• २०८१ बैशाख ६ बिहीबार

एकीकरणका विषयमा भोलिसम्म महत्वपूर्ण निर्णय लिन्छु – प्रचण्ड 

kharibot

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन् । 

अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको उद्घाटन गर्दै उनले “पार्टी एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय हो भन्नुभयो ।” 

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिए । 

निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उनले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष प्रचण्डले संविधानले निर्दिष्ट गरेका समाजवादी शिक्षाको विकल्प नभएको उल्लेख गर्दै समाज परिवर्तन गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको बताए । 

‘अहिले सामान्य सिद्धान्तमा आधारित बेरोजगारी उत्पादन गर्ने शिक्षा भएको छ”, उनले भने, “आत्मनिर्भर स्वरोजगार र आम जीवनमा प्रभाव पार्ने खालको शिक्षा लागू गर्नु पर्दछ ।” उनले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शिक्षक पेशा सम्मानित बनाउनेतर्फ राज्य अग्रसर हुनुपर्नेमा जोड दिदैं शिक्षकको भूमिका नेपालको राजनीतिक परिवर्तनमा ठूलो रहेको बताए । 

‘शिक्षक जागरुक भएकाले जनतामा क्रान्तिकारी चेतना फैलाउन सफल भएका हुन्, त्यसैले शिक्षकलाई सम्मानित पेशाका रुपमा हेरिनुपर्दछ,” उनले भने, “अवको शिक्षा गरिब र धनीको खाडल पुर्ने खालको हुनुपर्दछ ।’ 

अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यमार्फत नेपालको आर्थिक तथा सामाजिक विकास गर्नुपर्ने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै