• २०८१ बैशाख १३ बिहीबार

प्रदेश ४ को बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड

kharibot

पोखरा ।  प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको राजश्व र व्ययको अनुमानका सम्बन्धमा छलफल भएको छ । 

बैठकमा मन्त्री गुरुङले बजेटले प्रदेशको समृद्धि र विकासको मार्गप्रशस्त गरेको बताए । 

मन्त्री गुरुङले बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धन, कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकीकरण तथा औद्योगिक क्षेत्रको विकास र विस्तार आदिमा जोड दिइएको बताउँदै गुणस्तरीय कृषिको विकासका लागि प्राङ्गारिक मल कारखाना स्थापना, स्वास्थ्य, शिक्षालगायतमा सरकारले प्राथमिकता दिएको तथा प्रदेशभित्र एक हजार शय्याको एक अस्पतालका साथै प्रत्येक नगर र गाउँपालिकामा ५०÷५० शय्याका सुविधासम्पन्न अस्पताल स्थापना गरिने जानकारी दिए । 

छलफलमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेट सकारात्मक भएको धारणा राख्दै यसलाई प्रभावकारी कार्यान्वयन गर्न सके प्रदेश समृद्धि र विकासको बाटोमा अघि बढ्ने धारणा राखे । सदस्य कृष्णचन्द्र नेपालीलेनारायणी नदीको संरक्षण, धार्मिक क्षेत्र, सीमान्तकृत र विपन्न वर्गलाई बजेटले समेट्न नसकेको बताए । 

सदस्य रामजी बरालले बजेटले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका घाइते र बेपत्ता नागरिकलाई सम्बोधन गर्न नसकेको बताए । सदस्य हरिशरण आचार्यले प्रदेश नं ४ को गौरवपूर्ण उद्योेग गोरखकाली रबर उद्योग सञ्चालनको विषयलाई बजेटले छुन नसकेको बताए । 

सदस्य कृष्ण थापाले प्रविधियुक्त कृषि प्रणालीका माध्यमबाट युवालाई रोजगारी प्रदान गराउन बजेटले सशक्त भूमिका खेल्नुपर्ने धारणा राखे । बैठकमा सदसय राजीव पहारी, ओमकला गौतम, दीपक कोइराला, धनमाया पोखरेल, प्रभा कोइराला, मनकुमारी गुरुङ, आशा कोइराला, विनोद केसी, ललितकला गुरुङ, दोबाटे विक, मेखलाल श्रेष्ठ, चित्रबहादुर घले, सरिता गुरुङ, कोपिला बोहोरा, प्रकाशचन्द्र दवाडी, मीना गुरुङलगायतले आआफ्ना धारणा राखे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै