• २०८१ बैशाख १२ बुधबार

घनश्याम कँडेलको ‘धृतराष्ट्र’ ले पायो यस बर्षको मदन पुरस्कार 

kharibot

काठमाडौं : २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले पाएको छ । त्यसैगरी यस वर्षको जगदम्बा श्री पुरस्कार दुर्गा बराल (वात्स्यायन) लाई प्रदान गरिने भएको मदन पुरस्कार गुठिले जनाएको छ ।

मदन पुरस्कार गुठीले २०७३ को मदन पुरस्कारका लागि गत वर्ष प्रकाशित चर्चित पुस्तकमध्ये नौ वटालाई छनोट गरेको थियो  । गुठीले कुल १९५ पुस्तकमध्येबाट जम्मा नौ वटा पुस्तक अन्तिम सूचीमा परेका थिए ।

अन्तिम सूचीमा सूचीबद्ध गरिएका पुस्तकहरुमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छांछाको दोहाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेका थिए । 

गत वर्षको मदन पुरस्कार रामलाल जोशीको ऐनाले पाएको थियो ।

स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम ४ हजार रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २ लाख पुर्याइएको थियो ।

२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन ।

त्यस्तै रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको एक लाखको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम दुई लाख रहेको छ । २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै