• २०८१ बैशाख १३ बिहीबार

नारायण गोपाल चोक–गोंगबु नयाँ बसपार्क सडक किनारका अतिक्रमण भत्काइए

kharibot

फाइल तस्विर

काठमाडौँ । चक्रपथ सफाइको २० औँ हप्तामा आज चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ । 

यो क्षेत्रको दायाँ बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण सामग्री थुपारिएको थियो । 

टहरा भत्काउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्रनाथ खनाल, पूर्व श्रम तथा यातायात मन्त्री रबिन्द्र खनाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसी, संयुक्त राष्ट्र संघका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा जयराज आचार्य, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन लगायत ८०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । 

चक्रपथ क्षेत्रको आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राजधानी शहर काठमाडौँलाई सुन्दर बनाउन भाषण भन्दा काम गर्ने समय आएको बताए । 

आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 

वाग्मती सफाइ महाअभियानको २२४ औँ हप्तामा आज पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो । 

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, न्यानो स्पर्श, पहिलो पाइला, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाई, गायत्री परिवार, नेपाल विज्ञापन संघ, साया समूह, कुपण्डोल फ्रेण्ड्स् क्लब, प्राकृतिक प्रकोप नियन्त्रण, भूकम्प तथा दैवी प्रकोप संरक्षण संस्था, गुण हाउजिङ, ब्लु क्रस अस्पताल एम्बुलेन्स सहित लगायत २० संस्थाका प्रतिनिधिको सहभागिता थियो । 

सफाइमा अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, वाग्मती अभियन्ताहरु अर्जुन धरेल, टंकराज आचार्य, नारायणकुमार श्रेष्ठ, हेमराज कार्की, मेघ आलेलगायत ५०० जनाको सफाइमा सक्रियता थियो । 

गुह्येश्वरी माथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले १८५ औँ हप्ताको सफाइ गोठाटार पहेँलो पुलमुनि र हनुमान वाटिका क्षेत्रमा गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० भन्दा बढीको उपस्थिति थियो । 

रुद्रमती सफाइको १८३ औँ हप्तामा आज रातोपुलदेखि शहिद मार्ग हुँदै सानो गौचरण–ज्ञानेश्वर हुँदै पुनः रातोपुलसम्म सफाइसहित जनचेतनामूलक घरदैलो कार्यक्रम गरियो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वडा सदस्यसहित १५० भन्दा बढीको सहभागिता थियो । 

विष्णुमती सफाइको १५५ औँ हप्तामा आज मनमैँजु पुलमा जम्मा भई तारकेश्वर मन्दिरसम्म जनचेतनामूलक अभियान गरी मन्दिर परिसरमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ४०० भन्दा बढी सहभागी थिए । 

यसैबीच सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको २० औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगंगास्थित वाग्मती नदी किनारमा तिलगंगा महिला समूहले आयोजना गरेको सफाइमा करिब एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । 

अर्को शनिबार २२५ औँ हप्ताको वाग्मती सफाइ सिनामंगल पुलस्थित वाग्मती नदी किनारमा गरिने सफाइ अभियन्ता नारायणकुमार श्रेष्ठले जानकारी दिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै