• २०८१ बैशाख १२ बुधबार

जाइकाको प्राविधिक सहयोगमा आवास निर्माण गर्दै ठूलोसिरुबारीका भूकम्पपीडित

kharibot

सिन्धुपाल्चोक । तीन वर्ष अघिको ‘गोरखा भूकम्प’ले सिन्धुपाल्चोकको सागाँचोकगढी नगरपालिका–१३ ठूलो सिरुबारीकी ६९ वर्षीय झम्ककुमारी श्रेष्ठको घर र गोठ ध्वस्त भयो । 

चार वर्षको हुँदा एकमात्र छोरा गुमाउनुभएकी झम्ककुमारीले भूकम्प जानुभन्दा तीन महिना अघिमात्र श्रीमान् गुमाउनुभएको थियो । श्रीमान् गुमाउनुको पीडा बिर्सन नपाउँदै झम्ककुमारीलाई पीडामाथि पीडा थपिदियो, वैशाख १२ को भूकम्पले । 

झम्ककुमारीको घर, गोठ ध्वस्त भए । घरमा रहेको अन्नपात, कपडा सबै पुरिए । विभिन्न संघ संस्थाले प्रदान गरेको राहत र जस्ताको टहरोमा झम्ककुमारीको दिनहरु बित्न थाले । भूकम्पबाट ठूलो सिरुबारीको बोजिनी टोलका ४७ घर नै ध्वस्त भए ।

भूकम्प गएको साढे दुई वर्षसम्म पनि उहाँले घर निर्माण कसरी शुरु गर्ने भन्ने निर्णय गर्न नै सकेनन् । त्यस्तै बोजिनी टोलका भूकम्पपीडित पनि घर बनाउने÷नबनाउनेमा अलमलमा रहे । आर्थिक रुपमा सबल केही घरधुरीले मात्र आवास पुनःनिर्माण गरे । सरकारको अनुदानको आशाले पनि झम्ककुमारीलगायतका पीडितमा आवास पुनःनिर्माणमा उत्साह ल्याउन सकेन । 

गत वर्ष असोजमा जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका ले पुनःनिर्माणमा प्राविधिक सहायता उपलब्ध गराउन सिन्धुपाल्चोक र गोरखामा सामुदायिक परिचालन कार्यक्रम शुरु ग¥यो ।

कार्यक्रम शुरु हुनु अघि ठूलो सिरुबारीका एक हजार ७८८ मध्ये २३८ लाभग्राहीले मात्र आवास पुनःनिर्माण शुरु गरेका थिए । कार्यक्रम शुरु भएपछि निजी आवास पुनःनिर्माणले गति लिएको छ । कार्यक्रम शुरु भएको करिब सात महिनामा मात्र झण्डै ८२७ घर निर्माण भइसकेका छन् भने बाँकी निर्माणको चरणमा रहेका छन् । 

४७ गाविसमा सामुदायिक परिचालन कार्यक्रम

जाइकाले आवास पुनःनिर्माणमा सहजता ल्याउन र पीडितलाई आवास पुनःनिर्माणमा उत्साहित बनाउन भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक र गोरखाका ४७ गाविसमा गत असोज महिनादेखि सामुदायिक परिचालन कार्यक्रम शुरु गर्यो ।

जाइकाले ‘पाइलट प्रोजेक्ट’ का रुपमा सिन्धुपाल्चोकको इर्खु र कदम्बास गाविसबाट कार्यक्रमको शुरुआत गरेको थियो । आवास पुनःनिर्माणमा ह्वातै वृद्धि भएपछि सिन्धुपाल्चोकका अन्य २९ गाविस र गोरखाका १६ गाविसमा समेत यो कार्यक्रम शुरु गरिएको जाइकाका परामर्शदाता भूपेन्द्रबहादुर बस्नेतले बताए । 

जाइकाले आवास पुनःनिर्माणलाई प्रभावकारी बनाउन र प्राविधिक सहयोग गर्न केन्द्रदेखि गाउँसम्म पुग्ने संयन्त्र बनाएको छ । प्रत्येक समुदायमा सामुदायिक परिचालन समिति गठन गरिएको छ । सिन्धुपाल्चोक र गोरखामा ५४२ समिति गठन गरिएको छ ।

जाइकाले आवास निर्माणमा पीडितलाई प्रविधिज्ञ उपलब्ध गराउन टोलटोलमा कूल ५४८ घुम्ती डकर्मी खटाएको छ । त्यस्तै साविकका गाविसमा जाइकाका एक इन्जिनियर र एक सामाजिक परिचालकसमेत खटिइएका छन् । 

प्रत्येक चार÷पाँच गाविसलाई समेटेर ‘क्लष्टर’ बनाइएको छ । सिन्धुपाल्चोकमा छ र गोरखामा चार क्लष्टर बनाइएको छ । प्रत्येक क्लष्टरमा एक जना वरिष्ठ इन्जिनियरलाई खटाइएको छ भने जिल्लामा समन्वयका लागि जिल्ला आयोजना प्रमुखको व्यवस्था गरिएको छ ।

पुनःनिर्माणलाई तीव्र बनाउन र अनुदान प्रक्रियालाई सहज पार्न संयन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको परामर्शदाता बस्नेत बताउन्छन् । सामुदायिक परिचालन कार्यक्रमले पीडितलाई आवास निर्माण गर्न हौसला प्रदान गरेको बताउँदै उनी भन्छन्, ‘पुनःनिर्माणको महाअभियानलाई छिट्टै सक्न अब सरकारले अनुदान वितरण प्रक्रियालाई थप सहज बनाउनुपर्छ ।’ 

तेस्रो किस्ताको प्रतीक्षा 

जाइकाबाट प्राविधिक सहयोग पाएर धमाधम आवास निर्माण गरिरहेका ठूलो सिरुबारीका अधिकांश भूकम्पपीडितले पहिलो र दोस्रो किस्ताबापतको अनुदान रकम लिइसकेका छन् ।

एक हजार ७५६ लाभग्राहीले पहिलो किस्ता र एक हजार ४५७ लाभग्राहीले दोस्रो किस्ताको अनुदान लिइसकेका छन् । त्यस्तै, ४६४ लाभग्राहीले तेस्रो किस्तासमेत लिइसकेका छन् । घर निर्माण सम्पन्न भइसकेका पीडित तेस्रो किस्ताको प्रतीक्षामा छन् । 

भूकम्पपीडित तुलबहादुर श्रेष्ठले भन्नुभयो, “जाइकाको प्राविधिक सहयोगले गर्दा हामी छोटो अवधिमै आवास पुनःनिर्माण गर्न सफल भएका छौँ । अनुदानबापतको दुई किस्ता रकम बुझिसकेका छौँ ।

अब तेस्रो किस्ताको प्रतीक्षामा छौँ ।” जाइकाबाट खटिइएका घुम्ती डकर्मी, सामाजिक परिचालक, इन्जिनियरको निरन्तरको अनुगमनका कारण कुनै प्राविधिक समस्या नदेखिँदा अनुदान पाउन कुनै समस्या नभएको पुनःनिर्माणमा खटिएका इन्जिनियर मधुसूदन बरालले बताए । 

पुनः निर्माणका लागि ऋण

बोजिनीका स्थानीयवासीले आवास पुनःनिर्माणलाई तीव्रता दिन सामूहिक रुपमा ऋणसमेत लिएका छन् । उनीहरुले ठूलो सिरुबारीका युवाको पहलमा स्थापना भएको युवा भलाइ कोषबाट रु पाँच लाख र विभिन्न व्यक्तिसँग रु दुई लाख गरी रु सात लाख ऋण समेत लिएका छन् । 

बोजिनीका ४७ घरधुरीले पुनःनिर्माणमा सहजता ल्याउन सामूहिक रुपमा निर्माण सामग्रीको जोहो गर्ने गरेका छन् । उनीहरुले आवास पुनःनिर्माणका लागि आवश्यक सिमेन्ट, छड, बालुवा र गिट्टी सामूहिक रुपमा ल्याएका छन् ।

‘सडचालीस वटै घर निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट भैरहवाबाट ल्याएका छौँ, त्यस्तै अन्य निर्माण सामग्री पनि एकै पटक ल्याउने गरेका छौँ’ – सामुदायिक परिचालन समितिका उपाध्यक्ष तोकबहादुर श्रेष्ठले भने । त्यस्तै, उनीहरुले पालैपालो एक अर्काको घर निर्माणमा जुटेर पुनःनिर्माणमा नमूना प्रस्तुत गरेका छन् । 

‘हाम्रो टोलमा सबैका घर निर्माण भइरहेका छन्, घर निर्माण गर्न नसक्ने व्यक्तिको पनि सबै जना मिलेर घर निर्माण गरिदिएका छौँ’ – उनले भने । समितिले १५÷१५ दिनमा बैठक बसी घर निर्माणको प्राथमिकताको सूचीसमेत तय गर्ने गरेको छ । 

‘होमस्टे’ सञ्चालन गरिने

आवास पुनःनिर्माण सम्पन्न भएपछि ठूलो सिरुबारीका स्थानीयवासीले होमस्टे सञ्चालन गर्ने तयारी गरेका छन् । नेवार समुदायको मात्र बसोबास रहेको बोजिनी टोलका ४७ घरमा होमस्टे सञ्चालन गरिने समितिका उपाध्यक्ष श्रेष्ठले बताए । 

बोजिनी टोललाई नमूना बस्तीका रुपमा समेत विकास गरिने उनको भनाइ छ । टोलमा ‘एक घर एक धारा’, प्राङ्गारिक तरकारी खेती, खेल मैदान, सार्वजनिक शौचालय निर्माण गर्ने समितिले जनाएको छ ।

बोजिनीलाई नमूना बस्तीका रुपमा विकास गर्न सागाँचोकगढी नगरपालिकाले समेत सहयोग गर्ने भएको छ । नगरपालिकाले ‘एक घर, एक धारा’ कार्यक्रमका लागि रु तीन लाख र घरको रङरोगनका लागि रु दुई लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै