• २०८१ बैशाख ८ शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा

kharibot

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । 

भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी आज बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गरेका हुन् । 

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए । 

भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिरतर्फ लागेका छन् । जानकी मन्दिरमा मोदीले विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहनेछ । 

जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गर्नेकार्यक्रम रहेको छ । 

त्यसपछि प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुने छन् । जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी आजै दिउँसो हेलिकोप्टरबाट काठमाडौँ आउने कार्यक्रम रहेको छ । 

आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा र शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच आजै द्विपक्षीय आपसी हित सम्बन्धमा औपचारिक भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रो जनविद्युत् परियोजनाको उद्घाटनसमेत गरिनेछ । 

शनिबार वैशाख २९ गते बिहानै प्रधानमन्त्री मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ प्रस्थान गर्ने छन् । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०:३० बजे काठमाडौँ फिर्ता हुनेछन् । प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २:४५ बजे काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा नागरिक अभिनन्दन गर्नेछ । दुईदिने नेपालको राजकीय भ्रमण पूरा गरी शनिबार नै मोदी स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै