काठमाडौं । नेपाली काँग्रेसका ६ जना युवा नेताहरुको समूहले यथाशीघ्र महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठकमा संयुक्त दस्तावेज पेश गरेका छन् ।
यसरी संयुक्त दस्तावेज पेश गर्ने युवा नेताहरुमा गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङ, गुरु घिमिरे र बद्रि पाण्डे रहेका छन् ।
मंगलबारको बैठकमा युवानेताहरुको तर्फबाट केन्द्रीय सदस्य गगन थापाले पेश गरेको ५१ पन्ने दस्तावेजमा नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने उल्लेख गरिएको छ ।
दस्तावेजमा महासमिति बैठकबाटै संशोधित विधान परित गरी यथाशीघ्र महाधिवेशनमा जानुपर्ने उल्लेख गरिएको छ ।
दस्तावेजमा पार्टीको नेतृत्वका विषयमा उल्लेख गर्दै पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको उल्लेख गरिएको छ ।
पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका त कोर्यौं् तर, त्यसलाई चलाउने नेतृत्व सिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशिलता कसरी आउँछ ?
दस्तावेजमा पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतिर लाग्न पनि आग्रह गरेका छन् ।
हालै सम्पन्न निर्वाचनका सम्बन्धमा कांग्रेसको हार र अबको कार्यदिशा के हुने भन्ने दस्तावेजमा उल्लेख गरीएको छ । दस्तावेजमा कांग्रेसले आफ्नो मैदान ७५ प्रतिशत खाली छोडिदिएकोले कम्युनिष्ट आएर खेल जितेको उल्लेख गरेका छन् ।
‘खेल मैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरूले अत्यधिक राम्रो खेलेका हुन त ? होइनन् । तर हामीले २०४८ देखि खेल मैदानको ठूलो हिस्सा खाली छोडेर सानो हिस्सामा सिमित भएपछि स्वाभाविक रूपले चुनावी नतिजा पनि झन् भन्दा झन् बढी हाम्रो प्रतिकुल हुँदै गयो। उनीहरूको कुनैपनि सैद्धान्तिक मोर्चामा हामीले प्रश्न उठाउन सकेनौं,’ दस्तावेजमा भनिएको छ ।
आफू सरकारमा रहँदा कांग्रेसले गरेका गल्तीको फाइदा कम्युनिष्टले लिए पनि त्यसको प्रचार नभएको, सामाजिक मुद्दामा कांग्रेसपछि परेको लगायतका विषयमा पनि उल्लेख गरिएको छ ।
क्रियाशील सदस्यले नेता चुन्ने विधिदेखि सिद्धान्त परिवर्तनका विषयमा गम्भीर छलफल नगरी युगअनुसारको पार्टी नबन्ने भन्दै क्रियाशील सदस्यले नेता चुन्ने परिपाटी अन्त्य गरेर साधारण सदस्यले चुन्ने विधि निर्माण गरेमात्र पार्टी सबैको साझा बन्ने धारणा प्रतिवेदनमा उल्लेख छ ।
पार्टीले आफैँ सामाजिक आन्दोलनको नेतृत्व गरेर ती मुद्दासँग जोडिएका नयाँ मान्छेलाई आकर्षित गर्ने अवसरबाट पनि कांग्रेस चुकेको निष्कर्षमा नेताहरू पुगेका छन्।
‘गएको २६ वर्षमा हामीले पार्टीमा नयाँ मानिस भित्र्याउन सकेनौं’ प्रतिवेदनमा भनिएको छ, ‘यो अवधिमा हामीले १२ प्रतिशत मत मात्र बढाएको भए त अहिले सबै पार्टी मिल्दा पनि हामीले जित्थ्यौं, कम्युनिष्ट मिले त्यसकारण हारियो भन्ने तर्क गर्नुपर्ने अवस्थै आउने थिएन।’
दस्तावेजमा नेपालका कम्युनिष्टहरुले काँग्रेसले अंगालेको राजनीतिक विचार र सिद्धान्तलाई अंगालेको उल्लेख गरिएको छ । नेपालका अकम्युनिष्टहरुले आफ्नो सुबिधा अनुसार बदलिने चरित्र देखाएको आरोप दस्तावेजमा लगाइएको छ ।
दस्तावेजमा संबिधान निर्माण पछिका घटनाक्रमलाई उल्लेख गर्दै संविधानको असन्तुष्टि सम्बोधन, नाकाबन्दीमा मौनता, सुशील कोइरालाको प्रधानमन्त्री पदमा केपी ओलीविरुद्धको उम्मेद्वारी, स्थानीय निर्वाचनमा माओवादी केन्द्रसँगको सहकार्य, सरकार संचालनमा बेथिति, पार्टी संगठन भित्रको बेथिति, अस्तव्यस्त निर्वाचन परिचालन जस्ता विषयलाई बुँदागत रुपमा उठाउदै पार्टी नेतृत्वले गरेको कमजोरीलाई उजागर गरेका छन् ।
दस्तावेजमा आफुहरु प्रभावशाली नेताको कोटा मा नपरेकोले आफुहरुले भन्ने ठाउ केन्द्रीय समिति नै रहेको भन्दै लहड र व्यक्तिगत महत्वकांक्षाका आधारमा निर्णयहरु गरिएकाले अहिले यस्तो भएको बह्न्दै अब देखि त्यस्तो हुन् नदिने उल्लेख गरेका छन् ।
दस्तावेजमा महासमितिबाट पार्टीको नयाँ संरचना निर्धारण गरेर तत्काल महाधिवेशनमा जान भनिएको छ ।