• २०८१ बैशाख १३ बिहीबार

म्याग्दीमा झोलुङ्गे पुल निर्माणका लागि सिफारिस

kharibot

म्याग्दी । पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणका लागि सिफारिस गरिएको छ । 

जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीलाई जोड्नका लागि लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो । 

अन्नपूर्ण गाउँपालिकाको राम्चे–नागी, तल्लो शिख–किन्दु, रघुगंगा गाउँपालिकाको चिमखोलाको सिस्नेरी–रायखोर, दरमिजा–पाखापानी, मौवाफाँट–पात्लेखेतमा निर्माण हुने लामो पुलको सम्भाव्यता अध्ययनका लागि योजना सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । 

उनका अनुसार धौलागिरि गाउँपालिकाको मुदीदेखि खिबाङ गाउँ जोड्नका लागिसमेत लामो पुलको सम्भाव्यता अध्ययनका लागि सिफारिस गरिएको छ । 

‘अहिले यी ठाउँमा वारपारका लागि घण्टौँको फेरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ, लामो पुलहरुले एकापसमा आवतजावतलाई सहज बनाउने भएकाले सम्भाव्यता अध्ययनका लागि सिफारिस गरेका हौँ,’ जिसस प्रमुख केसीले भने । 

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि नेपालकै लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । 

दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुलले बेग र बाँदुक गाउँमा वारपारका लागि करीब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटाएको छ । 

यसअघि जिल्लाको मौवाफाँट थाकनको डिलदेखि काउलेगौडाको फेदी, रत्नेचौरदेखि बागलुङको कुँडुले र गलेश्वरदेखि राममन्दिर जोड्ने गरी लामो पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै