काठमाण्डौँ । आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।
गएराती भएको खेलमा चेन्नईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
चेन्नईको जितमा अम्बाती रायडूले सर्वाधिक ८२ रन बनाएका थिए भने कप्तान महेन्द्रसिंह धोनीले ७० रन नटआउट बनाएका थिए । धोनीले ३४ बलमा ७ छक्का र एक चौकाको मद्धतले ७० रन बनाएका थिए । त्यस्तै डिजे ब्राभोले ७ बलमा १४ रन नटआउट बनाएका थिए ।
बैंगलोरका बलर युजवेन्द्र चहलले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो । बैंगलोरको पारीमा एबी डिविलीयर्सले सर्वाधिक ६८ रन बनाएका थिए भने डी ककले ५३ र मन्दीप सिंहले ३२ रनको पारी खेलेका थिए ।
चेन्नईका बलर शार्दुल ठाकुर, इमरान ताहिर र डिजे ब्राभोले २-२ विकेट लिएका थिए ।
३४ बलमा ७० रन बनाएका चेन्नईका कप्तान महेन्द्रसिंह धोनी खेलको म्यान अफ द म्याच बनेका थिए ।
जितसँगै चेन्नई अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ६ खेलमा ५ जित र एक हारसहित १० अंकसहित शिर्ष स्थानमा छ भने बैंगलोर ६ खेलमा २ जित र ४ हारसहित केबल ४ अंक पाएर छैठौ स्थानमा रहेको छ ।
आइपिएल अन्तर्गत आजको खेल सनराइजर्स हैदरावाद र किंग्स इलेभेन पन्जावका बीच हुदै छ ।