• २०८१ बैशाख ५ बुधबार

रामोस भिलेन बनेपछि रियल म्याड्रिड हार्यो 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । 

गएराती भएको खेलमा रियल सेभिलासँग ३-२ गोल अन्तरले पराजित भएको हो । सेभिलाविरूद्धको खेलमा रियलका कप्तान सर्जियो रामोस भिलेन बनेका छन् । रामोसले एक पेनाल्टी मिस गरे भने एक गोल आत्मघाती गरेका थिए ।

सुरु देखि नै दबाबमा रहेको रियल म्याड्रिडले २-० ले पछि रहेको अवस्थामा खेलको ८७ र इन्जुरी समयमा गोल फर्काएको थियो । खेलको ५८औ मिनेटमा रामोसले पेनाल्टी मिस गरेका थिए भने खेलको ८३औ मिनेटमा आत्मघाती गोल गर्दै सेभिलाको अग्रता ३-० बनाइदिएका थिए । खेलको ८७औ मिनेटमा रियलका बोर्जा मेयरलले गोल गर्दै रियलको खाता खोलेका थिए भने रामोसले इन्जुरी समयमा गोल गर्दै रियलको गोल २ पुर्याएका थिए ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो एल क्लासिकोमा इन्जुरीका कारण नखेलेको यस खेलमा ग्यारेथ बेल पनि खेलेका थिएनन् । त्यस्तै यस खेलका लागि म्यानेजर जिनेदिन जिदानले ७ परिवर्तन गरेका थिए जसमा रोनाल्डो र बेलका अलवा टोनी क्रुज, लुका मोद्रिचलगायतका खेलाडी खेलेका थिएनन् ।

सेभिलाका लागि बेन एडडर र लयुनले गोल गरेका थिए । रियलको यो हार पछि एथलेटिकोलाई उछिनेर ला लिगामा दोस्रो स्थानमा उक्लिने मौका रियलले गुमाएको छ । 

यस सिजनमा ३६ खेलमा रियलको यो छैठौ हार हो भने लिगमा २१ खेल जितेको छ भने ९ खेल बराबरी गरेको छ । रियलको ३६ खेलमा ७२ अंक रहेको छ । त्यस्तै सेभिला भने ३६ खेलमा ५४ अंक सहित लिगको सातौ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै