• २०८१ बैशाख ८ शनिबार

प्रदेशसभाको बैठक उपलब्धिपूर्ण र ऐतिहासिक

kharibot

बुटवल । प्रदेश नं ५ प्रदेशसभाको पहिलो बैठक निक्कै उपलब्धिपूर्ण र ऐतिहासिक रहेको प्रदेशसभा सचिवालयको निष्कर्ष छ । 

प्रदेशसभाको पहिलो अधिवेशन गत माघ २१ गतेबाट आरम्भ भई १७ दिन बसेर यही वैशाख २५ गते अन्त्य भएको हो । यस अवधिमा २२ पटक बैठक बसेको थियो । उक्त बैठक २० घण्टा दुई मिनेट बसेको प्रदेशसभा सचिवालयले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

उक्त अवधिमा अविधेशनले सभामुख, उपसभामुख र चार वटा संसदीय समिति चयन गरेको थियो भने प्रदेशसभा नियमावलीलाई पनि सर्वसम्मतले स्वीकृत गरेको थियो । 

यसैगरी प्रदेश सरकारले कानून निर्माणका लागि आठ वटा विधेयक पेश गरेकोमा प्रदेशसभा बैठकले चार वटा पारित गरेको प्रदेशसभा सचिवालयका सचिव डा मानबहादुर विकेले बताए । 

पारित गरेको विधेयकमा प्रदेश नं ५ का सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५ सरकारको आव २०७४÷०७५ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् । 

यसैगरी प्रदेशसभामा प्रस्तुत विभिन्न चार वटा विधेयकमध्ये तीनवटा विधायन समितिमा दफावार छलफलका लागि पठाइएको र स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी विधेयकको प्रतिवेदन बुझाइसकिएको छ ।

यस्तै प्रदेश ५ का मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमै विचाराधीन अवस्थामा रहेको सचिव विकेले जानकारी दिए । 

यस्तै प्रदेश ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने प्रदेशसभामा प्रस्तुत मात्र भएको उनले जानकारी दिए । 

आवश्यक पूर्वाधार र जनशक्तिको अभावमा पनि छोटो समयमा प्रदेशसभा बैठकले महत्वपूर्ण काम सम्पन्न गर्नु ऐतिहासिक रहेको बताउँदै सचिव विकले भने, ‘सचिवालय व्यवस्थापनका लागि ७४ कर्मचारी र सोहीअनुरुपका पूर्वाधार आवश्यक छ ।’ 

नयाँ संविधान जारी भएपछि स्थापित प्रदेशसभामध्ये पहिलो पटक नै प्रदेश नं ५ को बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख १६ गते सम्बोधन गर्नु महत्वपूर्ण र ऐतिहासिक कार्य भएको उनले बताए । 

सो अवसरमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको पहिलो बैठक निक्कै महत्वपूर्ण र उपलब्धिमूलक रहेको बताउँदै प्रदेशको स्थायी केन्द्र सबैको पहुँच र सबैलाई मान्य हुने गरी सहमतिका आधारमा तोकिने छ भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै