• २०८१ बैशाख १३ बिहीबार

विद्यालय र अस्पताललाई टेलिकमको सहयोग 

kharibot

काठमाडौं । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ ।

कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक÷एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५। २५ थान कम्बल उपलब्ध गराउने कार्य सम्पन्न भइसकेको छ । 

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम रहेको छ । यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय वासिन्दालाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हालै एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठलाई कम्पनीको तर्फबाट २५ थान कम्बल हस्तान्तरण गरे । ती कम्बल अस्पतालका विरामीहरुका लागि उपयोग गरिने जनाइएको छ । 

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले वार्षिकोत्सवका अवसरमा घोषणा गरेअनुरुप सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो अस्पताललाई कम्बल वितरण गरिएको बताउदै आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पार्न सकिने बताइन् ।

उक्त अवसरमा अस्पतालका निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठले सहयोगको स्वागत गर्दै भविष्यमा थप अन्य क्षेत्रमा पनि सहयोगको हात अघि बढाउन आग्रह गरिन् । 

त्यसैगरी भूकम्पबाट अति प्रभावित जिल्लाहरुलगायत अन्य ६ वटा जिल्लाका एक एक वटा सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिने कार्यक्रम अनुसार भूकम्प प्रभावित ११ वटा जिल्लामा कार्य सम्पन्न भइसकेको छ भने लमजुङ, डडेलधुरा, उदयपुर, जुम्ला र रुकुम जिल्लाका एक एक सामुदायिक विद्यालयमा निकट भविष्यमा नै आइसिटि सेन्टर स्थापनाका लागि तयारी अन्तिम चरण पुगेको छ ।

यसैबीच नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको हालै शुभारम्भ गरिन् । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ । सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन, वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा  निःशुल्क उपलब्ध गराएको छ ।

आइसिटि सेन्टर शुभारम्भ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले इन्टरनेट सेवालाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम प्रयोग गर्न आग्रह गर्नु भयो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन कुमार वल्ल तथा विद्यालयका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले शिक्षण सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाउन टेलिकमको सहयोगको लागि आभार व्यक्त गरे ।

यी दुवै कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय, प्रबन्धक प्रतिभा बैद्य तथा प्रबन्धक रिना डंगोलका साथै अन्य सम्बन्धित कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । 

नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता विभिन्न सेवामूलक कार्यहरु गरेको हो । आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन कम्पनी प्रतिवद्ध  रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै