• २०८१ बैशाख ७ शुक्रबार

वैशाख ९ गते एमाले-माओवादी एकता नहुने

kharibot

काठमाडौँ । एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता नहुने भएको छ । 

मंगलबार बिहान पार्टी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विधान तथा संगठनात्मक प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेकाले ९ गते एकता नहुने भएको हो ।

बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ । बैठकले दुई अध्यक्षलाई सो जिम्मेवारी दिएको र समितिको अर्को बैठकमा एकताको मिति तय गरिने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिको बैठक बसेको थियो । 

यसअघि प्रधानमन्त्रीको भारत भ्रमणअगाडी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने बताइए पनि एकता संयोजन समितिले कार्यदलले बुझाएको प्रतिवेदन र दिएका सुझाव ग्रहणमात्रै गरेको थियो । 

किन भएन बैशाख ९ गते एकता ?

माओवादीले सम्मानजनक एकता खोजेपछि अलिकति भड्किएको एकता प्रक्रिया सरकार संचालनमा प्रधानमन्त्री ओलीको कार्यशैली र प्रधानमन्त्रीको भारत भ्रमणपछि झन् अन्योलमा परेको हो । 

चैत्र २५ गते भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहानको छलफल पछि आज संयोजन समितिको बैठक बसेको हो । एमालेले दुई अध्यक्षको छलफल सकारात्मक भएको भने पनि माओवादी पक्षले छलफल नतिजाउन्मुख नभएको बताएको थियो । 

क) प्रधानमन्त्री ओलीसँग माओवादी सशंकित

एकता प्रक्रियामा आशंका जन्मिनुमा प्रधानमन्त्री ओलीको कार्यशैली नै प्रमुख देखिएको छ । प्रधानमन्त्रीले सरकारका सचिवको सरुवामा माओवादी केन्द्रका मन्त्रीहरुलाई विस्वासमा नलिनु अहिले एकता प्रक्रियामा प्रमुख आशंका बनेर आएको छ भने अहिले नयाँ बजेट बनाउने प्रक्रिया चलिरहेकाले त्यसमा पनि प्रधानमन्त्री र एमालेले एकलौटी गर्न खोजेको माओवादीको आरोप रहेको छ । 

एकता नहुदै दुवै पार्टी अलग अलग हैसियतमा हुदा विस्वासको संकट भएकाले एकता भएपछि झन् कस्तो होला ? भन्दै माओवादी केन्र्दमा हतारमा एकता नगर्ने मत बढिरहेको छ । सोमबार वाइसियलले प्रचण्डलाई भेटेर सम्मानजनक एकता गर्न र हतार नगर्न दबाब दिएको छ ।

ख) नेपाल र ओलीको साठगाँठले प्रचण्ड तर्सिए :

पछिल्लो समय एमाले भित्रका दुई प्रमुख नेता प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एकै ठाउमा उभिदा प्रचण्ड तर्सिएका छन् । नेता नेपाललाई ओलीले अर्को महाधिवेशनमा अध्यक्ष बनाउने बचन दिएपछि नेपालले पछिल्लो समयमा ओलीलाई समर्थन गर्दै आएका छन् ।

अन्तरिम कालमा दुई अध्यक्ष भएपनि ओली विरोधीहरुलाई हातमा लिएर महाधिवेशनपछि अध्यक्ष हुने दाउमा रहेका प्रचण्डले ओली र नेपालको साठगाँठपछि एकीकृत पार्टीमा आफ्नै भविष्य असुरक्षित देखेका छन्, जसले गर्दा पनि एकता प्रक्रियामा अवरोध आउने देखिएको छ ।    

बैशाख ९ गते नै एकता गर्ने एमालेको जोड 

सत्तारुढ दल नेकपा एमालेको सोमबार साँझ बसेको स्थायी कमिटीको बैठकले माओवादी केन्द्रसँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ । 
दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसमा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो । 

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताए ।

के के हुन् विवादका विषय ?

एमाले-माओवादी एकतामा विवाद देखिएका मुख्य तीन विषय यी हुन् :
 

क) ५०-५० प्रतिशतको भागबन्डामा एकता :

कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगो लगाएपनि त्यसमा कुन दलको कति भागबन्डा हुने भन्ने बारे स्पष्ट भएको छैन । माओवादीले निर्वाचनको बेला गरिएको ६०-४० को भागबन्डा आफुहरुले नमान्ने र ५०-५० प्रतिशतको भागबन्डा हुनुपर्ने बताउदै आएको छ । अध्यक्ष प्रचण्डले नै कुनै दल अर्को दलमा विलय भएजस्तो गरि एकता नहुने स्पष्ट पर्दै आएका छन् ।

एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिट अनुसार नै एकता हुनुपर्ने पक्षमा छ बहने माओवादी केन्द्र बराबर भागबण्डाको पक्षमा देखिएको छ ।

ख) ‘जनयुद्ध’ शब्द :

विधान मस्यौदाको सुरुकै प्रस्तावनामा  ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै विवाद रहेको छ । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’शब्द नै राख्नुपर्ने अडानमा छ । कार्यदलले यो विषय टुंगाउन नसकेपछि दुवै अध्यक्षले यो विषय टुंगाउने गरी प्रतिवेदन बनाएको बताइएको छ ।

ग) चुनाव चिन्ह :

एमाले आफ्नो चुनाव चिन्ह सुर्य नै एकीकरण पछिको चुनाव चिन्ह हुनुपर्ने बताउदै आएको छ तर माओवादी केन्द्रले भने सूर्यभित्र हँसिया–हथौडा भएको चुनाव चिन्ह राख्नु पर्ने अडानमा रहेको छ ।

एकताका लागि माथि उल्लेखित कारणहरु बाधक रहेको बाहिर ल्याइएको भएपनि प्रमुख कारण प्रधानमन्त्री ओली र प्रचण्डबीचको सत्ता बार्गेनिङ नै प्रमुख रहेको बुझिएको छ । प्रधानमन्त्री ओली ५ बर्ष पुरा सरकार चलाउन चाहन्छन् भने प्रचण्ड साढे दुईबर्षपछि आफु प्रधानमन्त्री हुने ग्यारेन्टी खोजीरहेका छन् । ओली निकटस्थ नेताहरुले पनि अहिले एकता प्रक्रियामा अन्योलता देखिएको प्रमुख कारण सत्ता नै रहेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै