• २०८१ बैशाख ७ शुक्रबार

बेथिति अन्त्य गरेरै छाड्छौँ : प्रधानमन्त्री ओली

kharibot

फाइल फोटो । 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन् । 

मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिका अगाडि सरकार निहुरिँदैन । बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ । विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं ।’ 

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे । 

उनले भने, ‘कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्योे’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन् । छिट्टै मेलम्चीको पानी आउँदैछ । आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौँमा मेट्रो रेल बन्छ । कतिपय त्यत्तिकै आत्तिएका छन् । यस्ता कुतर्कको पछि नलाग्न सबैमा अग्रह गर्छु ।’

‘काठमाडौँ–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढाइने पनि उनले उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पुर्याएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने – ‘मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुन् । उनको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।’ 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा राखे । 

जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैँमा अनुपम छ भने । 

महान्यायाधिवक्ता अग्नि खरेलले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको सुन्दर पार्कले सहरी सुन्दरता कायम गर्न तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको यो पार्कले शहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताए । 

सो अवसरमा प्राधिकरणका प्रमुख आयुक्त तिवारीले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पार्कको साँचो हस्तान्तरण गरे भने उक्त साँचोलाई शाक्यले बाटिकाका कोषाध्यक्ष सुमित्रा कडरिया खरेललाई हस्तान्तरण गरे । 

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । पार्कमा मदन भण्डारीको पूर्ण कदको शालिक तथा आकर्षक रुख बिरुवासहितका बगैँचा रहेको छ । उक्त पार्कको रु तीन करोड २२ लाखको लागतमा बनाइएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै