• २०८१ बैशाख १३ बिहीबार

कसले जित्ला एल क्लासिको ? यस्तो छ अहिलेसम्मको भिडन्तको इतिहास 

kharibot

काठमाडौँ । स्पेनिश ला लिगाको बार्सिलोना र रियल म्याड्रिडबीचको यस सिजनको बहुप्रतिक्षीत खेल एल क्लासिको आज राति हुदै छ । 

यस सिजनको ला लिगाको उपाधि जितिसकेको बार्सिलोना र च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल म्याड्रिडबीचको यस खेलको ला लिगामा कुनै असर नभए पनि बार्सिलोना र रियलका फ्यानका लागि एल क्लासिकोको आफ्नै महत्व रहेको छ । 

यस खेलको महत्वपूर्ण पक्ष भनेको बार्सिलोनाको अपराजित यात्रालाई रोक्ने या नरोक्ने भन्ने पनि हो । रियल म्याड्रिड बार्सिलोनालाई हराएर महत्वपूर्ण ३ अंक हासिल गर्दै ला लिगामा दोस्रो स्थानमा आउने प्रयास गर्ने छ भने बार्सिलोनाको अपराजित यात्रालाई पनि टुंगाउने प्रयास गर्ने छ । 

त्यस्तै बार्सिलोनाले यो खेल जितेर ला लिगामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । ला लिगाको उपाधि जितिसकेको बार्सिलोना ला लिगामा ४१ खेलमा अपराजित रहेको छ ।  

एल क्लासिकोको इतिहास :

आइतबार हुने एल क्लासिको खेल २७१औ खेल हुने छ । स्पेनका दुई महारथी टिमबीच अहिलेसम्म ला लिगामा १७५, कोपामा ३३, कोपा डे ला लिगामा ६, सुपर कोपामा १४ च्याम्पियन्स लिगमा ८ गरि अहिलेसम्म २३६ एल क्लासिको भएका छन् भने दुई टिमबीच फ्रेन्डली ३४ एल क्लासिको गरि कुल २७० खेल भएका छन् । जसमा बार्सिलोनाले कुल ११२ खेल जितेको छ भने रियल म्याड्रिडले ९९ खेल जितेको छ । त्यस्तै ५९ एल क्लासिको बराबरीमा सकिएका छन् । फ्रेन्डली एल क्लासिको बाहेकका एल क्लासिको खेलमा रियलले ९५ र बार्सिलोन ले ९२ खेलमा जित हासिल गरेको छ । 

एल क्लासिको रेकर्ड : 

एल क्लासिकोमा अहिलेसम्म सन १९४३ मा कोपा डेल रेको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ११-१ गोल अन्तरले पराजित गरेको थियो । यो एल क्लासिकोमा अहिलेसम्म ठुलो गोल अन्तरले हारजित भएको खेल हो ।

त्यस्तै ला लिगामा भने बार्सिलोनाले सन १९५७ मा ७-२ गोल अन्तरले रियल म्याड्रिडलाई पराजित गरेको थियो । जुन अहिलेसम्मको ठुलो गोल अन्तरमा भएको हारजित हो ।
त्यस्तै एल क्लासिकोमा रियल म्याड्रिड सन १९३१ देखि १९३५ सम्म खेलेका लगातार १४ खेलमा अपराजित भएको थियो भने बार्सिलोना सन १९१७ देखि १९३८ सम्म खेलेका १३ खेलमा लगातार विजयी भएको थियो ।

एल क्लासिकोमा ५ खेलाडीले दुई ह्याट्रिक गरेका छन् । जसमा जैमे लाजकानो, सान्टिगो बेर्नाबु, पौलिन्हो अल्कानटारा, लियोनेल मेसी र फेरेंक पुकास रहेका छन् ।

एल क्लासिकोको इतिहासमा सबै भन्दा बढी गोल असिस्ट बार्सिलोनाका लियोनेल मेसीले गरेका छन् । मेसीले अहिलेसम्म १४ गोल असिस्ट गरेका छन् ।

त्यस्तै एल क्लासिकोको इतिहासमा सबैभन्दा बढी क्लासिको खेल्ने खेलाडी रियल म्याड्रिडका म्यानुयेल संचिस हुन् उनले ४३ क्लासिको खेलेका छन् । त्यस्तै रियलकै फ्रान्सिस्को गेंटो ४२, बार्सिलोनाका जाभी ४२, रियलका राउल, रियलकै इकर कासिल्लास, रियलकै सर्जियो रामोस, बार्सिलोन का आन्द्रे इनेस्टा, लियोनेल मेसीले ३७-३७ एल क्लासिको खेलेका छन् । 

क्लासिकोमा मेसी भर्सेज रोनाल्डो :

बार्सिलोनाका लियोनेल मेसीले अहिलेसम्म एल क्लासिकोका ३७ खेल खेलेका छन् जसमा मेसीले १७ खेलमा जित हासिल गरेका छन् भने ८ वटा खेल बराबरीमा सकिएका छन् ।

त्यस्तै मेसीले १२ वटा खेलमा हार बेहोरेका छन् । १७ जित मध्ये मेसीले १३ ला लिगाका क्लासिकोमा जित हासिल गरेका छन् भने दुई च्याम्पियन्स लिग क्लासिकोमा जित हासिल गरेका छन् । मेसीले च्याम्पियन्स लिगका क्लासिकोमा रियलविरुद्ध हार बेहोर्नु परेको छैन । अहिलेसम्म खेलेका दुई खेलमा एक खेलमा जित र एक खेल बराबरीमा सकिएका छन् ।

त्यस्तै रोनाल्डोको कुरा गर्दा रोनाल्डोले अहिलेसम्म एल क्लासिकोका २९ खेल खेलेका छन् । २९ खेलमा रोनाल्डोले ८ खेलमा जित हासिल गरेका छन् भने ६ खेल बराबरीमा सकिएका छन् । त्यस्तै १५ खेलमा रोनाल्डोले हार बेहोरेका छन् ।

एल क्लासिकोमा रोनाल्डो र मेसीले अहिलेसम्म कति गोल गरे होलान् ? पहिला मेसीको कुरा गरौ । मेसीले एल क्लासिकोमा खेलेका ३७ खेलमा कुल २५ गोल गरेका छन् । 
मेसीले ला लिगाका २३ खेलमा १७ गोल गरेका हुन् भने सुपर कोपाको ६ खेलमा ६ गोल गरेका हुन् । त्यस्तै च्याम्पियन्स लिगमा दुई गोल गरेका हुन् । मेसीले कोपा डेल रेका ६ क्लासिकोमा कुनै गोल गरेका छैनन् ।

त्यस्तै रोनाल्डोले एल क्लासिकोमा खेलेका २९ खेलमा अहिलेसम्म १७ गोल गरेका छन् । जसमा ला लिगाको क्लासिकोमा ८, कोपामा ५ र सुपर कपमा ४ गोल गरेका छन् । 
मेसीले अहिलेसम्म २५ गोल गर्दै एल क्लासिकोको इतिहासमा धेरै गोल गर्ने खेलाडी हुन् । मेसी पछि रियल म्याड्रिडका अल्फ्रेडो स्टेफनोले १८ गोल गरेका छन् भने रियलकै रोनाल्डोले १७ गोल गरेका छन् । रियल म्याड्रिडकै राउलले १५ गोल गरेका छन् ।  अहिले खेलिरहेका खेलाडीमा रियलका करीम बेन्जामा र बार्सिलोनाका लुइस स्वरेजले एल क्लासिकोमा ८-८ गोल गरेका छन् ।    

कसले कति गोल असिस्ट गरेका छन् ?

एल क्लासिकोमा मेसीले खेलेका ३७ खेलमा १४ गोल असिस्ट गरेका छन् । त्यस्तै मेसीले ६५ पटक गोल गर्ने अवसर सिर्जना गरेका छन् । त्यस्तै असिस्ट र टिम खेलमा रोनाल्डो मेसी भन्दा धेरै पछाडी रहेका छन् । रोनाल्डोले खेलेका २९ क्लासिको खेलमा केबल एक खेलमा असिस्ट गरेका छन् भने १४ पटक गोल गर्ने अवसर सिर्जना गरेका छन् ।

माथिका आँकडाको विश्लेषण गर्दा अवार्ड र अन्य आँकडामा मेसीभन्दा रोनाल्डो अगाडी भएपनि क्लासिकोका किंग मेसी नै हुन् । किनकी गोल गर्ने, असिस्ट गर्ने र अवसर सिर्जना गर्ने सबै पक्षमा क्लासिको खेलमा रोनाल्डो भन्दा मेसी धेरै अगाडी देखिएका छन् ।

यस अघिको आँकडा जे भएपनि मेसी र रोनाल्डो खेल्ने खेलमा को कमजोर र को बलियो भन्ने कुराले खासै अर्थ राख्दैन । किनकी दुवै खेलाडी एक दशकसम्म विश्व फुटबलमा राज गरिरहेका खेलाडी हुन् ।

यस सिजनको ला लिगाओ उपाधि बार्सिलोनाले जितिसकेको हुनाले ला लिगामा यस खेलको खासै अर्थ नभए पनि रोनाल्डो र मेसीको विश्व फुटबलमा रहेको प्रतिद्वन्दिताका हिसाबले यो विश्वकै उत्कृष्ट प्रतिष्पर्धा भने अवश्य हो ।  

यस सिजनमा मेसी र रोनाल्डोको प्रदर्शन :

यस सिजनमा सबै प्रतियोगितामा बार्सिलोनाका लागि मेसीले ४३ र रियल म्याड्रिडका लागि रोनाल्डोले ४२ गोल गरेका छन् । मेसीले यस सिजनमा खेलेका ५१ खेलमा ४३ गोल गरेका हुन् बहने रोनाल्डोले ४१ खेलमा ४२ गोल गरेका छन् ।

यस सिजनको ला लिगामा मेसीले ३३ खेलमा ३२ गोल गरेका छन् भने रोनाल्डोले २५ खेलमा २४ गोल गरेका छन् । तर च्याम्पियन्स लिगमा भने रोनाल्डोले १२ खेलमा १५ गोल गरेका छन् भने मेसीले १० खेलमा ६ गोल गरेका छन् ।

बार्सिलोनाले यस सिजनमा कोपा र ला लिगाको उपाधि जितिसकेको छ भने रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

खेलाडी :

यस खेलमा रियल म्याड्रिडका डानी कार्भाजल इन्जुरीका कारण खल्ने छैनन् भने अन्य सबै खेलाडी यस खेलका लागि उपलब्ध रहेका छन् । त्यस्तै बार्सिलोनामा भने सबै खेलाडी यस खेलका लागि उपलब्ध छन् । आन्द्रे इनेस्टाले यस सिजन पछि बार्सिलोना छोड्ने घोषणा गरिसकेको हुनाले उनको अन्तिम एल क्लासिको भएकाले यो खेल उनका लागि स्मरणीय हुने छ । 

रियल म्याड्रिडबाट यस खेलमा नाभास, नाचो, भेरान, रामोस, मार्सेलो, मोद्रिच, कसामेरो, क्रुज, इस्को, रोनाल्डो र बेन्जामाले खेल सुरु गर्न सक्छन । तर भेरान र इस्को हालै इन्जुरीबाट खेलमा फर्किएकाले उनीहरु बेन्चमा बस्न पनि सक्ने अनुमान गरिएको छ ।

त्यस्तै बार्सिलोनाबाट स्टेगेन, सेमेड़ो, पिके, उम्टिटि, अल्बा, राकटिक, बसक्वेटस्, इनेस्टा, कोन्टिन्हो, मेसी र स्वरेजले खेल सुरु गर्न सक्ने देखिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै