• २०८१ बैशाख ६ बिहीबार

नमूना मध्यवर्ती सामुदायिक वनमा गिद्ध छोडिदै

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका थप सात वटा गिद्ध जंगलमा छोड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । यसअघि चैतको अन्तिम साता छ वटा गिद्ध त्यहाँ लगिएको थियो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गत वर्षका चार बच्चा, एउटा भाले माउ र दुई पोथी माउ गरी सात गिद्ध लगिएका थिए । यसअघि चैतमा गतवर्ष चार बच्चा र एक जोडी माउ गिद्ध जटायू रेष्टुरेण्ट पठाइएको थियो । खोरमा राखिएका ती गिद्ध केही महिनाअघि खुल्ला छाडिएको हो । 

अहिले लगिएका १३ वटा गिद्ध पनि सोही खोरमा राखिएको छ । केही महिनापछि ती गिद्धलाई खुल्ला छाडिने जानकारी दिंदै उहाँले खोर बाहिर पनि गिद्धका लागि सिनो र पानी राखिएको छ । खोर बाहिर खाना खान आउने गिद्ध र भित्रका गिद्धका बीचमा घुलमिल बढाएर भित्रका गिद्धलाई प्रकृतिमा छाड्ने गरिएको छ भने । 

हाल प्रजनन केन्द्रमा ५० गिद्ध छन् तिनबाट २१ वटा अण्डा पारिएपनि छ वटाबाट मात्रै बच्चा कोरलिएका छन् । नयाँ जोडीले अण्डा पारेका र चार वटा भुइँमा पारेकाले सबै अण्डा कोरलिन नसकेका हुन् । 

प्रजनन केन्द्रमा डाइक्लोफिनरहित राँगाको मासु गिद्धलाई खुवाइँदै आएको छ । प्रकृतिमा गिद्ध लोप हुँदै गएपछि सरकारले गिद्ध संरक्षण कार्य शुरु गरेको हो । प्रजनन केन्द्रमा गिद्ध हुर्काएर प्रकृतिमा छाड्ने यो अभियान विश्वमा नै नेपालमा सफल भएको मानिन्छ । 

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा संरक्षण गरी राखिएका १९ वटा गिद्धलाई खुल्ला छाड्ने योजना बनाएको छ । 

खुल्ला छाडिने गिद्धमा रेडियो फ्रिक्वेन्सीसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको हो । 

गोहीको अण्डा संकलन 

राप्ती र नारायणी नदीको बगरमा घडियाल गोहीले पारेका अण्डा संकलन गरिएको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्ती नदीको सौराहादेखि कसरासम्म नदी किनारमा अण्डा संकलन गरिएको हो । राप्ती नदीमा दश वटा गुँड फेला परेकामा तीन वटा गुँड छाडेर सात वटा गुँडको अण्डा संकलन गरिएको उनले बताए । 

नारायणी नदीमा गोलाघाटदेखि त्रिवेणीसम्म छ वटा गुँड फेला परेकामा चार वटा गुँड छाडेर दुई वटा गँुडको अण्डा संकलन गरिएको सहायक संरक्षण अधिकृत खड्काले बताए । 
उहाँले भन्नुभयो, “उज्यालोमा अण्डा संकलन ग¥यौँ, रातको समयमा ती अण्डालाई डुङ्गामा राखेर प्रजनन केन्द्रसम्म ल्यायौँ ।” गाडीमा अण्डा बोक्दा हल्लने भएकाले डुङ्गाबाट ल्याउने गरिन्छ । 

ती गुँडमा करीब ३०० वटा अण्डा संकलन भएको छ । हरेक वर्ष चैत महिनामा गोहीले नदी किनारमा खाल्टो खनेर अण्डा पार्ने गर्छ । संकलित अण्डालाई बालुवामुनि राख्ने गरिन्छ । जेठको अन्तिमसाता बच्चा आफैँ कोरलिन्छ ।

कोरलिएका गोहीका बच्चालाई प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिएको छ । हालसम्म राप्ती, नारायणी, कालीगण्डकी, कोशी र बबईमा गरी एक हजार ३६५ गोही नदीमा छाडिसकिएको छ । हाल प्रजनन केन्द्रमा ५०० हाराहारीमा घडियाल गोही छन् । 

पछिल्लो गणनाअनुसार राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ वटा गोही छाडिसकिएको छ । यो वर्ष १२० वटा गोही छाडिएको छ । विसं २०४९ बाट नदीमा गोही छाड्न थालिएको हो ।

निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्ने र हुर्काउने गरिँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै