• २०८१ बैशाख ४ मंगलबार

मातातीर्थमा घुइचो, दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्नेको भिड  

kharibot

काठमाडौँ । मातातीर्थ औँसीका अवसरमा आज आमालाई सम्मान गर्दै मीठा मीठा खानेकुरा खान दिई सम्मान प्रकट गरिएको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन नौ महिनासम्म आफ्नो गर्भमा राखेर जन्म दिएकी आमा जीवित भएमा मीठो खान लाउन दिई सम्मान तथा दिवङ्गत भए तर्पण, पिण्ड दान र श्राद्ध गरी स्मरण गरिन्छ ।

आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धर्मशास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम् पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लागेको थियो । बौद्ध धर्मावलम्बीसमेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् । आमा बित्नेले सके प्रत्येक वर्ष नसके एक पटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यता छ । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ । यसले गर्दा मातातीर्थको आकर्षण बढाएको भक्तजनले बताए ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छः धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौरमा एक गोठालाले फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए ।

कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा थिइनन् । त्यस दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै