• २०८१ बैशाख ८ शनिबार

रोल्पाको सडकमा कडा चट्टान फोर्दै नेपाली सेना

kharibot

रोल्पा ।  कडा चट्टानका कारण यातायातका साधन आवत जावतमा निकै समस्या हुँदै आएको रोल्पाको दुईखोली—थवाङ सडकखण्डको खरिबोटमा नेपाली सेनाले करीब २०० मिटर चट्टान फुटालेर सडक विस्तार गर्ने काम भइरहेको छ । 

मेसिन प्रयोग गरेर सडक निर्माण गर्न सम्भव नभएपछि यातायात व्यवसायी र स्थानीयवासीले सडक निर्माणमा सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय, रोल्पा तथा शहीद मार्ग सडक कार्यालय समेतको पहलमा नेपाली सेनाले सो सडकखण्ड निर्माण कार्य आरम्भ गरेको हो । 

खड्गदल गण, रोल्पाका एक पल्टन सैनिकले गत वैशाख १६ गतेदेखि सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको बताइएको छ । “सडक निर्माण सम्पन्न गर्न अझै करीब एक हप्ता लाग्छ”, खड्गदल गणका सहायक गणपति धर्म बोगटीले बताए । 

नेपाली सेनाको सहयोगमा सडक फराकिलो भएपछि स्थानीयवासी खुशी भएका छन् । सडक साँघुरो भएका कारण दुर्घटनाको ठूलो जोखिम मोल्दै आएका उनीहरु अब भने ढुक्कका साथ सवारीसाधनको आवतजावत हुनेमा विश्वस्त रहेका छन् । 

नेपाली सेनाले रोल्पाली जनताको मागका आधारमा जिल्लामा यसपूर्व धेरै काम गरिसकेको छ । निर्माण आरम्भ भएको २५ वर्षसम्म पनि सम्पन्न हुन नसकेको शिरक्याङमा रहेको कडा चट्टान फोरेर केही महिनाअघि मात्रै सुलिचौर—थवाङ यातायात सञ्चालनमा समेत नेपाली सेनाले सहयोग गरेको थियो । 

यसैगरी, अन्य सडकखण्डमा रहेका चट्टान फोर्ने, विद्यालय भवन, शौचालय आदि निर्माण गर्ने लगायतका काममा समेत नेपाली सेनाले सहयोग गरेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै