• २०८१ बैशाख ८ शनिबार

शिक्षा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित

kharibot

काठमाडौँ  । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘शिक्षा(नवौँ संशोधन) विधेयक, २०७४’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । 

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उक्त प्रस्ताव सदनमा प्रस्तुत गरेका थिए  । बैठकमा सांसद गंगालाल तुलाधरले शिक्षा (आठौँ संशोधन) ऐनलाई कार्यान्वयन गर्ने समयमा संशोधन प्रस्ताव ल्याइनु गलत हो भन्दै तत्काल शिक्षा आयोगलाई शिक्षकको परीक्षा गराउनुपर्नेमा जोड दिए । 

सांसद जनकराज जोशीले विगतमा प्रकाशन गरिएको शिक्षकको परीक्षा नै नगरी अलपत्र पारिनु दुःखद् हो भन्दै विद्यमान ऐन कार्यान्वयन गर्न माग गरे । उनले विधेयक फिर्ता लिन आग्रह गर्नुभयो । सांसद चूडामणि जंगलीले शिक्षा क्षेत्रमा चरम राजनीति गरिएको छ भन्दै विधेयक आवश्यक नभएकाले तत्काल फिर्ता हुनुपर्नेमा जोड दिए । सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले आठौँ संशोधनको समयमा उठाइएका विषयलाई कार्यान्वयन नगरेर नवौँ संशोधन विधेयक ल्याइएको छ भन्दै ‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । 

सांसद कमलप्रसाद पंगेनीले अस्थायी शिक्षकको समस्या समाधान गर्न राजनीतिक सहमति जरुरी रहेको बताए । सांसद श्यामकुमार श्रेष्ठ (काभ्रेपलाञ्चोक)ले सार्वजनिक शिक्षा अस्तव्यस्त भएको र सरकारी विद्यालयमा नै शिक्षकले आफ्ना छोराछोरी नपढाउने, ध्यान नदिने प्रवृत्ति हावी भएको सन्दर्भमा नयाँ संशोधन प्रस्ताव ल्याइनु गलत रहेको बताए । 

सांसद गणेशमान गुरुङ, गीता क्षेत्री र गुरुप्रसाद बुर्लाकोटीले विद्यमान ऐन कार्यान्वयन गर्न र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानमा लाग्नका लागि उच्चस्तरीय क्षिक्षा आयोग र संघीय शिक्षा ऐन ल्याउन सरकारलाई सुझाव दिए । 

सांसद रामनारायण बिंडारीले शिक्षा, निजामती कर्मचारी र प्रहरी ऐन मन्त्री र सचिव फेरिएपछि बदलिने र संशोधन गरिदै आएको छ भन्दै भएको ऐन कार्यान्वयन नगरी नयाँनयाँ कानुन ल्याएर समय बर्बाद नगर्न आग्रह गरे । 

पूर्वशिक्षामन्त्री धनीराम पौडेलले शिक्षा ऐन आठौ संशोधन ऐनलाई कार्यान्वयन नगरेर नयाँ संशोधन विधेयक ल्याइनु गलत भएको जनाउँदै विधेयक तत्काल फिर्ता लिन माग गर्नुभयो । सांसद रुक्मिणी चौधरी, लक्ष्मण राजवंशी, विकास लम्साल, रामेश्वर फुयाँल र ओफिलाल ओफेडाले सार्वजनिक शिक्षामा देखिएको बेथिति अन्त्य गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद कमला पन्तले अस्थायी शिक्षकको समस्या समाधान गर्न सरकार र प्रतिपक्षी नभनीकन व्यवहार गर्न आग्रह गरे । 

शिक्षकको माग सम्बोधन गर्न संशोधन 

सांसदले उठाएको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न र शिक्षकको मागलाई सम्बोधन गर्न सरकारले सकारात्मक पहल गर्ने उद्देश्यले शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रस्ताव गरेको बताए । 

उनले निकट भविश्यमा नै उच्च शिक्षा आयोग गठन गर्ने जानकारी दिँदै उहाँले लामो समयदेखि अध्ययन अध्यापन गराएका शिक्षकलाई एक पटक मात्रै मौका दिन मात्रै सरकारले ऐनमा सुधार जरुरी रहेको बताए । झोलामा भरी प्रमाणपत्र भए पनि काम कुरा केही नजान्ने अवस्था रहेको भन्दै नेपालको शिक्षा क्षेत्रमा गुणात्मक सुधारको जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै