओ हो !”  
“व्यापारमा लागेको छु ।”
“त्यो त तँलाई देख्ने बित्तिकै बुझिहालेँ नि ज्यापू, अनि अरू सुना, के छ हालखबर तेरो ?” 
“अहिले त मोज छ यार,” उसले चहकिँदै भन्यो, “बा बित्नु भयो नि ।”

अवालले अरू पनि केही भन्थ्यो होला तर भित्रबाट उसको क्लाइन्ट आएकोले मतिर हेरेर जान्छु है भन्ने सङ्केतमा टाउको हल्लाएर गयो र नयाँ मोटरसाइकलमा क्लाइन्टलाई राखेर हुइँकियो । मलाई भने अवालको अन्तिम वाक्यले रिङ्गटा लागे जस्तो भयो । मैले जाँदै गरेको अवाललाई हेरेँ, ऊ मलाई तातो चुल्हो माथि साम्राज्य जमाएर बसेको ढाडे बिरालो जस्तै लाग्यो । 

दि.के. अवाल अहिले दानधर्ममा गर्नमा देशैभरि कहलिएको ठूलो व्यापारी भएको छ । ऊ पहिलेको जस्तै छ, उसमा अझै कुनै खास परिवर्तन पनि आएको छैन । ऊ पहिलेझैँ सबैसँग हाँसखेल गर्ने काँटछाँट नगरिएको हिरा समान नै छ । तर जब जब ऊसँग मेरो भेट हुन्छ या उसको सम्झना आउँछ, मेरो मस्तिष्कले भने सधैँ एउटै प्रश्न गर्ने गर्दछ, “अवालको बुबा रामकृष्णले आखिर के को प्रयोजनले त्यत्रो सम्पत्तीको सङ्ग्रह गरे ?” मैले यसको उत्तर अझै पाउन सकेको छैन ।

विपुल सिजापति
हरिसिद्धि २८, ललितपुर ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै