काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समाजिक संजालमा राप्रपाको वर्तमान अवस्था बारे लेख्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दा राप्रपाले कोर्स करेक्सन गर्ने मौका पाएको बताएका छन् । सरकारमा जाने मन हुदा हुदै पनि त्यसबाट बन्चित गरिएको भन्दै अध्यक्ष थापाले अब बार्गेनिंग गरेर सरकारमा नजाने बताएका छन् । अध्यक्ष थापाले सामाजिक संजाल मार्फत दिएको पछिल्लो अभिव्यक्ति यस्तो छ :
राप्रपालाई नियतिले फेरी एक मौका दिएको छ । सत्ताकेन्द्रित र सत्तामुखि राजनीतिबाट अलग भै सिद्धान्त र आदर्शको राजनीति गर्ने तथा संगठन निर्माण र सुदृढिकरणमा केन्द्रित रहने । हाम्रो छनौट भन्दा पनि यो अवसर प्रधानमन्त्री शेरबहादुर देउवाको सौजन्यताबाट प्राप्त भएको हो । पार्टीभित्रको आन्तरिक गतिशीलता एवं परिस्थितिसंग सम्झौता गर्नु पर्ने अवस्थाको पृष्ठभूमीमा राप्रपाले देउवालाई प्रधानमन्त्री निर्वाचनमा मतदान गरेको हो । सरकारमा सहभागी हुनेवारे राप्रपा भित्र एकमत थिएन । तथापि प्रधानमन्त्रिलाई भोट हालेको र सरकारलाई समर्थन गरेको हुंदा स्वभाविक रुपले राप्रपा सरकारमा सहभागी हुने मनस्थितिमा थियो । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपाका बरिष्ठ नेता पशुपती शमसेर राणा र म स्वयंको उपस्थितिमा उप्रप्रधानमन्त्री सहित चार मन्त्रालय लिएर सरकारमा सहभागि हुन आग्रह पनि गर्नु भएको हो ।
अन्ततः मन्त्रिपरिषदको दोस्रो बिस्तार पनि भयो । कारण जेसुकै होस् तर, राप्रपा सरकारमा जाने साईत जुरेन । अब शेरबहादुर देउवाको नेतृत्वमा बनेको वर्तमान सरकारमा राप्रपा सहभागी हुने अध्याय समाप्त भएको छ । कुनै वार्गेनिङ वा मोलतोलले राप्रपाको यो निर्णयलाई प्रभावित गर्न सक्दैन ।
यसलाई म नियति कै निर्णय मान्दछु । राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति हो । २०६२/६३ को आन्दोलन पछि परिवर्तनलाई संस्थागत गर्नेक्रममा अबलम्वन गरिएका नीति र मार्गचित्र राष्ट्रहित अनुकुल नहुने ठहर गरि वैकल्पिक बिचार र बाटोसहित नेपालको राष्ट्रिय राजनीतिमा राप्रपा क्रियाशील हुंदै आएको छ । सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवाद राप्रपाको मुख्य बैचारिक आधारस्तम्भहरु हुन् । सबल र सम्बृद्ध नेपाल हाम्रो लक्ष्य हो । राप्रपाले संबिधानलाई आलोचनात्मक समर्थन गरेको छ । संबिधान र संबैधानिक व्यवस्थासंग सहकार्य गर्दै प्रजातान्त्रिक बाटोबाट जनताको अभिमत प्राप्त गरि आफ्नो मान्यता र लक्ष्य स्थापित गर्ने राप्रपाको घोषित नीति हो । यो मान्यतालाई थप बलियो बनाउने उदेश्यका साथ राप्रपा नेपाल र राप्रपा बिच ऐतिहासिक एकता समेत भएको हो ।
यस प्रकार राप्रपाको बिचार र बाटो स्पष्ट छ । तर, केही समययता पार्टी सत्तामुखि हुंदै गएको तथा सिद्धान्तबाट बिचलित भएको अनुभुती पार्टी कार्यकर्ता तथा सहयोगी शुभचिन्तकहरुमा तिव्ररुपले भैरहेको थियो । यसैबिच स्थानिय तहको दुईचरणको चुनावमा राप्रपाको परिणाम निराशाजनक रह्यो ।
उपरोक्त पृष्ठभूमीमा पार्टी भित्र गंभीर आत्मसमिक्षा र 'कोर्स करेक्सन'को आबश्यकता अनिवार्य हुन गएको थियो । हामी त्यो आँट जुटाउन सकिरहेका थिएनौ । आखिर नियतिले त्यो परिस्थिति निर्माण गरिदिएको छ । राप्रपाले फेरी एकपटक मौका पाएको छ । यसअर्थमा शेरबहादुरजीलाई धन्यवाद दिनु आबश्यक ठान्दछु । यो अवसरलाई गुमाउने धृष्टता हामी गर्न सक्दैनौ ।