मेलम्ची ‘मिथ’ अब ‘रियालिटी’तर्फ !

खरीबोट

काठमाडौं । करिब तीन दशकअघिदेखि उपत्यकाको प्यास मेटाउने दीर्घकालीन समाधानको निर्विकल्प ‘सञ्जीवनी’ बनेको मेलम्चीको पानी अब भने उपत्यकासम्म आइपुग्ने लगभग निश्चित भएको छ । अर्बौँ रुपैयाँ लागत रहेको आयोजनाको तीव्र प्रतीक्षा गरिएको सुरुंग मार्ग निर्माणमा गत हप्ता ‘ब्रेक थ्रु’ भएसँगै उपत्यकावासीको वर्षौँदेखिको प्यास २०७५ भित्रै मेटिने देखिएको हो । 

राष्ट्रिय प्राथमिकताप्राप्त खानेपानी आयोजना मात्र नभएर हरेक सरकार र प्रधानमन्त्रीको राजनीतिक प्रतिष्ठासँग समेत जोडिएको यो आयोजनालाई निर्विकल्प खानेपानी आयोजना मानिएको थियो । करिब २८ अर्ब (प्रारम्भिक चरणमा अनुमानित तर योभन्दा निकै बढ्ने) लगानीको यो आयोजनाबारे राजनीतिक तहबाट चाहना भए पनि गम्भीरता नदेखाइँदा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट हुने काठमाडौंवासीलाई चिन्ताको विषय बन्दै आएको थियो । 

वार्षिक रुपमा उपत्यकाबाट साढे तीन मिटरसम्म उपत्यकाको भित्री सतहको पानीको सतह घटिरहेको र उपत्यकामा १ सय २५ वर्षदेखि पानीको वितरण गरिँदै आएकाले वितरण प्रणालीको भौतिक संरचना मक्किइसकेकाले सबैतिर नयाँ संरचना आवश्यक भएको सन्दर्भमा उताबाट काम सम्पन्न हुने लक्षण देखिनु र यता यसकै लागि पाइपलाइन विस्तार निष्कर्षोन्मुख बन्दै जाँदा गत वर्ष नै घरघरमा मेलम्चीको पानी आउने बताइएको थियो । 

आयोजनाका अनुसार उपत्यकाको वितरण क्षमता हिउँदमा १० करोड र वर्षात्मा १६ करोड लिटर रहेको अवस्थालाई वि.सं. २०३० को दशकदेखि मध्यनजर गरेर खानेपानीको उत्कृष्ट स्रोतको खोजी गरिनथालिएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा मेलम्ची खानेपानी उपआयोजना २ अन्तर्गत वितरण प्रणाली सुधार, ट्रान्समिसन मेन र पानी पोखरीहरुको निर्माण भइसकेको छ । २०४७ मै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याउने सार्वजनिक प्रतिबद्धता गरेपछि त्यसपछिका प्रधानमन्त्री र सरकारले यो आयोजनालाई ‘जसरी पनि सम्पन्न गर्नुपर्ने’ आफ्नो राजनीतिक प्रतिष्ठासँग जोड्ने गरेका थिए । 

पहिलो चरणमा सिन्धुपाल्चोकको हेलम्बुनजिकै रिबर्मामा मेलम्चीको मुहान निर्माण गरी त्यहाँबाट सुन्दरीजलसम्म २७ किमि सुरुंग बनाई दैनिक १७ करोड लिटर पानी उपत्यका पठाउने गरी आयोजना सुरु गरिएको थियो भने दोस्रो चरणमा यांग्री र लार्के नदीबाट दैनिक १७-१७ करोड लिटर पानी गरी ५१ करोड लिटर पानी उपत्यकामा ल्याउने गरी दीर्घकालीन सोच राखेर यो आयोजना अगाडि बढाइएको थियो ।

उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्नु यो आयोजनाको मुख्य उद्देश्य रहेको थियो । आयोजनाका परामर्शदाताहरुमा ईपीटीआईएसए सर्भिसस डी इनजेनेरियल, एसएल स्पेन, एनजीएस कन्सल्ट्यान्ट तथा निर्माणमा संलग्न सीएमसीआर–कोअपरेटिभ मुराटोरी सेमेनटेष्टी डी राभेन्ना, भीए टेक वाबाग प्रतिभा इन्डष्ट्रिज जेभी, टीसीपीएल प्रतिभा जेभी तथा दातृनिकायमा एडीबी र जाइका रहेका छन् ।

यसअघि २०५६ मा आयोजनाको काम सुरु गर्दा लागत ४ सय ६४ मिलियन अमेरिकी डलर अनुमान गरिए पनि योजनाअनुसार काम नभएपछि विश्व बैंक, नर्वे र स्विडेनले दिन कबोल गरेको १ सय ३३ मिलियन डलर फिर्ता लगेका थिए । त्यसपछि लागत ३ सय १७ मिलियन डलरमा झरेको थियो । ‘चाइना रेल्वे ब्युरो–१५ नामक चिनियाँ कम्पनी २०६५ सम्म काम गरेर छोडेपछि इटलियन ठेकेदार को–अपरेटिभ मुराटोरी सेमेनटेस्टी सीएमसी दी राभेन्नासँग बाँकी काम गर्न सम्झौता भएको थियो । त्यतिबेला पुनः लागत संशोधन गरेर २ सय ८७ मिलियन डलरमा झारिएको थियो । तर सबै गर्दा कुल ३६ अर्बको हाराहारीमा लागत खर्च हुने अनुमान गरिएको छ । 

सकियो सुरुङ निर्माण

गत चैत २७ गते आयोजनाको आयोजनाको पहिलो चरणको २७ किमि लामो सुरुंग निर्माणको काममा ‘ब्रेक थ्रु’ गरिएको हो । आयोजनाको बाँकी रहेको सिन्धु–ग्याल्थुम खण्डको करिब ७.५ किमि लामो सुरुङ निर्माण सम्पन्न भएसँगै सुन्दरीजलबाट मेलम्ची हेडवक्र्ससम्म सुरुङभित्रैबाट पुग्न सकिनेछ । यसलाई खानेपानी आपूर्तिमन्त्री विना मगरले ‘हिलारी स्टेप’मा पुगेको बताउँदै अब सगरमाथाको चुचुरोमै पुग्नलागेको प्रतिक्रिया दिएकी थिइन् । उनले काठमाडौंबासीको सपना पूरा गरिदिएको भन्दै सिन्धुपाल्चोकका जनतालाई समेत धन्यवाद दिएकी थिइन् ।

सुरुङ दुवै तर्फबाट छेडिएको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनले यसको उद्घाटन गरेका थिए । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले ट्विट गर्दै सन् २००० मा एसियाली विकास बैंकसँग सहयोग सम्झौता भए पनि व्यवस्थापन, सडक र टनेल (सुरुङ) निर्माण लगायतका पक्षमा विभिन्न बाधा अवरोध पार गर्दै आएको आयोजनाको मुख्य काम २७.५ किमि लामो टनेल निर्माण भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका थिए । उनले यसले बाँकी काम चाँडै सम्पन्न भई उपत्यकामा खानेपानीको समस्या छिटै समाधान हुने आशा गरेको बताए । 

सुरुङ पूर्ण तयार हुन ३ महिना लाग्छ : इन्जिनियर 

यसैबीच, ब्रेक थ्रु् भएको भनिएको २७ किमि सुरुङभित्रको काम लगभग पूरै बाँकी नै रहेको छ । सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पन्तले अब सुरुङभित्र भुइँमा ढलान, भित्ता र टपमा फाइनल सर्किटआदि काम बाँकी नै रहेको खरीबोटलाई जानकारी दिए । इन्जिनियर पन्तका अनुसार अहिलेसम्म चार किमि सुरुङमा मात्र सम्पन्न भएको छ भने पूरै सुरुङ तयार भएर पानी आउने हुन अझै तीन महिना लाग्छ ।

आयोजनाको ‘टाइमलाइन’बारे मन्त्रालय के भन्छ ?  

विभिन्न दातृनिकायहरुसँगको सहकार्यमा आयोजनाको निर्माणमा लगानी जुटाउने गरी सन् १९९८ अर्थात् वि.सं. २०५५ साल) मा मेलम्ची खानेपानी विकास समिति स्थापना, त्यसपछि आयोजनाको विस्तृत अध्ययन, तयारी चरणका कार्यहरु (जग्गा अधिग्रहण, सहायक पूर्वाधार निर्माण आदि) र आयोजनाका मुख्य संरचनाहरुको निर्माण सुरु, सन् २००८ मा  आइपुग्दासम्म खास गरी प्रवेशमार्गको निर्माण मुआब्जा तथा क्षतिपूर्ति वितरण पुनर्वास कार्यक्रम र आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्थानका कार्यक्रमको सुरुवाती सञ्चालन, दातृनिकायहरुका पूर्वशर्तहरुको सम्बोधन गरी आयोजनालाई अगाडि बढाउनुपर्दा लामो समय खर्च भएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका अनुसार प्रथम चरणका मुख्य इन्जिनियरिङ्ग (भौतिक) संरचनाहरुमा मेलम्ची नदीमा बाँध तथा इन्टेक, रिबर्मादेखि सुन्दरीजलसम्म (मेलम्ची, याङ्ग्री तथा लार्के तीनवटा नदीबाट प्राप्त हुने दैनिक ५१ करोड लिटर पानी वहनसक्ने  क्षमता)को मुख्य सुरुङ्ग, सिन्धु, ग्याल्थुम र अम्बाथानमा गरी १.५ किमि प्रवेश सुरुङ्ग (अडिट टनेल) एवं सुन्दरीजलमा १७ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र पर्दछन् । 

सन् २००८ देखि हालसम्म : के–के भयो ? 

सन् २००८ मा नेपाल सरकारवाट दातृनिकाय एडीबीका शर्तअनुसार आयोजनाको पुनर्संरचना गरेपछि  हेडवर्क्स तथा सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रियाको सहमति भएर आयोजनाको मुख्य कार्यको निर्माण प्रक्रियाको थालनी भएको थियो । सन् २००९ मा हेडवर्क्स तथा सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रिया सुरु भएको र सोही वर्षको फेब्रुअरीमा नियुक्त गरिएको निर्माण व्यवसायी सीआरसीसीबाट तयारीकै लागि लामो समय खर्चिएका कारण सन् २०१० को जुन महिनाबाट मात्रै निर्माण सुरु भएको थियो । निर्माणकार्य नै सुस्त गतिमा भएपछि ६.५ कि.मि. सुरुङ खन्नै तीन वर्ष लागेको थियो । उक्त काम पूरा भएपछि सेप्टेम्बर २०१२ मा सो निर्माण कम्पनीसँगको सम्झौता रद्द गरिएको थियो ।

बाँकी रहेको निर्माण कार्य नयाँ खरिद प्रक्रियामा जाँदा करिब नौ महिना त्यतिकै बितेको थियो । पछि सन् २०१३ को जुलाईमा नयाँ निर्माण कार्यको सम्झौता भए पनि नयाँ निर्माण व्यवसायी सीएमसी डी राभेन्नाले पुनः तयारीको निहुँमा लामो समय खर्चिएर आलटाल गर्यो । पुनः जनवरी २०१४ बाट मात्र निर्माण कार्य सुरु भयो । २५ अप्रिल २०१५ को भूकम्पअघि करिब ५.१ कि.मि. मात्रै सुरुङ्ग खन्ने कार्य भएको थियो भने अप्रिल २०१५ देखि फेब्रुअरी २०१६ सम्मको एक वर्षको अवधिमा पुनः भूकम्पलाई कारण बनाउने र काम नगर्ने काम भयो । सो अवधिमा करिब २.१ कि.मि. मात्र सुरुङ्ग खन्ने कार्य भयो भने सम्झौताअनुसार निर्माणकार्यको हुनसकेन । सन् २०१६ मा करिब ८.३ किमि अर्थात् सुन्दरीजल–सिन्धू खण्ड ९.४ कि.मि. को काम पूरा भयो । त्यसपछि भने आयोजनाको सुरुङ निर्माणमा प्रगति देखिएको थियो ।

पछि सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम—अम्बथान खण्डको ८.२ कि.मि. समेत सम्पन्न गरिएको थियो । मन्त्रालयले सन् २०१८ को हालसम्ममा बाँकी रहेका ग्याल्थुम—सिन्धुबाट मात्र सुरुङ्ग खन्ने काम भएकोमा उक्त स्थानमा भौगौलिक जटिलता (अत्यन्त कमजोर चट्टान) भएता पनि बाँकी ४ सय ६० मिटर सुरुङ्ग खन्ने कार्य भएको जनाएको छ । 

८५ प्रतिशत काम पूरा 

मन्त्रालयले हालसम्मको अवधिमा आयोजनाको निर्माण सम्झौताको कुल भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत सम्पन्न भएको जनाएको छ । खानेपानी मन्त्रालयका अनुसार सुरुङ निर्माण सम्पन्न भएपछि हेडवक्र्सको मुख्य संरचना, भेन्ट सार्फ तथा सुरुङको फाइनल फिनिसिङको काम अझै बाँकी छ । केही महिनाभित्रै यी काम सम्पन्न हुने मन्त्रालयले जानकारी दिएको छ । सुन्दरीजलमा दैनिक प्रशोधन क्षमता ८.५ करोड लिटरको पानी प्रशोधन केन्द्र—१ को  निर्माणसँगै गत वर्षको नोभेम्बरमा परीक्षण गरिसकिएको छ भने यो वर्षको जनवरीबाट आंशिक रुपमा सञ्चालन गरिएको छ ।

यस्तै पानी प्रशोधन केन्द्र –२ अन्तर्गत थप ८.५ करोड लिटर क्षमताको केन्द्र निर्माण सुरु भएको छ । यसको काम निर्माण व्यवसायी टीसीपीएल–प्रतिभा जेभीले गरिरहेको मन्त्रालयले जनाएको छ । आगामी पुससम्म दोस्रो पानी प्रशोधन केन्द्र निर्माण सकिनेछ । 

आयोजना प्रभावित १४ गाविसलाई विकास कार्यक्रम 

मन्त्रालयका अनुसार यस आयोजनाबाट  सिन्धुपाल्चोकका साविकका १४ वटा गाविसहरुमा  सामाजिक उत्थान कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, ग्रामीण विद्युतीकरण, आयआर्जन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालनमा रहेका छन् भने सिन्धुपाल्चोकका साविकका १६ गाविसहरु र काभ्रेका साविकका ५ गा.वि.स.हरुलाई समेत आयोजनाको फाइदाको हिस्सा भाग लगाइनेछ । त्यस्तै, आयोजना संचालनको क्रममा स्थानीय वातावरणमा पर्न जाने नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्न वातावरण संरक्षणसम्बन्धी कार्य सञ्चालन गर्ने व्यवस्था समेत  गरिएको मन्त्रालयले जनाएको छ ।

अबको तयारी

आयोजनाको दोस्रो चरणमा याङग्री र लार्के नदीहरुबाट दैनिक १७÷१७ करोड लिटर गरी थप ३४ करोड लिटर खानेपानी थप गर्ने कार्यका लागि डिजाइन परामर्शदाता छनौट भई परिचालित भइसकेको भन्दै मन्त्रालयले चालू आवको अन्त्यसम्ममा विस्तृत डिजाइन प्रतिवेदन तयार हुने जनाएको छ । योसँगै बजेट पाए आगामी आवबाट काम सुरु गर्ने तयारी मन्त्रालयले गरेको छ । याङ्ग्री र लार्के दुईवटा नदीहरुमा बाँधको काम तथा दुईवटा सुरुङ्ग (२ कि.मि. र ९ कि.मि.) र सुन्दरीजलमा दैनिक १७ करोड लिटर क्षमताका थप दुईवटा पानी प्रशोधन केन्द्र रहने गरी अन्तिम तयारी भइरहेको छ ।

मेलम्ची खानेपानी आपूर्ति विकास बोर्डका वरिष्ठ इन्जिनियर पन्तले जाइका र एडीबीले बनाइदिने प्रशोधन केन्द्र १ र प्रशोधन केन्द्र २ मध्ये जाइकाको तर्फबाट साढे ८ करोड लिटरको बनिसकेको जानकारी दिए । तर एडीबीको सहयोगमा बनिरहेको प्रशोधन केन्द्र २ को चाहिँ ३० प्रतिशत मात्रै काम सम्पन्न भएको उनले खरीबोटलाई बताए । 

उपआयोजना लगभग सम्पन्न, २४ अर्ब सकियो 

मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको उपआयोजना १ को काम हालसम्म ९३.२३ प्रतिशत र तथा वित्तीय प्रगति ८५.१४ प्रतिशत सकिएको छ । यसको कुल अनुमानित रकम २७ अर्ब ७६ करोडमध्येको २४ अर्ब २२ करोड खर्च भएको मन्त्रालयले जनाएको छ । 

पाइपलाइन बिछ्याउने काम पाँच किमि बाँकी 

यस्तै उपआयोजना २ अन्तर्गत अहिले काठमाडौं उपत्यका खानेपाली लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयमातहतमा पाइपलाइन बिछ्याउने काम समेत जारी छ ।

अधिकांश स्थानमा पाइप बिछ्याइए पनि अझै पूरा भने नभइसकेको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले बताए । प्रवक्ता ढकालका अनुसार खानेपानी वितरण सञ्जाल सुधारअन्तर्गत ७ सय २० किमिमध्ये ६ सय ७७ किमिमा पाइप जोडिसकिएको छ । काठमाडौं उपत्यकाको वसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भूतिरको बाहेक बाँकी क्षेत्रमा लगभग पाइपलाइन बिछ्याउने काम सकिएको उनले बताए । बाँकी क्षेत्रमा काम गर्नको लागि २५ प्रतिशत बजेट अपुग भएकाले अहिले समस्या भएको छ ।

पाइपलाइनमा साना ७५ एमएमदेखि ७०० एमएमसम्म र ठूला पाइप ५०० एमएमदेखि १४०० एमएमसम्मका रहेका छन् । निर्देशनालयले चोकचोकमा भल चेम्बर, बल्क चेम्बर बनाएर परीक्षणको काम गरिरहेको जनाएको छ । थोक वितरण प्रणालीअन्तर्गत कुल ७७ किमिमध्ये ७२ किमिमा पाइप बिछ्याउने काम सकिएको छ । 

०७५ दशैँअघि नै काठमाडौंवासीलाई पानी !

मन्त्रालयले आगामी दशैँअघि नै काठमाडौंवासीलाई पानी उपलब्ध गराउने दाबी गरे पनि अझै विभिन्न कामहरु बाँकी रहेकाले यसै भन्न नसकिने स्थिति छ । यसअघि नै तत्कालीन प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले ०७४ कै दशैँमा घर घरमा पानी ल्याइने बताएका थिए । तर अझै सुरुङको फिनिसिंग गर्ने तीन महिनाको काम बाँकी नै छ भने पाइपलाइन बिछ्याउने काम पनि पूरा भइसकेको छैन । त्यस्तै, दोस्रो प्रशोधन केन्द्र निर्माणको काम अझै ७० प्रतिशत बाँकी छ । अब ०७५ दशैँअघि नै घर घरमा पानी भन्न थालिएको छ तर दशैँअघि नै पानी आउन तदनुकूलको क्रियाशीलता पनि आवश्यक पर्छ ।


 

सम्बन्धित समाचार

मेलम्ची आयोजनाको ठेकेदारको म्याद तीनमहिना थप

काठमाडौँ ।आगामी असोज मसान्तभित्र मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजलमा उपलब्ध गराउने शर्तसहित सरकारले इटालियन निर्माण व्यवसायी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालय

चाइनीज ठेकेदारद्वारा मेलम्ची समयमा पुरा गर्न आलटाल, कूटनीतिक पहलका लागि आग्रह

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गरेकी छन् ।  मन्त्री मगरले विहिबार

छ महिनापछि मेलम्चीको पानी वितरण हुन्छ : वीना मगर, खानेपानीमन्त्री

काठमाडौँ । खानेपानी मन्त्री विना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताकी छन्  ।  काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले राजधानी लगायत

मेलम्ची ‘मिथ’ अब ‘रियालिटी’तर्फ !

काठमाडौं । करिब तीन दशकअघिदेखि उपत्यकाको प्यास मेटाउने दीर्घकालीन समाधानको निर्विकल्प ‘सञ्जीवनी’ बनेको मेलम्चीको पानी अब भने उपत्यकासम्म आइपुग्ने लगभग निश्चित भएको छ । अर्बौँ रुपैयाँ लागत रहेको आयोजनाको तीव्र