• २०८१ बैशाख ६ बिहीबार

महिलाको मृत्यु भएपछि मेडिकल सञ्चालक र चिकित्सक नियन्त्रणमा

kharibot

तुलसीपुर, दाङ ।  तुलसीपुरमा रहेको ज्योति मेडिकलमा उपचारगर्नका लागि सामान्य अवस्थामा आएकी महिलाको बुधबार उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले मेडिकल सञ्चालक र चिकित्सकलाई नियन्त्रणमा लिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि पीडितका आफन्तले घटनाको छानबिन गर्न माग गरेपछि प्रहरीले मेडिकल सञ्चालक विनोद धौलाकोटी र उनको उपचारमा संलग्न डाक्टर प्रकाश नेपालीलाई नियन्त्रणमा लिएको हो । 

बुधबार दिउँसो सो मेडिकलमा उपचारका लागि हिँडेर आएकी कुमालले भनेको लक्षणका आधारमा डा प्रकाश नेपालीले विरामीलाई ट्राइकेन एमपिएस झोल औषधि र पेन्टाप्राजोल सुई दिएका थिए । 

सो औषधि चलाएलगत्तै कुमालको अवस्था गम्भीर भएपछि सो मेडिकलले उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुर्याएको थियो । त्यहाँ पुर्याएलगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । 

पीडित पक्षले घटनाको छानबिन र दोषीलाई कारबाही नगर्दासम्म शव नबुझ्ने बताएका छन् । 

यसैबीच, घटनाको सत्यतथ्य बारेमा शव परीक्षणको रिपोर्ट आएपछि यकिन हुने र आज इलाका प्रहरी कार्यालय, तुलसीपुरमा पीडित पीडकपक्षबीच छलफलहुने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै