• २०८१ बैशाख ८ शनिबार

पथलैयादेखि आसिपी जोड्ने ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक

kharibot

वीरगञ्ज ।  पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक बनेको छ । 

व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढेपनि जितपुर बजारवासीले सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचना भत्काउन मानेका छैनन् । 

बारम्बार सूचना जारी गरे पनि जितपुर सिमरा उपमहानगरपालिका– ७ जितपुर बजारका बासिन्दाले २५ मिटरभित्रको संरचना हटाउन अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माणमा ढिलाइ भएको हो । 

स्थानीय प्रशासनको सहयोगमा वैशाख १० गतेभित्र डोजर लगाएर ती संरचना भत्काइने भएको छ । केन्द्रबिन्दुबाट दायाँबायाँ २५-२५ मिटर सडक विस्तार गर्दा जितपुर बजार क्षेत्रमा ठूला साना गरी २०९ वटा घर भत्काउनु पर्ने योजना प्रमुख रवीन्द्र लाल दास बताउछन् । 

पथलैया वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपीसम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको थियो । सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि जितपुर बजारवासीका कारण काम प्रभावित भएको दासले बताए । 

सरकारको रु तीन अर्ब ५३ करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्गमा रु एक अर्बको लागतमा तीनवटा पुल निर्माण हुने इन्जिनियर अशोक यादवले बताए । पहिलो चरणमा छ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीबिर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौँस्थित आइसिपीमा जोडिएको छ । 

जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले सडक विस्तारको काम अगाडि बढाउन पहल गरिने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै