• २०८१ बैशाख १३ बिहीबार

  चितवनको जोेखिम क्षेत्रका भूकम्पपीडितलाई सुरक्षित ठाउँमा जग्गा

kharibot

 चितवन /  चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका वडा नं २ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयले सोही वडाको दुम्किम भन्ने स्थानमा आठ घर प्रभावितलाई जग्गा उपलब्ध गराएको हो । “दुम्किममा बुधबार स्थलगत निरीक्षणपछि चार कट्ठा जग्गा खरिदको सहमति भयो, केही दिनभित्रैमा पीडितको नाममा जग्गा पास हुन्छ, प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख पुष्कर पोखरेलले भने , “समथर भूभागको सुरक्षित स्थानमा उनीहरूले जग्गा प्राप्त गरेका छन् ।” 

प्रति घर १० धुरका दरले जग्गा प्राप्त गरेका उनीहरुले झण्डै एक बिगाहा आवादी जग्गासमेत प्रयोग गर्न पाउने छन् । जग्गाधनी उत्तरकुमार गुरुङले पीडितलाई बसेरमात्रै नहुने भएकाले उनीहरुलाई दुःखजिलोका लागि भनेर थप एक बिगाहाजति आवादी हुँदै आएको ऐलानी जग्गासमेत उपलब्ध गराइएको बताए । यसरी जग्गा प्राप्त गर्नेमा होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान चेपाङ र उजेली चेपाङ रहेका छन् । अन्य दुई घरका लागि पनि जग्गा खोजी अन्तिम चरणमा पुगेको जनाइएको छ । 

यसअघि राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घर परिवारलाई स्थानान्तरणका लागि जग्गा उपलब्ध गराइसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । 

उनका अनुसार इच्छाकामना वडा नं ४ तीनघरेका पाँच घर पीडितलाई लेवाटारमा जग्गा उपलब्ध गराइएको थियो । जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ । इच्छाकामनाका अन्य धेरै पीडित राहत लिने प्रक्रियामै रहेको गाउँपालिकाको भूकम्प पुनःनिर्माणका स्रोत व्यक्ति राजन घिमिरेले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै