• २०८१ बैशाख ७ शुक्रबार

धरहरा निर्माणका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरिदैँ

kharibot

फाइल तस्बीर

काठमाडौँ । भूकम्पका तीन वर्ष हुँदै गर्दा पनि निर्माणको कुनै प्रक्रियामा जान नसकेको ऐतिहासिक महत्वको धरहरा निर्माणका लागि सरकारले प्रक्रिया सुरु गर्ने भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष २०७४-७५ भित्र नै धरहरा निर्माणका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्ने भएको हो ।

प्राधिकरणका अनुसार यही चालू आर्थिक वर्षमै धरहरा निर्माणको ठेक्का प्रक्रिया सम्पन्न गरी आगामी आवदेखि निर्माणको काम सुरु गर्ने तयारी भएको छ । प्राधिकरणका सचिव अर्जुन कार्कीले असर मसान्तभित्रनै धरहराको सिलान्यास गरिने बताएका छन् । 

२०७२ बैशाख १२ गतेको भूकम्पले काठमाडौंको सुन्धरामा रहेको धरहरा पूर्ण रुपमा क्षति भएको थियो । त्यसपछि धरहरा निर्माणका लागि सरकारले प्रक्रिया सुरु गरे पनि उक्त प्रक्रिया सफल हुन सकेको थिएन ।

सरकारले धरहरा निर्माणका लागि नेपाल टेलिकमलाई जिम्मा दिएको थियो । टेलिकमले धरहराको ऐतिहासिक महत्व नमार्ने गरी व्यापारीक प्रयोजनका लागि प्रयोग गर्ने भनेपछि  ऐतिहासिक सम्पदा व्यापारीक प्रयोजनका लागि प्रयोग नहुने भन्दै फिर्ता लिएको थियो । सोहीअनुसार गत पुसमा  मन्त्रिपरिषद्को बैठकले नै धरहरा निर्माणको काम प्राधिकरणले नै गर्ने गरी जिम्मा दिएको थियो ।

धरहरा निर्माणको प्रक्रिया पहिला नै सुरु गरिने भए पनि त्यहाँका स्थानीयबासी तथा सरोकारवालाहरुले धरहरा निर्माण गर्नु पहिला माटो परिक्षण गरी वास्तविकता जानकारी दिन आग्रह गरेपछि प्राधिकरणले अहिले धरहरा निर्माणका लागि माटो परिक्षणको काम गरिरहेको छ । 

एक हप्ताभित्रमै धरहरा निर्माण स्थलको माटो परिक्षणको नतिजा आउने र त्यसपछि धरहरा निर्माणका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरिने तयारी गरिएको छ ।

राष्ट्रियस्तरमा मात्रै धरहरा निर्माणका लागि जनशक्ति पर्याप्त तथा दक्षता नहुने भन्दै प्राधिकरणले अन्तर्राष्ट्रिय टेण्डर आह्वान गर्न लागेको छ । त्यसलगत्तै प्राधिकरणले धरहरा निर्माणको काम अघि बढाउने भएको छ । धरहरा निर्माणका लागि करिब चार अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ ।  

वर्तामान प्रधानमन्त्री केपी शर्मा ओली योभन्दा पहिला पटक प्रधानमन्त्री भएको बेला ‘मेरो धरहरा, मै बनाउछु’ भन्ने अभियान नै सञ्चालन गरेका थिए । अहिले धरहरा निर्माणका लागि स्वदेशी लगानी जुटाउनका लागि अभियानको पहल गरेका प्रधानमन्त्री ओलीले अब धरहरा निर्माणलाई प्राथमिकता दिनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । उक्त अभियानमा पनि करोडौँ रुपैयाँ संकलन भएको छ । तर पनि धरहरा निर्माणको कामले भने यो तीन वर्षको अवधिसम्ममा कुनै उपलब्धी हासिल गर्न भने सकेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै