• २०८१ बैशाख ७ शुक्रबार

‘समानताका आधारमा विचार राजनीतिलाई केन्द्रमा राखेर पार्टी एकता’

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा एमाले सँग समानताका आधारमा पार्टी एकता हुने बताएका छन् । 

पार्टीको सहायक संगठन वाइसिएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिलाई केन्द्रमा राखेर नै एकता हुने भएकाले ती विषय छाडिन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे । 

अध्यक्ष दाहालले माओवादी नेता–कार्यकर्ता र माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पर्नु भएकाले कोही कसैले पनि त्यस्तो हिम्मत गर्न नसक्ने स्पष्ट पारे । उनले समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महान् अभियानलाई साथ दिन युवापंक्ति नै एकताबद्ध भएर परिचालित हुनुपर्ने बताए । 

युवालाई नीतिनिर्माणमा नल्याए देश दुर्घटनामा पर्नेछ भन्दै उनले पार्टी सरकारमा पनि त्यसलाई ध्यान दिइएको र अन्य स्थानमा पनि उचित जिम्मेवारी दिइने स्पष्ट पारे । उनले शहीद, बेपत्ता र घाइतेको उचित व्यवस्थापन गरिने दृढता पनि व्यक्त गरे । 

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विचार निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भएकाले आलोचनात्मक चेतका साथ राजनीतिक विषयवस्तुलाई बुझनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहनुभएका गृहमन्त्री रामबहादुर थापाले राज्यका हरेक क्षेत्रमा रहेको एकाधिकार अन्त्यको अभियानमा साथ दिन युवालाई आग्रह गरे । 

वाइसिएलले पार्टी एकताको सन्दर्भमा भइरहेको पछिल्लो अवस्थाको जानकारीसहित आर्थिक समृद्धिमा युवा परिचालनलाई केन्द्रमा राखेर छलफल कार्यक्रम आयोजना गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै