• २०८१ बैशाख ७ शुक्रबार

कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन छलफल 

kharibot

भक्तपुर । यही वैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा ११ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन यहाँ केन्द्राध्यक्षको गोष्ठी सञ्चालन भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौँले आयोजना गरेको गोष्ठीमा सहभागीले भक्तपुरमा परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्ने प्रतिबद्घता जनाएका छन् ।

नियमित विद्यार्थीका हकमा सम्भव भएसम्म पोशाक अनिवार्य गर्न, परीक्षा कक्षमा परीक्षार्थीले लगबुक, ग्राफपेपर, क्यालकुलेटर, गोश्वारा भौचर, कलम, मसी, इन्स्ट्रुमेन्ट बक्स र मलेप फाराम मात्र लान पाउने व्यवस्था गर्ने, परीक्षा सञ्चालन अवधिमा समस्या आएमा सम्बन्धित निकायमा टिपाउने र प्राप्त निर्देशनबमोजिम परीक्षा सञ्चालन गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् । 

कार्यक्रममा प्रजिअ एवं जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष द्रोण पोखरेलले उपलब्ध स्रोत साधनलाई अधिकतम प्रयोग गरेर भक्तपुरमा कक्षा ११ र १२ को परीक्षालाई नमूनाका रुपमा सञ्चालन गर्न सरोकार भएका सबैलाई आग्रह गरे । परीक्षा बोर्ड शाखा कार्यालय काठमाडौँका प्रमुख जंगबहादुर अर्यालले परीक्षाको आचारसंहिता पूर्णरुपमा पालना गर्दै काम गर्न आग्रह गरे । 

जिल्ला शिक्षा विकास तथा समन्वय समितिका प्रमुख अर्जुन रायमाझीले नयाँ संरचनामा सबैको चासो रहने कक्षा ११ र १२ को परीक्षा थप मर्यादित बनाउन सरोकार भएका सबैको उत्तिकै जिम्मेवारी रहेको बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै