• २०८१ बैशाख ७ शुक्रबार

खेलाडीलाई सदस्यताले दीर्घकालमा असर गर्छ – क्यान अध्यक्ष चन्द 

kharibot

काठमाडौँ । २०७३ सालको बैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई आइसीसीले निलम्बन गर्यो । तर, पटक पटक क्यानलाई निलम्बन फुकुवा गर्न ताकेता पनि गरी रह्यो ।

जसको फलस्वरुप केही दिन अगाडि मात्र आइसीसीले भने बमोजिम नै क्यानले जस्ताको तस्तै विधान पारित गर्यो र अहिले सो विधान खेलकुल परिषद्मा पुगेको छ । भने खेलकुद परिषद्ले पारित गरेपछि विधान आइसीसीलाई पठाइनेछ ।

विधान आइसीसीमा पुगेपछि उसले आफुले भने बमोजिम भए क्यानलाई निलम्बन फुकुवा गर्नेछ । साथै, नयाँ कार्यसमितीका लागि एक मनिटरिङ कमिटी बन्नेछ । जसमा ३ जना आइसीसीका प्रतिनिधि र एक-एक जना क्यान र खेलकुद परिषद्का प्रतिनिधिहरु सदस्य रहने व्यवस्था छ । 

मनिटरिङ कमिटीले पुर्वनिर्वाचित ३७ जिल्ला को बैधता हेर्नेछ र उनीहरुलाई नै पुन:निर्वाचित गर्ने वा नयाँ बनाउने उसले आफ्नो मुल्याङकन अनुसार अगाडि बढ्नेछ । निर्वाचन हुन बाँकी रहेका जिल्ला भक्तपुर र ललितपुरमा नयाँ कार्यसमितीहरु चयन हुनेछन् भने ७ वटै प्रदेशमा कार्यसमितिहरु बनाइने छन् । त्यसपछि केन्द्रको चुनाव हुन्छ । पहिले भएको निर्वाचन विधान अनुरुप भएको नभएको लगाइतका कुराहरुलाई क्यानले निरिक्षण गरेपछि के गर्ने भन्ने निर्णय गर्ने क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

के हो विवाद ?

खरीबोटसँग कुरा गर्दै चन्दले क्यान विवाद बारे भने, ‘क्यानमा केही पनि विवाद थिएन । यहाँ खेलाडीलाई कसैको अनुहार मन परेन अरे ? अनुहार मन नपरेपछि समस्या देखियो ।

जस्तो मान्नुस् कि महिलालाई स्त्री समेत गर्न नमिल्ने कुनै एक जना महिला खेलाडीलाई फुटबलकी स्त्री खेलाडी भनेर मात्र भनियो भने पनि विधान विपरीत भयो अरे ।’ 

उनले भने, ‘त्यसैले अहिले हामीले सल्लाहकार समितिले जस्तो पठायो त्यसलाई जस्ताको त्यस्तै हुवहु पठाएका छौं । हाम्रो उदेश्य नेपाली क्रिकेटको विकास होस् भन्ने हो क्रिकेटलाई विवादमा तानेर अल्झाउने होइन् । हामीले पठाएको विधान आइसीसीका कानुनी सल्लाहकारले हेर्नेछन् । आइसीसीकै चाहना बमोजिम बनेको विधान पारित भएपछि अब क्यानको निलम्बन फुकुवाको बाटोमा गएको छ । साधारणसभामा आइसीसीका प्रतिनिधि अमर शेख पनि उपस्थित थिए ।’

कही नभएको जात्रा हाडी गाउँमा — खेलाडीलाई क्यानको सदस्यता

‘विश्वका जुनसुकै देशमा पनि हेर्नुस् कतैपनि खेलाडीलाई महाधिवेशनमा भोट हाल्ने अधिकार र सदस्यता दिइएको छैन् । तर, हाम्रो यहाँ भने त्यसैलाई मुद्दा बनाएर साथीहरु लगिरहेका छन् । जुनकुरालाई जिल्लाका साथीहरुले पनि मानिरहेका छैनन् ।’ चन्दले भने । 

उनले अगाडि थपे ‘खेल जीवनबाट टाढिएका पुर्वखेलाडीहरु सदस्य पनि हुनसक्छन् र भोट पनि हाल्न पाउन्छन् । तर, वहालबाला खेलाडीलाई भने त्यो दुवै अधिकार हुदैन् । खेलाडीको काम भनेको खेल्ने हो भने व्यवस्थापकको काम उनीहरुलाई सहि तरिकाले खेल्ने वातावरण मिलाउने हो ।’

 ‘तर, आसीसीको विधानमा शर्तकै रुपमा खेलाडीले भोट हाल्न पाउने भन्ने सहमती गरीएको छ । यसले दिर्घकालीन असर पार्नेछ । तत्कालिन रुपमा सामान्य देखिएपनि पछि यो समस्याका रुपमा देखिने छ । यो पनि सल्लाहकार समितीले दिएको विधानमा छ र त्यसलाई जस्ताको तस्तै गरिएको हो । भने यसले खेलाडीलाई विवादमा तान्ने छ जुन क्यानको निर्वाचित सदस्यले नगरौ भनेका थियौं, पछि शर्त नै त्यहि भएपछि पास गर्नुपर्यो ।’ चन्दले भने ।

के छ नयाँ विधानमा खेलाडीलाई दिइएको अधिकार ?

विशेष साधारण सभाबाट पारित गरिएको विधानको परिच्छेद ९ को ३ मा जिल्ला कार्यसमितिले देहायबमोजिम योग्यता पुगेका व्यक्ति वा संस्थालाई साधारण सदस्यता प्रदान गरिने भन्दै त्यसको ‘क’ मा नेपाल क्रिकेट संघ वा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेका राष्ट्रिय स्तरका सिनियर क्रिकेट प्रतियोगितामा कम्तीमा ३ वटा प्रतियोगिता खेलेका खेलाडी (महिला र पुरुष) हुने जनाइएको छ । 

उक्त ३ प्रतियोगिता खेल १ वर्षभित्रको नभई फरक–फरक वर्षमा खेलिएको हुनुपर्नेछ । उक्त उपधाराबमोजिम सदस्यता प्राप्त गर्ने खेलाडी कार्यसमितिको निर्वाचन हुनुअगावै कम्तीमा दुई वर्षको अवधिमा भएको राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्यसमिति पदाधिकारी वा सदस्यका रूपमा निर्वाचित हुन सक्नेछ ।

यसअनुसार तीन फरक वर्ष राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीले आ आफ्नो जिल्लामा सदस्यता पाउने छन् । उनीहरूले जिल्ला निर्वाचनमा मतदान गर्न पाउँछन् । तर उम्मेदवारी दिन पाउने छैनन् । खेलाडीको हकमा उम्मेदवारी दिन उक्त खेलाडीले खेल्न छाडेको दुई वर्ष हुनुपर्नेछ ।

कसरी बनेको थियो समानान्तर क्यान?

सरकारी हस्तक्षेप र चुनाव निष्पक्ष रुपमा नभएको भन्दै आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आइसीसीले चाहेअनुरुप नै विधान पारित भएपछि जुनमा हुने आइसीसीको वार्षिक बैठकको निलम्बन फुकुवा गर्ने विश्वास सबैमा छ ।

२०७२ कार्तिकमा राष्ट्रिय खेलकुद परिषद्ले प्रक्रिया नपुगेको भन्दै साधारण सभालाई स्वीकृति दिएको थिएन । तर, त्यसका बावजुद पनि मंसिरको मध्यरातमा क्यानले साधारण सभा गर्यो र त्यसलाई मान्यता नदिएको परिषदले पुसमा रमेश सिलवाल नेतृत्वमा तदर्थ समितिको रुपमा अर्को समानान्तर क्यान गठन गरेपछि विवाद सुरु भएको थियो ।

चन्दले क्रिकेटमा तिन पक्ष रहेको बताए । पहिलो क्यान, दोस्रो सिलवालको नेतृत्वमा रहेको तदर्थ समिति र तेस्रो पक्षका रुपमा भने सल्लाहकार समितिलाई जनाएका छन् । उनी भन्छन् यदि हामीले अलिकती मात्र पनि विधानमा संशोधन वा हेरफेर गरेको खण्डमामा अझै समस्या सिर्जना गर्न चौथो पक्षको पनि आगमन हुनसक्थ्यो ।

भैतिक संरचना निर्माण गर्नेकाम सरकार र राखेपको हो — अध्यक्ष चन्द

नेपाली क्रिकेटले एकदिवसिय मान्यता पाइसकेपछि देश भरी क्रिकेटका फ्यानहरु भैतिक संरचना नभएकोमा रुष्ट देखिन्छन् । यसमा क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्द भने भैतिकसंरचना निर्माणको काम क्यान र आइसीसीको नभएर सरकार राखेपको हो भन्छन् ।

आइसीसीले आफ्नो कोषबाट बजेट दिन्छ तर, त्यलाई भैतिक संरचना निर्माणमा लगाउ भनेर होइन् अरु नै शिर्षकहरु हुन्छन । भौतिक संरचनाका लागि भएपनि निश्चित प्रतिशत मात्र निर्माणका लागि हुन्छ र त्यो जिल्लाहरुमा पठाउने कि एक ठाउामा स्टेडियम बनाउन लगाउने । त्यसैले भैतिक संरचनाको जिम्मा सरकार आफैले लिनुपर्छ वा राखेपसँग समन्वय गरेर निजी क्षेत्रसँग मिलेर भएपनि संरचना निर्माणमा लाग्नुपर्छ । पछिल्लो समय धेरै भयो घरेलु लिगहरु हुनसकेका छैनन् क्यान निलम्बन फुकुवा हुनसके पहिले हुदै आएका र पछिल्ला बर्षहरुमा हुन नसकेका यु—१४, यु—१६, यु—१९ का खेलहरुलाई निरन्तरता दिदै नेपाली क्रिकेटको विकासमा लाग्नुको विकल्प छैन् ।

क्यानको निलम्बन फुकुवा भएपछि के हुन्छ ?

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेकै समयमा नेपाली क्रिकेटको अन्तराष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पार्यो । नेपालले ४ बर्षका लागि एकदिवसीय मान्यता पाइसकेपछि क्यान निलम्बन फुकुवा हुने क्रममा लागेको छ । यो ऐतिहासिक सफलतालाई दिर्घकालसम्म बचाएर राख्न क्यानले अन्य देशका खलाडीसँग अभ्यास खेल खेलाउन समन्वयकारी भुमिका सहि तरिकाले निभाउनु पर्ने हुन्छ ।

एकदिवसीय मान्यता पाउने वित्तिकै भारत, पाकिस्ता, अष्ट्रेलियाका राष्ट्रिय टोलीसँग नभएपनि अन्य हाम्रै स्तरका देशसँग अभ्यास खेल खेल्न सकिन्छ । भने क्यानले आइसीसी मार्फत् पाउने जतिपनि बजेट पाउछ त्यसको सहि उपयोग गरेर क्रिकेट विकासमा लाग्नुपर्ने चन्दको भनाइ छ ।

विधान पारित पछि आइसीसी सकारात्मक :

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि)ले नेपाली क्रिकेटको अबको काम नयाँ विधानमा रहेर चाडै निर्वाचन गर्न आवश्यक रहेको बताएको छ ।

भारतको कोलकतामा बिहिबार बसेको आइसीसी  बोर्ड बैठकले निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थाबारे अपडेट प्राप्त गरेको र एड्भाइजरी कमिटीले बनाएको विधान क्यानको विशेष साधारण सभाले पारित गरेको उल्लेख गरेको छ।

आइसीसीले अब क्यानको पुन: स्थापना हुनको लागि नयाँ संशोधित विधान अनुसार निर्वाचन हुनुपर्ने जनाएको हो।

अघिल्लो साता क्यानको विशेष साधारण सभाले नयाँ विधानमा रहेका विवादित मुद्दालाई किनारा लगाएर नयाँ विधानलाई सर्वसम्मतले पारित गरेको थियो । सोहि विधानको प्रतिलिपी आईसीसीलाई पठाएको थियो।

नेपाल क्रिकेटको विषयलाई पनि गहन रुपमा उठाउँदै क्यानको विशेष साधारण सभाले नयाँ विधान पारित गरेको र अब सोहि विधान अनुसार नयाँ नेतृत्व चयनको बाटोमा अगाडि बढेको बताएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै