• २०८१ बैशाख १३ बिहीबार

सरकारले गरेको भर्ना अभियान नौटंकी मात्रै हो – शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला

kharibot

काठमाडौँ । सरकारले अहिले विद्यार्थी भर्ना अभियान चलाएको छ । दिनहुँ जसो प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, संसदहरुले बिद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको समाचार आइरहेको छ । यसैबीच खरीबोटका लागि सकला दवाडीले शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालासँग सरकारको विद्यार्थी भर्ना अभियानका बारेमा कुराकानी गरेकी छन् । प्रस्तुत छ प्रा.डा. कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश :

सरकारले भर्ना अभियान सुरु गरेको छ, यसलाई कसरी हेर्नु भएको छ ?

सरकारले  गरेको भर्ना अभियान नौटकी मात्रै हो । यो सरकारले २-४ जना बच्चा समातेर फोटो खिच्ने काम गरेको छ । र यो सरकारको लागि सुहाउदो कार्य होइन यो त एनजीओहरुले गर्ने काम हो । 

विद्यार्थीलाई स्कुल ल्याउने काम स्थानीय सरकारको हो । स्कुल भित्त्र्याउने पनि उनीहरुकै काम हो , सिकाउने र बिकाउने पनि स्थानीय सरकारकै काम हो । एक किसिमले हेर्दा स्थानीय सरकारलाई ठुलो जिम्मेवारी छ । यस जिम्मेवारी पुरा गर्नको लागि  स्थानीय सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आउनु पर्दथ्यो केन्द्र सरकार । 

स्थानीय सरकारलाई कसको घरमा  को को बच्चा स्कुल गएको छैन भन्ने जानकारी हुन्छ । स्थानीय सरकारलाई यी बच्चाहरुलाई कसरी स्कुल पुर्याउन सकिन्छ भन्ने पनि थाहा छ । उसको बाबु छैन, आमा छैन उसले आफैले कमाएर खानु पर्छ भन्ने पनि उनीहरुलाई राम्रोसँग थाहा छ । स्कुल आउन बाटोघाटोको अभाव छ, स्कुल आउनलाई बाटोमा यस्तो समस्या छ । त्यसको लागि के गर्नु पर्छ भनेर स्थानीय सरकारले आफै भन्न सक्छ । बाटोको  यो ठाँउमा पुल बनाउन पर्ने छ भन्ने लगायतका जानाकारी स्थानीय सरकारसँग नै हुन्छ । त्यसैले भर्ना अभियान सफल बनाउनको लागि सबै जिम्मेवारी स्थानीय सरकारसँग हुन्छ । 

नेताहरुले जनमुखी ब्यवहारिक भएन भन्छन् यो हावादारी  कुरा मात्र हो । सिकाउने शिक्षकले हो । नेताले त्यो शिक्षा बर्बुजा भयो काम लागेन जनमुखी भएन भनेर हावा कुराकानी गरेर हुदैन । नेताको लागि चाहिँ जनमुखी व्यवहारीक वैज्ञानिक सबै हुने हामीलाई नहुने  भन्ने हुन्छ र ? 

यो बोल्नु नपर्ने कुराकानी बोलेको हो । शिक्षकलाई  आहा ! कस्तो मज्जाको कुरा सिक्नुभएछ तपाईले साह्रै राम्रो गर्नु भयो भन्दै जनमुखी कसरी बनाउन सकिन्छ होला है भनेर सोध्ने यसो गर्यो भने बन्छ की बनाउन त लौ भन्ने यसो गर्दा केटाकेटीलाई सिक्ने तरिका थाहा हुन्छ । यो शिक्षाले रोजगारी दिएन राम्रो भन्नुभयो तपाई कसरी रोजगारी उन्मुख बनाउन सक्नुहून्छ ? के गर्ने होला भन्नु न ? हो यस्तो काममा कम्तीमा मन्त्री प्रधानमन्त्रीहरु लाग्नुपर्छ भन्ने मेरो ठम्याई हो । 

मैले शिक्षामन्त्री गिरिराज मणी पोखरेललाई र गंगालाल तुलाधारलाई पनि उहाँहरुकै अगाडि तपाईहरुले गरेको काममा मेरो सिधै विमति छ  भनेर भनेको छु । 

अहिले पनि ३ लाख विद्यार्थी स्कुल बाहिर छन् , यस्तोमा भर्ना अभियानको राम्रो पक्ष पनि त छन् नि हैन र ?

गर्न नपर्ने काम गरेको हो । एनजीओले गर्ने जस्तो काम गरेको छ । एनजीओ एउटा बच्चालाई १ कक्षादेखि मास्टरसम्म हेर्ने काम गरेको छ । यो काम सरकारको होइन । सरकारले भर्ना अभियानको विभिन्न तरिकाहरु मध्ये एउटा तरिका चाँहि अभिभावकत्व लिने गर्न सक्थ्यो, यसरी अगाडि बढ्नु पर्दथ्यो । 

यहाँको विचारमा कस्तो खालका विद्यार्थी विद्यालय बाहिर छन् ?

शिक्षाको स्वाद नभएका जो विद्यालय नै जादैनन् । पढे ठुलो मान्छे हुन्छ, पढे असल मान्छे हुन्छ, पढे देखि दुख गर्नु पर्दैन पढे यसो गर्नु पर्छ भन्ने नै नभए पछि उसले स्वादै पाएन । 

पढेर के हुन्छ र भन्ने बाबुआमाको दृष्टिकोण भएका बाबुआमाको सन्ताहरु विद्यालय भन्दा बाहिर छन् । हाम्रो मान्छे छैन काम पाइदैन भन्ने खालका मान्छेहरुको जमात पनि छ । मान्छेले  सहयोग गर्ने मान्छे खोज्दछ । 

आर्थिक हिसावले विपन्न समुदायका विद्यार्थी पनि विद्यालय बाहिर छन् । जसको आर्थिक अवस्था एकदमै कमजोर छ ।  

पढ्ने संस्कार नभएको, बाहुन छोराछोरी सुखदुःख गरेर भए पनि स्कुल जान्छन , दलित जनजातिका केटाकेटी नपढेनी हुन्छ भन्ने किसिमले अगाडि पढेको पाइन्छ । 

स्कुल गइसकेपछि केटाकेटीले मान खोज्ने रहेछन । मेरो इज्यत होस मलाई माया गरोस भनेर खोज्दछन् । घरमा त आमा एक थप्पड लगाए पनि पछि यसले खान पाएन भनेर खान दिनुहुन्छ आमाकै पछि लाग्छन् । बाबुले एक चोटी हकार्यौ भने पनि बुवा भनेर तत्कालै पछि लाग्छन । तर स्कुलमा शिक्षकले पिटे पछि माया गर्न जान्दैन । शिक्षकमा कस्तो असजिलो रहेछ भने गालि गर्न जान्ने माया गर्न नजान्ने । 

उसकै साथीहरुसँग फेरी अर्को किसिमको कुराकानी हुने रिस उठाइदिने हेर तेरो त गालामा यस्तो नराम्रो कोठी छ । फोहोरी छस् भनेर जिस्काउने गर्दछन  । र उनीहरु स्कुल जान गाह्रो मान्दछन् । 

केटाकेटी स्कुल नजानुमा धेरै कारणहरु छन् । आर्थिक मात्र हो भन्न पनि गाह्रो छ । वोर्डरका विद्यार्थीहरु कमाउछन तर स्कुल जादैनन उसले पैसा कमाउनलाई स्कुल जान पर्दैन भनेर बुझेको हुन्छ । 

किन विद्यालयमा टिक्दैनन बच्चाहरु ?

एउटै मकैको घोगामा पनि फरक दाना हुन्छन् । यसरी हेर्दा स्वभाविक रुपमा सबै जना फरक फरक हुने नै भए ।  पढ्ने र छोड्ने खालको विद्यार्थीलाई एउटै सिकाईले भएन । यसको लागि सुधारात्मक कक्षाको व्यवस्था हुनु पर्दछ , सिकाईमा गरेर खाने सीपलाई जोड दिनु पर्दछ । गरेको कामलाई प्रोत्साहन दिने काम पनि गर्नु पर्दछ । जस्तो आरनको कुरो विज्ञानसँग हुन्छ, हलोको कुरा गणितसँग जाडिएको हुन्छ । शिक्षण प्रक्रियालाई यसरी लैजादाँ टिकाउन मदत पुग्दछ । 

हाम्रो समग्र स्कुलको सिकाइ प्रक्रिया  सन्तोषजनक छ त ? 

ठिक छैन । मैले शिक्षक साथीहरुलाई बारम्बार के भन्ने गर्छु भने सिकाइ प्रक्रिया बदल्ने, कुन लेभलको ? मेरो प्रश्न सजिलो छ । गाँउघरको मान्छे, गाँउघरकै उदाहरण दिउँ, हलो जात्ने मान्छले हलो घोसे भयो भने ठाँडो बनाउने कुराकानी हलीलाई नै थाहा छ । गोरुलाई फाली लाग्यो भने नलाग्ने बनाउने पनि उसैलाई थाहा छ । लामो भए गोरुलाइे गाह्रो भयो भने सजिलो बनाउने पनि उसैलाई थाहा छ । यसरी नै शिक्षणको तरिका पनि शिक्षकलाई नै थाहा छ ।  शिक्षण प्रक्रिया विग्रीयो कसरी सुधार्न सकिन्छ भनेर पनि शिक्षकलाई नै थाहा छ ।  

अनि हाम्रो पढाइको पाठ्यक्रम कस्तो छ ?

हर सिकाइ जिन्दगीमा काम लाग्ने किसिम  हुनुपर्दछ । पाठ्क्रमलाई हाम्रो जीवनको दैनिक सिकाईसँग जोड्नु पर्दछ । पाठ्क्रममा व्यवहारिकतालाई जोड दिनु पर्दछ । पाठ्क्रमा भन्दा पनि पाठ्पुस्तकमा समस्या छ हरेक शिक्षकले पाठ्यक्रमा आधारित भएर पढाउदैन शिक्षकले पाठ्यपुस्तकमा आधारित भएर पढाउछ । पाठ्पुस्तक दैनिक कामकाजसँग जोडिने खालको हुनु पर्दछ ।

अब अहिले स्कुल पाठ्यक्रमको स्थानीय स्वरुप कसरी निर्माण गरिएको छ ?

संघको पाठ्यक्रमले राष्ट्रिय र अन्तराष्ट्रिय शिक्षालाई जोड्दछ । यहाँ दश पास गरेको विद्यार्थीअर्को देशमा पनि दशै कक्षाको योग्य बनाउनु पर्यो नि त । यसको लागि संघ सरकारले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादनको लागि  ५० प्रतिशत पाठ्क्रम बनाउछ । 

संरचना अनुसार प्रदेशले २५ प्रतिशत पाठ्क्रम बनाउन पाउछ उसले अर्को प्रदेशसँग मिल्दो प्रतिस्पर्धी पाठ्यक्रम बनाउनु पर्ने हुन्छ  । प्रदेशको पाठ्यक्रम चाहिँ प्रदेश पिच्छे फरक हुन सक्ला अथवा निश्चित क्षेत्र छुट्याएर गर्न सकिन्छ । 

गाँउपालिकालाई २५ प्रतिशत  पाठ्क्रम निर्माण गर्ने अधिकार हुन्छ । जस्तो सिन्धुली सुनकोशी गाँउपालिकामा कसरी तरकारी कसरी उत्पादन भण्डारण र बजारिकरण गर्ने भन्ने विषयमा आधारित भएर २५ प्रतिशत पाठ्क्रम निर्माण गर्दैछ ।

फलफुल कसरी प्रोसेसिङ गर्ने, अन्न कसरी प्रोसेसिङ गर्ने भन्ने कुरा स्थानीय उत्पादनमा आधारित रहेर स्थानीय सरकारले बनाउन सक्ने भयो । शिक्षण सिकाईमा यो किसिमको प्रक्रिया हुनु जरुरी छ । पर्यटकीय स्थलमा सोही अनुसारको पाठ्यक्रम निर्माण गर्न सकिने भयो । स्थानीय पाठ्यक्रम ,स्कुल तथा गाँउपालिका अनुसार हुन सक्ने भया अथवा एउटा क्षेत्र पिच्छे फरक हुन सक्ने भयो । जस्तो भक्तपुरमा नेवारको पहिचानको पाठ्क्रम बनाउने मुर्ति के रहेछ, नेवारले बनाएको मन्दिर के रहेछ । 

पाठ्क्रमा निर्माण दुई तरिका अपनाउन सकिन्छ । एउटा विषय नै छुट्टै राखेर पढाउन सकियो भने अर्को हरेक विषयमा २५ प्रतिशत पाठ्यक्रम स्थानीय आवश्यकता अनुसार बनाउन सकिने भयो । 

एउटा विषय नै तोकिदिने जस्तो संघले यो यो विषय तोकिदिने र ५-७ वटा विषय तैले पढ्नै पर्छ भनिदिने । प्रदेशले यति स्थानीयले यति भनेर तोक्ने ।

दोस्रो चाहि के हुन सक्छ भने हरेक विषयमा २५ प्रतिशत समावेश गर्ने  उदाहरणको लागि गणितमा २५ प्रतिशत स्थानीय विषयबस्तु राख्ने जस्तै  एक टुकनी मासु माग्दा बुझ्दैन हो यो बुझाएर पढाउनु पर्यो । कति लामो छ भन्दा एक हात तिन अमल लामो छ ।  यसरी भन्दा एक हात भनेको कति हो भनेर बच्चाहरुले बुझ्ने किसिमको सिकाईको लागि पाठ्यक्रम राख्नु पर्यो । यसरी नै सामाजिक नेपाली लगायतका विषयलाई मिलाएर लैजान सकिने भयो । 

पढाउने सातै प्रदेशको ३५ गाँउपालिका नगरपालिका घुमीसकेको मेरो अनुभवमा नम्बर एकमा  उनीहरुले सर्वे गरिसकेका छन् । सर्वे गर्ने पनि डिजाइन रहेछ दोस्रो वडाध्यक्षको अध्यक्षतामा सर्वे गर्ने टिम बनाउदछन् । नआएका विद्यार्थीलाई कसरी स्कुल ल्याउन सकिन्छ भनेर छलफल गर्दछन् । टोलमा गएर पढाउने र घरमा जाने घरमा जाने चाहिँ विषेश गरी अपाङ्ग केटाकेटीको लागि । अहिले रेडिया, टिभि र मोबाइलबाट पढाउने उपायहरु पनि आएका छन् । 

शिक्षकलाई राजनितिक दलले प्रयोग गरे । मनमोहन अधिकारीले पनि आफु प्रधानमन्त्री हुदा त्यहि भन्नु भएको थियो । मन्त्रीहरुले पनि सोच बदल्नु भएको छ हिजो ढुङ्गा हान्न सिकायौ आज पढाउन कसरी सिकाउने भन्ने कुरा सिकाउन आवश्यक रहेको महशुस गर्नथालेका छन् । 

तपाइँको कुरा सुन्दा पहिला शिक्षकलाई सक्षम बनाउनु आवश्यक देखियो, यो कसरी हुनसक्छ ? 

शिक्षकलाई राजनीतिक दलले हिजो ढुङ्गा हान्न सिकाए । विरोध गर्न जान्नेलाई कसरी समर्थन गर्न सिकाउने प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेलसँग १३ सय शिक्षकसँग बसेर कुरा गर्दा  मन्त्रीहरुले पनि सोच बदल्नु भएको छ हिजो ढुङ्गा हान्न सिकायौ आज पढाउन कसरी सिकाउने भन्ने कुरा सिकाउन आवश्यक रहेको महशुस गर्न थालेका छन् ।

यो भनेको के हो भन्दा नेतृत्वबाट पहिला यो यो पार्टीको शिक्षक, पत्रकार, लगायतको नाममा विभाजित थिए । सबै पार्टीलाई मान्छे चाहिन्थ्यो अव त मान्छे चाहिदैन् । अव त बनाउनु पर्नेछ । कसरी शिक्षक राम्रो बनाउने त ? यसको लागि म जस्ता मान्छेले गर्ने काम भनेको शिक्षकलाई जिस्काउने हो । शिक्षकलाई सोध्ने कति पढाउनुभयो ? १० वर्ष भन्छ फरी सोध्ने १० वर्षमा नयाँ केही सिक्नुभयो ? १० वर्ष पहिले र अहिलेको विद्यार्थी उस्तै छन् । नयाँ पुस्ताले जान्दछ भन्ने कुरा शिक्षकलाई बुझ्नु पर्यो । राम्रो गरेकोलाई गाँउपालिका नगरपालिका भित्रबाट सबैले हौसला दिने गर्नु पर्दछ । नयाँ करा त युट्युव फेसबुकबाट पठाइदिने भाइबरबाट कनै एउटा माध्यमबाट पठाइदिने यति गरिदिए पुग्छ । 

अन्तत : कुनै स्कुलमा राम्रो पढाई होला ,कुनै ठिकै हाला कुनै कमजोर होला यस्तो समस्या हुन सक्छ । जहाँ पढे पनि विद्यार्थीको दोष छैन । त्यो तिनवटैको पढाई समान बनाउनको लागि मुल्याङ्कन गरिनु पर्दछ । यो स्कुलको यी बच्चाको पढाई राम्रो छ । यसको यहाँ कमजोर छ यति गरे पुग्छ भन्ने कुरा गरिदिएर कमजोरलाई औल्याइदिएर सुधारको बाटो देखाइदिए पुग्छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै