• २०८१ बैशाख १३ बिहीबार

काँग्रेस बैठक : नेतृत्वको आलोचना मात्र गरेर कार्यकर्तामा निराशा नल्याउन आग्रह 

kharibot

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको नेतृत्वको आलोचना मात्र गरेर आम कार्यकर्तामा निराशा नल्याउन आग्रह गरेका छन् ।
जारी बैठकमा विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा बोल्ने केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा सम्बन्धमा नेतृत्व तहमै आरोपप्रत्यारोप गर्दा कार्यकर्तामा थप निराशा हुने बताउँदै पार्टी सुधारका लागि अघि बढ्न सुझाव दिए । 

केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ अपेक्षित सिट ल्याउन नसकेपनि लोकप्रिय मतका आधारमा काँग्रेस पहिलो पार्टी नै रहेको बताउँदै निर्वाचनमा ठूलो पराजय भयो भनेर आत्तिनुभन्दा पार्टीलाई आगामी दिनमा सशक्त बनाई अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

निर्वाचनमा दुई ठूला कम्युनिष्ट दल एक भएर चुनाव लडेका कारण काँग्रेसले प्रत्यक्षतर्फ कम सिट ल्याएपनि समानुपातिकतर्फ अपेक्षित परिणाम नै प्राप्त गरेको उनले बताए । 

केन्द्रीय सदस्य विश्वकर्माले विधान परिमार्जन गरी पार्टीलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै आगामी दिनमा काँग्रेस एक ढिक्का भई वर्तमान सरकारका गलत कदमविरुद्ध सशक्त प्रतिपक्षका रुपमा उभिनुपर्नेमा जोड दिए । 

केन्द्रीय सदस्य रत्न शेरचनले वाम दलबीचको गठबन्धन, पार्टीमा भएका कमीकमजोरी नसच्याउनु, टिकट वितरण गर्दा पार्टीमा योगदान दिएका भन्दा आफ्ना मान्छेलाई प्राथमिकतामा राख्नु, मनोनयनको अघिल्लो दिनसम्म पनि टिकटको टुंगो नलाग्नुलगायत कारणले पार्टी पराजय भएको धारणा राखेका थिए । 

केन्द्रीय सदस्य अजयकुमार चौरसियाले काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोरे पनि मुलुकमा सबै ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेकाले पार्टीको साख राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा उच्च रहेको धारणा व्यक्त गरे । 

निर्वाचनका बेला लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउन भित्रभित्रै कम्युनिष्ट पार्टी र मधेसवादी दलबीच समेत चुनावी गठबन्धन भएको उल्लेख गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता सिद्धान्त लिएर स्थापना भएकाले काँग्रेसले नै मुलुकमा लोकतन्त्र संस्थागत गर्ने बताए । 

केन्द्रीय सदस्य चौरसियाले काँग्रेसको नेतृत्वमा भएका राम्रा काम जनतासमक्ष पुर्याउन नसक्नु पार्टीको कमजोरी भएको उल्लेख गर्दै पार्टीभित्रको अन्तर्घात पनि पराजयको कारण भएको बताए । 

अर्की केन्द्रीय सदस्य सुजाता परियारले पार्टीमा सामूहिक नेतृत्वको अभ्यास भएकाले पार्टीका क्रियाकलाप र निर्वाचनको परिणामका बारेमा जसअपजस सिंगो पार्टीले लिनुपर्ने बताउँदै चुनावको बेला टिकट वितरण गर्दा कुनै प्रतिक्रिया नजनाउने नेताहरुले निर्वाचन परिणामपछि पार्टी सभापतिमाथि मात्रै दोष थोपार्नुको कुनै अर्थ नभएको टिप्पणी गरिन् । 

पार्टीले प्रत्यक्षतर्फ पराजित व्यहोरेपनि समानुपातिक निर्वाचन तर्फ कम मत नआएको उल्लेख गर्दै काँग्रेसले आफू चुनावमा हारेर भए पनि संविधान कार्यान्वयनका लागि सबै प्रकारका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर इतिहास रचेको बताइन् । 

नेतृत्वमा आरोपप्रत्यारोप हुँदा कार्यकर्तामा निराशा हुने बताउँदै केन्द्रीय सदस्य परियारले पार्टीको विधानलाई समय सापेक्ष परिमार्जन गरी नयाँ संरचनाअनुसार सुदृढीरणको आवश्यकता औँल्याइन् । 

बैठकमा केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, चन्द्र भण्डारी, कमला पन्त, अम्बिका बस्नेत, किरण यादव, ध्यानगोविन्द रञ्जित र आमन्त्रित सदस्य आनन्द (गोरख) विष्टले निर्वाचन समीक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । 

समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक मंगलबार बिहान ८:३० बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै