• २०८१ बैशाख १३ बिहीबार

‘प्लाष्टिकजन्य प्रदूषण रोकौँ’ – पृथ्वी दिवस

kharibot

ललितपुर । ‘प्लाष्टिकजन्य प्रदूषण रोकौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व पृथ्वी दिवस मनाइयो । 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा राजधानी काठमाडौँलगायत देशका प्रमुख शहरमा प्लाष्टिकजन्य फोहरको समस्या विकाराल बन्दै गएकामा चिन्ता व्यक्त गर्दै प्लाष्टिकको प्रयोगलाई कम गर्न आम जनताबाट पहल हुनुपर्ने कुरामा जोड दिइयो । 

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष सुदर्शन मिश्रले नगरपालिकाको मुख्य काम नै फोहर व्यवस्थापन गर्नु भएकाले नगरको व्यवस्थापनमा ध्यान दिन नसकिएको बताए । 

युएनडिपीका जलवायु विज्ञ शान्ति कारञ्जीतले दातृ निकायहरुले अब केन्द्रीय तहबाट नभई स्थानीय सरकारसँग मिलेर काम गर्ने उल्लेख गरे । 

स्वच्छ ऊर्जा नेपालका कार्यक्रम व्यवस्थापक राजन थापाले अहिले नै पूर्णरुपमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्न नसकिए पनि त्यसको सही ढंगबाट प्रयोग गर्न सकिए पनि प्लाष्टिकजन्य प्रदूषण धेरै हदसम्म कम हुने धारणा राखे । 

सो अवसरका काठमाडौँ उपत्यकाबाट दैनिक ५२४ टन फोहर संकलन हुने र त्यसमध्ये ६३ प्रतिशत कुहिने खालको जैविक फोहर रहेको र बाँकी ३७ प्रतिशतको ८० प्रतिशत प्लाष्टिकजन्य फोहर रहेको जानकारी दिइयो । कूल फोहरको दुई प्रतिशत अर्थात आठ टन फोहर दैनिकरुपमा उठाउन छोडिने गरेकाले पनि वातावरणीय प्रदूषण बढाएको कार्यक्रममा जानकारी दिइयो । 

पृथ्वी दिवसका अवसरमा काठमाडौँमा प्लाष्टिकजन्य प्रदूषणसम्बन्धी नाटक प्रदर्शन, फोटोग्राफी प्रतियोगिता र प्लाष्टिकबाट बनाइएका विभिन्न घरायसी उपयोगका वस्तुहरुको प्रदर्शनी गरिएको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै