• २०८१ बैशाख ७ शुक्रबार

सगरमाथा आरोही महिला पत्रकारलाई काठमाडौँ महानगरद्वारा नक्शा र खड्ग अङ्कित झण्डा हस्तान्तरण 

kharibot

काठमाडौं । सगरमाथा आरोही महिला पत्रकारको समूहलाई काठमाडौं महानगरपालिकाले नगद २५ लाख रुपैयाँ सहयोग सहित महानगरको झण्डा र नक्सा दिएर विदाइ गरेको छ । 

मंगलबार महानगरको वैठक कक्षमा आयोजित एक औपचारिक कार्यक्रममा महानगरका प्रमुखले आरोहण सफलताको कामना सहित नगद र सामाग्री उपलब्ध गराएका हुन् ।

काठमाडौं देशका सवै स्थान, सवै भाग र क्षेत्रसँग जोडिएको छ । यी विषय र क्षेत्रमध्ये पर्यटन प्रवर्धन कार्यका लागि सहयोग उपलब्ध गराइएको जनाउँदै कार्यक्रममा प्रमुख शाक्यले स्थानीय सहभागितामा आन्तरिक पर्यटन प्रवर्धन गरेर लाभ लिन दिशामा महानगरको सोच रहेको बताए । 

सगरमाथा ओरोही महिला पत्रकारको — आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने प्रमुख शाक्यको विश्वाश थियो ।

सोही कार्यक्रममा महानगरका कामु प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले आफैंसँग भएको क्षमताको प्रयोगबाट पर्यटकीय सम्भावना खोज्न सकिने आरोही महिला पत्रकारको आँटबाट सिक्न सकिने बताए । कार्यक्रममा महानगरका सम्पदा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले राम्रो कामको थालनी गर्दा नकारात्मक टिप्पणी गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए । काठमाडौंमा धुँवा र धुलो मात्र छैन । यहाँका राम्रा चीजको खै त चर्चा ?  सगरमाथा आरोहीबाट हामी सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छौं, उनको भनाइ थियो । 

आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्नेछ । ४५ दिनको प्याकेजमा आरोहणतर्फ लागेको टोलीको नेतृत्व नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता रोजिता वुद्धाचार्यले गरेकी छन्  । टोलीको सदस्यमा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्युज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ् राई रहेकी छन् । समानताका लागि वुलन्द आवाज नारा लिएर उनिहरु आरोहणमा लागेका हुन् । 

कार्यक्रममा बोल्दै टोली प्रमुख वुद्धाचार्यले महानगरको अभिभावकत्वमा आरोहणमा निस्किने बताउँदै फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रवर्धनमा सक्रिय रहने बताइन् । टोलीकी अर्की सदस्य कल्पना महर्जन — आरोहणबाट फर्किएपछि नेपाल मण्डलमा सम्पदा पर्यटनमा काम गर्ने बताइन् । त्यस्तै आरोहण दलकी अर्की सदस्य देउराली चाम्लिङ्ले सगरमाथा आरोहण गर्नुअघि टोलीले ६११९ मिटर उचाइमा रहेको लोभुचे हिमाल चढ्नेछ । 

आरोहणका क्रममा महानगरको खड्ग अङ्कित ठूलो झण्डा आधार शिविरमा गाडिने छ भने सानो झण्डा र नक्सा चुचुरोमा पुर्याइनेछ । उनीहरुको आरोहण व्यवस्थापन ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सिडिसनले गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै