• २०८१ बैशाख ८ शनिबार

जनताका भावनालाई समेटेर बजेट आउनुपर्छ : प्रदेश ४ का सांसद

kharibot

पोखरा । प्रदेश नं ४ को आजको प्रदेश सभा बैठकमा सदस्यहरूले जनताका भावना समेटेर बजेट आउनुपर्ने धारणा राखेका छन् । 

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बिहीबार प्रस्तुत गर्नुभएको आव २०७४÷७५ को बाँकी अवधिका बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्तावबाहेक सम्बन्धमा धारणा राख्दै सदस्यहरूले प्रदेशको समृद्धि र विकासका साथै जनजीविकाको स्तरोन्नति गर्ने किसिमबाट बजेट तयार हुनुपर्ने बताए । 

उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै सडक सञ्जालको विस्तार, ऊर्जा, जलस्रोत आदिलाई प्राथमिकतामा राख्नुपर्ने वक्ताहरूको जोड थियो । 

प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले आर्थिक समृद्धि र विकासका लागि करको वृद्धिभन्दा पनि करको संख्या बढाउने किसिमका कार्यक्रम ल्याउनुपर्ने बताए । 

शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य कुमार खड्काले बजेट निर्माणका क्रममा अनावश्यक आश्वासन दिन आवश्यक नभएको बताउँदै जनतालाई सुशासनको प्रत्याभूति गराउने खालका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । 

प्रदेश सभा सदस्य दीपक कोइरालाले बजेट जनमुखी बन्नुपर्ने बताउँदै यसले युवावर्गलाई स्वदेशमा नै रोजगार सिर्जना गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । 

प्रदेश सभा सदस्य हरिशरण आचार्यले कर प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउँदै सहज रुपमा कर तिर्ने करदातालाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । 
प्रदेश सभा सदस्य पियारी थापाले दिनभरि काम गरेर पनि रातमा राम्रोसँग खान नपुग्ने गरीब र निमुखा वर्गलाई लक्षित गरी बजेट आउनुपर्ने बताए । 

आजको छलफलमा प्रदेश सभा सदस्यहरू चन्द्रबहादुर बुढा, मीना गुरुङ, धनमाया पोखरेल लामा, मोहनप्रसाद रेग्मी, मधु अधिकारी गुरुङ, मनबहादुर गुरुङ, प्रकाशचन्द्र दवाडी, चन्द्रमोहन गौचन, मनकुमारी गुरुङ र कोपिला बोहोराले समाजका सबै वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी बजेट आउनुपर्ने धारणा राखे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै