• २०८१ बैशाख ८ शनिबार

काठमाडौंमा मोदीको नागरिक अभिनन्दन : मोदीलाई कलात्मक साँचो र बुद्धको मूर्ति उपहार

kharibot

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो वैशाख २८ गते नेपाल भ्रमणमा आउने निश्चित भएसँगै काठमाडौँ महानगरले नागरिक अभिनन्दनको लागि राष्ट्रिय सभागृह सिँगारपटार गरी चिटिक्क पारेको छ ।

चार वर्षयता रंग नलगाइएको सभागृह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनसँगै चिटिक्क पारिएको छ । सभागृह सम्पूर्ण मर्मतसम्भारको लागि वार्षिक ४०/५० लाख रुपैँया छुट्याउने भए पनि सार्क सम्मेलनयता रंग लगाइएको थिएन । 

खरीबोटसँग कुरा गर्दै काठमाडौँ महानगरका निर्देशक नमराज ढकालले मोदीको नागरिक अभिनन्दनको लागि सभागृहको काम धमाधम भइरहेको र आज बेलुकासम्ममा सम्पूर्ण तयारी पूरा हुने जानकरी दिए । उनले भने, ‘नागरिक अभिनन्दनको लागि सभागृहमा काम निरन्तर रुपमा चलिरहेको छ  सम्भवतः आज बेलुकासम्ममा सम्पूर्ण तयारी पूरा हुन्छ ।’ 

अभिनन्दनको लागि विभिन्न उपसमितिहरु बनाएर काम गरेकोे उनले बताए । सरसफाइ, रङ्गरोगन, मर्मतसम्भार, प्रचारप्रसार, निमन्त्रणा कार्ड छपाइ, छपाइवितरण, स्वागत गीत, सुरक्षाको व्यवस्थालगायतका काम गर्न १८ उपसमिति बनाएर महानगरले काम गरिरहेको उनको भनाइ छ । 

सुरक्षाको लागि गृह मन्त्रालयले तोक्ने भएकाले समन्वयकोे हिसाबले नगर प्रहरीसहितको टिम बनाएको र हरेक कुरामा महानगर प्रहरीले सहयोग गर्ने उनले जानकारी दिए । विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनमा पर्ने ठाउँमा स्वागतद्वार निर्माण गर्ने महानगरको तयारी छ ।

खासगरी त्रिभुवन विमानस्थलको गेट र सभागृह प्रवेश गर्ने गेट महानगरले निर्माण गर्छ भने अन्य रुटमा महानगरका पार्टनर एजेन्सीहरु नबिल बैँक,  उद्योग वाणिज्य महासंघ, नागरिक लगानी कोषलगायतका सार्वजनिक संस्थाहरुलाई आह्वान गरेको र उनीहरुले नै गेट निर्माण गर्ने भए पनि गेटको डिजाइन भने महानगरले उपलब्ध गराउनेछ । त्यस्तै झण्डाहरु भने गृह मन्त्रालयले उपलब्ध गराउनेछ । 

रङ्गरोगन र सरसफाइको काम महानगरले गरेको छ । नागरिक अभिनन्दनको दिन कुनै भोजभतेर नभई सामान्य चिया, खाजाको व्यवस्था गरिनेछ । कार्यक्रममा सभागृहको सिट हेरी ५ सय ३२ बराबरको कार्ड बाँड्ने तयारी भएको छ । 

को को आउँछन् अभिनन्दन कार्यक्रममा ?
महानगरले आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रममा प्रधानमन्त्री केपी ओली, राष्ट्रियसभाका अध्यक्ष, प्रदेशसभाका सभामुख, प्रधानन्यायाधीश, सम्माननीयदेखि सबै मन्त्री र सचिवहरु, काठमाडौं जिल्लाका दश जना सांसद् र प्रदेशसभाका २० जना सांसद्हरु उपस्थित हुनेछन्  ।

त्यस्तै पूर्वमेयरहरु, काठमाडौँ जिल्लाका मेयरहरु, सुरक्षा निकायका प्रमुखहरु पर्यटन बोर्डदेखि नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थानका प्रमुखहरु, बैंकका सीईओहरु, समाजका प्रभुत्व व्यक्तित्वहरु, वरिष्ठ पत्रकारहरु, उद्योग वाणिज्य महासंघका व्यक्तित्वहरु, कलाकारहरु, प्राज्ञहरु, स्थानीय कला संस्कृतिका अगुवा तथा प्रवद्र्धकहरु, कूटनीतिक नियोगका प्रमुखहरु, महानगरका वरिष्ठ अधिकारी, वडाका प्रतिनिधिहरु गरेर सभागृहको सिटअनुसार ५ सय ३२ जनाको उपस्थिति रहने महानगरले जनाएको छ । कार्यक्रम ४५ मिनेटदेखि एक घण्टासम्मको हुनेछ  । 

मोदीलाई कलात्मक साँचो र बुद्धको मूर्ति उपहार
भारतीय प्रधानमन्त्री मोदीलाई महानगरले कलात्मक साँचो हस्तान्तरण गर्ने कार्यक्रम रहनेछ  । स्वागत गीतपछि प्रमुखले नागरिक अभिनन्दन पत्र पढेर सुनाउने र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बुद्धको मूर्ति र झ्याल उपहार दिने र त्यसपछि प्रधानमन्त्रीको सम्बोधन हुने र धन्यवाद मन्तव्य काठमाडौँ महानगरका प्रशासकीय अधिकृतले दिनेछन् । योसँगै कार्यक्रम समापन हुनेछ । त्यसपछि महानगरपुस्तिकामा प्रधानमन्त्रीले हस्ताक्षर गरी विदाइ गर्ने कार्यक्रम हरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै