• २०८१ बैशाख ७ शुक्रबार

राजविराज विमानस्थलको निर्माण कार्य तीव्र

kharibot

फाइल तस्विर।

राजविराज । करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । 

उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा यहाँ विमान सञ्चालनमा ल्याइने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष अरुण प्रधानले बताउनुभयो । 

विसं २०१६ मा तत्कालीन यातायात मन्त्री स्व गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थल लामो समयदेखि अलपत्र रहँदै आएको थियो । 

सप्तरीवासीको बहुप्रतिक्षित योजनाका रुपमा रहेको यो विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा मोटर चल्नेबाटो निर्माण भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख रामएकवाल महतोले जानकारी दिनुभयो । 

“विमानस्थलमा नाला तथा केही ठाउँमा भत्काइएको घेराबारको काम र टावर मर्मत सम्भार भइरहेको, पक्की धावनमार्गमा लाइनिङ कार्य जारी रहेकाले मौसमले साथ दिएमा वैशाखको अन्तिममा यहाँ विमान उडाउन सकिनेछ”, उहाँले भन्नुभयो । 

वैशाखको अन्तिम सातातिर बुद्ध एयरलाइन्सले परीक्षण उडानका लागि रुचि देखाएको र लामो समयको प्रतीक्षापश्चात् विमानस्थल विमान सञ्चालन हुने निश्चित भएको आयोजना प्रमुख महतोले सञ्चारकर्मीलाई बताउनुभयो । 

पक्की धावनमार्ग, मोटर चल्ने बाटो र एप्रोन कालोपत्रे भइसके पनि अहिले टावरको मर्मत कार्य र धावनमार्गमा चिनो लगाउने कार्य अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । 

तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै यो विमानस्थलमा सेवा बन्द भएको थियो । कच्ची धावनमार्ग र अन्य भौतिक पूर्वाधार निर्माण नहुँदा विमानस्थल गाईबस्तु चराउने गौचरनमा परिणत भएको थियो । 

पटक–पटक विमानस्थल निर्माणको मुद्दा अघि बढे पनि निर्माण कार्यले गति लिन सकेको थिएन । 

सप्तरीवासीको दबाबपछि सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्दै बजेट छुट्याएपछि २०७३ सालमा उक्त विमानस्थलको टेण्डर आह्वान भएको थियो । 

विसं २०७४ कात्तिक मसान्तभित्र विमानस्थलको काम सम्पन हुनुपर्नेमा तर निर्माण कम्पनीले समयमै काम नसकेपछि चैत मसान्तसम्म समय थपिएको थियो ।

धावनमार्गको कालोपत्रे गर्ने ‘हटमिक्स प्लान्ट’ बिग्रेपछि चैतको दोस्रो सातातिर काम रोकिएकाले रु ३० करोड ३० लाख ६४ हजार ५२८ मा पक्की धावनमार्ग, मोटर चल्ने बाटो, एप्रोन र टर्निङ प्वाइन्ट निर्माण भएको हो  तर विमानस्थलका लागि थप आवश्यक जग्गा खरिद गर्न सकिएको छैन । 

विमानस्थलको चौडाइ अझै बढाउनुपर्ने र धावनमार्गको दुवैतर्फ खाली जग्गा राख्नुपर्ने भएकाले करीब २२ बिघा जग्गा खरिद गर्नुपर्ने अवस्था रहेको परियोजना प्रमुख महतोले भन्नुभयो । 

पर्यटन मन्त्रालयले उक्त जग्गा खरिदका लागि रु ५२ करोड विनियोजन गरिसकेको भए पनि अर्थमन्त्रालयले निकासा नदिँदा सो जग्गा खरिदको प्रक्रिया अघि बढ्न नसकेको उहाँले जानकारी दिनुभयो । 

राजविराज विमानस्थलको निर्माण कार्य सकिएर परीक्षण उडानका लागि तयार हुनु सप्तरीवासीका लागि खुशीको कुरा भएको बताउँदै सप्तरीवासीले वर्षौंदेखि देखेको सपना बल्ल पूरा हुने सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले भन्नुभयो । 

राजविराज विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको पर्यटन प्रवद्र्धनका साथै आर्थिक समृद्धिमा मदत मिल्ने जिल्लास्थित उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दासले विश्वास व्यक्त गर्नुभयो । 

सदरमुकाम राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा सो विमानस्थल रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै