• २०८१ बैशाख ८ शनिबार

मोदी भ्रमण तयारीमा जुट्यो सरकार : मुक्तिनाथ दर्शन दुई दिन बन्द, प्रदेश २ मा सार्वजनिक बिदा 

kharibot

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको तयारीमा सरकार जुटेको छ । 

वैशाख २८ र २९ गते जनकपुर, मुस्ताङ र काठमाडौँ गरि तीन स्थानमा हुने मोदीको भ्रमणको तयारीमा सरकार युद्धस्तरमा लागेको छ । 

यो सहित मोदी नेपालमा तेस्रो पटक आउन लागेका हुन् । भारतले गरेको नाकाबन्दीपछि मोदीको यो पहिलो नेपाल भ्रमण हो । नाकाबन्दीको घाउ अझै ताजा रहेको भन्दै आम सर्वसाधारणले भने मोदीको नेपाल भ्रमण बारे मिस्रित प्रतिक्रिया दिन थालेका छन् ।

गत चैत्रमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भारत भ्रमण पछि मोदी नेपाल आउन लागेका हुन् । यस भ्रमणका क्रममा कुनै सम्झौता नहुने बताइएको भएपनि मोदीले नाकाबन्दी पछि बिग्रेको नेपाल-भारत सम्बन्धलाई सुधार्ने प्रयास स्वरूपको यो भ्रमण हुने परराष्ट्र विज्ञहरुले बताएका छन् । 

मोदीको भ्रमण कार्यक्रम :

वैशाख २८ गते मोदी भारतको पटना हुँदै हेलिकप्टरबाट जनकपुर आउने छन् । त्यहाँ उनले जानकी मन्दिरमा पूजा गर्ने छन् । भ्रमणका क्रममा मोदी मुस्ताङको मुक्तिनाथ जाने पनि कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मोदीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । मोदीलाई काठमाडौँमा काठमाडौँ महानगरपालिकाले र जनकपुरमा जनकपुर उपमहानगरपालिकाले अभिनन्दन गर्ने मन्त्रालयले जनाएको छ ।

मोदीलाई २८ गते नै राजधानीको टुँडिखेलमा गार्ड अफ अनर दिइनेछ भने सोहि दिन साँझ उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ । मोदीले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र मोदीले रिमोटमार्फत् ९०० मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।

क्याबिनेटले गर्यो मोदीको भ्रमण कार्यक्रम स्वीकृत :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै छन्।

मोदीको अभिनन्दनका लागि महानगरका १८ उपसमिति :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काम काठमाडौँ महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ । 

काठमाडौँ महानगरले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मतसम्भार, रङरोगनजस्ता काम गर्ने कामपा सहप्रवक्ता नवराज ढकालले जानकारी दिए  । 

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पाहुनाको स्वागतमा कुनै कमी हुने बताउँदै अहिले गरिएको सरसफाइ र मर्मतको काम तत्कालका लागि मात्र नभई लामो समयसम्म टिकाउ हुन उपसमितिलाई आग्रह गरेका छन् । 

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । उनले पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्ने छन् ।

त्यसपछि काठमाडौँ फर्केपछि मोदी भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २:४५ बजे कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ ।

मुक्तिनाथमा दुई दिन दर्शन र पदमार्ग बन्द

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भएपछि दुई दिनका लागि आम भक्तजनले दर्शन गर्न नपाउने भएका छन् ।

स्थानीय प्रशासनले वैशाख २८ र २९ गते भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा गर्न रोक लगाएको छ भने आन्तरिक तथा विदेशी पदयात्रीलाई पनि वैशाख २८ र २९ गते थोरङ्ला पास गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना नै प्रकासित गरि सो रोक लगाएको छ । 

मोदी वैशाख २९ गते पूजाआजाका लागि मुक्तिनाथ मन्दिर जाँदैछन् । 

मोदीको स्वास्थ्यमा समस्या आए उपचारका लागि मन्दिर नजिकै सघन उपचार कक्ष (आइसियू) पनि स्थापना गरिएको छ । जिल्ला अस्पतालका चिकित्सकका साथै वीर अस्पताल र भारतीय चिकित्सकसमेतको संयुक्त टोली आइसियू कक्षमा हुने जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ ।

मन्दिर नजिकै चार वटा हेलिप्याड बनाइएको छ । मोदी भ्रमणकै तयारीका क्रममा दुई वटा हेलिप्याड बनाइएको हो भने दुई वटा हेलिप्याड पहिलेदेखि नै संचालनमा थिए ।
मोदीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय सुरक्षाकर्मी खटिने छन् ।

मुस्ताङमा उच्च सुरक्षा सतर्कता :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । 

तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ । 

सुरक्षा निकायले दैनिक बैठक बसेर तयारीलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए । वैशाख २८ गते मोदीले गर्ने मुक्तिनाथ भ्रमणका लागि तीन दिनसम्म अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा पनि छलफल चलेको छ । 

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । हाल दैनिक आठ घण्टा सवारी साधान रोकेर स्तरोन्नतिको काम भइरहेको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ । 

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्चस्तरीय धार्मिक भ्रमणले मुस्ताङवासीमा उत्साह छाएको र यहाँको धार्मिक पर्यटनको विकासमा मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । 

यसैबीच रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे जानकारी लिएको थियो । 

सो अवसरमा उनले मुस्ताङस्थित कोरला नाका खुलाउन सरकारले उच्च प्राथमिकता दिएको बताए । जोमसोममा नेकपा (एमाले)का कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले पहुँचमार्ग निर्माण, सुरक्षा क्याम्प राख्नका लागि द्वैपक्षीय छलफल अघि बढेकाले अबको दुई तीन वर्षमा कोरला नाका सञ्चालनमा आउने बताए ।  

प्रदेश २ मा सार्वजनिक बिदा :

प्रदेश नम्बर २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मोदीलाई स्वागत गर्न प्रदेशका आठै जिल्लाबाट मानिसहरू पठाउन निर्देशन दिइएको छ । बिहारको पटनाबाट हेलिकप्टरबाट मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ। जानकी मन्दिरमा पूजाआजा गरेपछि बाह्र बिगामा मोदीलाई नागरिक अभिनन्दनन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश २ मा भ्रमण व्यवस्थित बनाउन ६ वटा समिति

भारतीय प्रधानमन्त्री मोदी भ्रमणको तयारीका लागि विभिन्न ६ वटा समितिहरु गठन गरिएको छ । मुख्य मन्त्री लालबाबु राउतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

त्यस्तै शान्ति सुरक्षा व्यवस्थापन समितिको संयोजकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव , अर्थ व्यवस्थापन समितिको संयोजकत्वमा आर्थिक मामिलामन्त्री विजय यादव रहेका छन् । 

त्यसैगरी मञ्च व्यवस्थापनको जिम्मा भौतिक पूर्वाधार तथा योजनामन्त्री जितेन्द्र सोनललाई दिईएको छ ।  यसैगरी द्वार निर्माणका लागि भूमिसुधार तथा कृषिमन्त्री शैलेन्द्र साहलाई जिम्मेवारी सुम्पिएको छ, भने उद्योग पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायलाई प्रचार प्रसार समितिको जिम्मेवारी दिईएको छ ।

प्रदेश २ मा ७ हजार भन्दा बढी सुरक्षाकर्मी खटिने

मोदी भ्रमणलाई ध्यानमा राखि जनकपुरधामको सुरक्षा व्यवस्था अहिले देखि अत्यन्त कडा पारिएको मन्त्री यादवले जानकारी दिएका छन् । उनले केही दिनमा धनुषा जिल्ला भरी कै सुरक्षा व्यवस्था कडा पारिने बताए । 

भारतीय प्रधामन्त्री मोदी शुक्रबार बिहान साढे ८ बजे जनकपुरधाम आइ पुग्ने कार्यक्रम रहेको उनले बताए । मोदीको सुरक्षामा उनको व्यक्तिगत सुरक्षाकर्मी , नेपाली सेना , नेपाल प्रहरी , सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारी गरी पाँच तहका सुरक्षाकर्मी खटिने छन् । मन्त्री यादवका अनुसार मोदीको व्यक्तिगत सुरक्षाकर्मी बाहेक सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछन् ।

मोदी हेलिकप्टरबाट जनकपुर आउने भएका छन् । हेलिकप्टरका लागि जनकपुरको दुई स्थलमा हेलिप्याड बनाउने योजना रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै