• २०८१ बैशाख १३ बिहीबार

जनकपुरबाट नेपाल भ्रमणको सुरु गर्दै मोदी, प्रदेश २ मा आज सार्वजनिक बिदा 

kharibot

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिने राजकीय भ्रमणको सुरुवात जनकपुरबाट आज गर्दै छन् ।   मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा ९ बजे जनकपुर आउने कार्यक्रम छ ।

जनकपुरमा उनले जानकी मन्दिरमा विशेष पूजा गर्नेछन् ।  त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उनको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नेछन् । मोदीले जानकी मन्दिरको पूजा गर्ने बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । मोदीले झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउने छन् । 

जनकपुरमा नै मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने र दुवै प्रधानमन्त्रीको भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उद्घाटन गर्नेछन् । रामायणकालीन स्थल जोड्ने रामायण सर्किटको जनकपुरबाट अयोध्या चल्ने बससेवालाई हरियो झण्डा देखाएर दुवै समकक्षीले उदघाटन गर्नेछन् ।

बाह्रविघा मैदानमा आयोजना गरिएको ‘नागरिक अभिनन्दन’ समारोहमा मोदीलाई जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले अभिनन्दन गर्ने छन् । नेपाली भाषामा तयार अभिनन्दन पत्र मेयर साहले मैथिली भाषामा पढेर मैथिली भाषामा अभिनन्दन गर्ने जनकपुर उपमहानगरपालिकाको तयारी छ । स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फुलको माला पनि पहिराएर स्वागत गर्ने योजना रहेको छ ।

नागरिक अभिनन्दन पश्चात मोदीले समारोहलाई सम्बोधन गर्ने छन् । त्यसपछि उहाँ काठमाडौं जानुहनेछ ।  मोदीलाई भव्य स्वागत तथा अभिनन्दन गर्न जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरदेखि बाह्रविघा मैदान र जनकपुर विमानस्थलसम्मको बाटोलाई सजाएको छ । 

प्रदेश नम्बर २ सरकारले मोदीको आगमनलाई उत्सवको रुपमा मनाउन सार्वजनिक विदा दिएको छ । प्रदेश नम्बर २ को ८ जिल्लाबाट मोदीको नागरिक अभिनन्दन कार्यक्रममा एकलाख भन्दा बढी सर्वसाधारण सहभागि राउने प्रदेश सरकारको योजना रहेको छ । अभिनन्दन कार्यक्रममा सहभागि हुन बाह्रविघामैदानको उत्तरी गेटबाट सर्वसाधारणलाई सहभागि हुने व्यवस्था मिलाएको छ भने बाह्रविघाको पश्चिम गेटबाट सञ्चारकर्मी र बाह्रविघाको दक्षिण गेटबाट विशेष व्यक्तिहरुले प्रवेश गर्न पाउने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै