• २०८१ बैशाख १२ बुधबार

आइसीसीको शर्त अनुसार क्यानको विधान पारित, निलम्बन फुकुवा हुने तय 

kharibot

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको छ ।

बिहीबार काठमाडौंमा भएको साधारणसभाले संशोधित विधान जस्तोको त्यस्तै पारित गरेको हो । 

साधारणसभाका अधिकांश प्रतिनिधिले आईसीसीले भने अनुसारकै विधान पेश भएकोले यसैलाई पारित गर्नुपर्ने धारणा राखेपछि बिहीबार नै विधान पारित  गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई साधारणसभाले पारित भएपछि क्यान निलम्बन फुकुवा हुने सम्भावना पनि बढेको छ ।

यसअघिको विधानमा रहेको पुरानो कार्यसमितिका १७ जना र राखेपका ७ जनाले निर्शत भोट हाल्न पाउने  र उनीहरु उम्मेदवार पनि हुन पाउने व्यवस्था रहेकोमा अब पुरानो कार्यसमितिका १७ र राखेपका ७ जनाले मताधिकार र उम्मेदवार बन्न तल्लो तहदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने  व्यवस्थासहितको विधान पारित भएको छ  ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने उल्लेख भएकोमा नयाँ विधानमा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वाचित भनिएको क्यानका १ जना रहने गरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ । चुनावको लागि बन्ने ५ सदस्यीय समितिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

यस्तै, मस्यौदामा नयाँ साधारण सदस्यको योग्यता, प्रदेशमा क्रिकेट संघको गठन, सदस्यता शुल्कलगायतका कुरा पनि आईसीसीले भने जस्तै गरी राखिएको छ । 

क्यानले विशेष साधारण सभाबाट विधान पारित गर्ने भन्नासाथ आसीसीले एक विज्ञप्ति निकाल्दै गत मंगलबार नै यसको स्वागत गरेको थियो । आइसीसीले विशेष साधारणसभा गर्ने खर्चको समेत बन्दोबस्त गरिदिएको बताइएको छ ।  

साधारणसभाले सहमति बमोजिम विधान पारित गरेमा आईसीसीले आउँदो जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने यसअघि नै बताइसकेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै