• २०८१ बैशाख ७ शुक्रबार

सूर्य टोबाकोलाई एक साताभित्र कारबाही प्रक्रियामा ल्याउछौँः राज्यमन्त्री अर्याल

kharibot

काठमाडौ  ।  स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ । 

राजधानीमा शनिबार आयोजित “जनस्वास्थ्य प्रवद्र्धनः सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन” विषयक अन्तरक्रियामा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्य टोबाकोले ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्न तथा अंकित गर्न अटेर गरेकाले कारबाही प्रक्रिया शुरु गर्न लागिएको बताएकी हुन् । 

सरकारले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र अङ्कित गर्नुपर्ने वाध्यकारी कानुन कार्यान्वयनमा ल्याएको चार वर्ष बित्दा पनि सूर्य नेपालले कार्यान्वयनमा अटेरी गर्दै आएको छ । 

मन्त्रालयले उक्त नियम सूर्य टोबाकोलाई पटकपटक जानकारी गराउँदा पनि नियम पालन नगरेकाले मन्त्रालयले एक साताभित्र कारबाही गर्न तयारी गरेको हो । 

राज्यमन्त्री अर्यालले कानुन सबैका लागि बराबर हुने बताउँदै भनिन, “अरु कम्पनीले कानुन पालना गर्न हुने सूर्यले नगर्ने के कारण हो, चार वर्ष बित्दा पनि किन कानुन पालना भएन, कसले संरक्षण गरेको छ, एक साताभित्र कारणसहित कारबाही प्रक्रियामा ल्याउछौँ ।” 

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ देखि निर्देशिका बनाई कार्यान्वयनमा ल्याएको हो । 

स्वास्थ्य राज्यमन्त्री अर्यालले सूर्तिजन्य पदार्थको करमा पनि वृद्धि गर्न तयारी थालेको जानकारी दिइन्। 

उहाँँले मन्त्रालयले त्यसका लागि चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने प्रस्ताव तयार पारेको र छिटै अर्थ मन्त्रालयमा पठाइने बताइन्। 

सरकारले हाल चुरोट तथा सूर्तीजन्य पदार्थमा २८ प्रतिशत मात्र कर लगाउदैँ आएको छ जुन दक्षिण एशियामै सबैभन्दा कम हो । ‘दक्षिण एसियाभरिमै नेपालमा सूर्तीजन्य पदार्थको कर निकै कम लगाइएको छ, किन त्यस्तो ? हामीले कर किन नबढाउने भनेर ७० प्रतिशत कर लगाउने प्रस्ताव अर्थ मन्त्रालयमा जान्छ,’ उनले भनिन । 

नेकपा एमालेका प्रमुख सचेतक पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले बर्सेनि २५ हजारभन्दा बढीको ज्यान लिने सूर्तिजन्य पदार्थको सेवन रोक्न कडाईका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 

नेपालले आफू स्वास्थ्यमन्त्री भएकै समयमा प्रतिष्ठित ब्लुम्बर्ग ग्लोबल टोबाको कन्ट्रोल अवार्ड पाएको भन्दै त्यसपछिका मन्त्रीले प्राथमिकताका साथ अघि नबढाएको आरोप लगाए । 

वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मीले भने, ‘‘नसर्ने रोग बढाउन सूर्तिजन्य पदार्थको प्रमुख भुमिका छ, यसको प्रयोगदर घटाउन यस्ता पदार्थको मूल्य बढाउनैपर्छ ।” 

नेकपा माओवादी केन्द्रका सांसद लेखराज भट्ट तथा नेकपा एमालेका सांसद रामकुमारी झाँक्रीले कागजमा राम्रा र उत्कृष्ट कानुन बनेको भएपनि यसको नियमन भने त्यही रूपमा हुन नसक्दा समस्या भएको बताए । 

दि युनियन एसिया प्यासिफिक, सिंगापुरका उपक्षेत्रीय निर्देशक डा तारासिंह बमले सूर्तिजन्य पदार्थ प्रयोगदर घटाउन कर बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि राजनीतिक प्रतिवद्धता महत्वपूर्ण भएको बताए । 

‘‘कम आय भएका मानिसहरु बढी मात्रामा सूर्तिजन्य पदार्थ प्रयोग गरिरहेका छन्, आफ्ना प्राथमिक आवश्यकता पूरा नगरी चुरोटसूर्तिमा खर्च गर्छन्, यसको मूल्यवृद्धि गर्ने हो भने उनीहरु पहिलो आवश्यकता पुरा गर्न लाग्छन् र यसप्रतिको चाह घटाउँदै लैजान्छन् ।’’ उनले एसियामै सबैभन्दा सस्तो मूल्यमा चुरोट नेपालमा पाइने बताए । 

एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले नेपालले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि उत्कृष्ट कानुन बनाए पनि कार्यान्वयन फितलो भएको बताए । 

विश्वमा २१ प्रतिशत सूर्तिजन्य पदार्थ प्रयोगकर्ता रहेको बताइन्छ । सूर्तिजन्य पदार्थको प्रयोग घटाउनसके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ । 

नेपालमा सुर्तिजन्य पदार्थकै कारण प्रत्येक वर्ष २५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको बताइन्छ । 

कार्यक्रम स्वास्थ्य मन्त्रालय, दि युनियन एसिया प्यासिफिक सिंगापुर, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चको संयुक्त आयोजनामा भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै