जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको दुई दिन पनि बाँकी नरहेको अवस्थामा उनी आउने बाटो अहिले सम्म तयार हुन सकेको छैन ।
मोदी भारतको विहार राज्यको राजधानी पटनाबाट जनकपुर विमान स्थलमा आउने भएपछि विमान स्थलबाट जानकी मंदिर सम्मको बाटो बनाउन दिन रात लगाएर अहिले काम भईरहेको छ ।
२४ औं घण्टा कामदारहरुलाई लगाएर काम गराएपनि काम पुरा हुन सकेको छैन् भने त्यसको कारणले सर्वसाधारहरु समेत मार्कामा परेका छन् । त्यसमा पनि बुधबार बिहानदेखि परेको पानी तथा हावाहुरीको कारणले गर्दा काम प्रभावित भएको छ ।
बाटोमा भएको हिलोको कारण काम गर्न कठिनाई उत्पन्न भएको छ भने सर्वसाधारणलाई आवत–जावत गर्न कठिनाई भएको छ । हिजो राति आएको आँधी तथा वर्षाका कारण मोदीको स्वागतका लागि लगाइएको स्वागत द्वारहरु झरेपछि अहिले फेरी बन्दैछ भने बाटो बनाउने काम पनि भईरहेको छ ।
यसरी कम समयमा बनिरहेको बाटोको गुणस्तरियतामा पनि प्रश्न उठिरहेको छ । मोदीको जानकी मंदिर जाने बाटो बनाउने काम पहिला देखि नै गरिए पनि दुई पटक रुट परिवर्तनको कुरा आएपछि अझै काम सम्पन्न नभएकोअवस्था छ ।
मोदी जनकपुर विमानस्थलमा पर्सी शुक्रबार विहान ९ बजे आएपछि क्याम्पस चोक, विद्यापति चोक, विश्वकर्मा चोक, परिक्रमा सडक , रमानन्द चोक हुदै जानकी मंदिर पुगेर पुजा गर्ने कार्यक्रम रहेको छ ।
जानकी मंदिरमा नेपालका प्रधानमन्त्री केपी ओली संगै संयुक्त रुपमा पुजा गरेपछि रंगभुमीमा नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधन पछि राजधानी काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।