• २०८१ बैशाख ४ मंगलबार

परराष्ट्रमन्त्री ज्ञवाली पाँच दिने चीन भ्रमणमा, चिनियाँ सहयोगको मोडालिटीबारे छलफल हुने 

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली झण्डै एक साता लामो चीन भ्रमणमा जानलागेका छन् । सोमबार चीन प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री ज्ञवालीले पत्रकार सम्मेलन गरी आफू चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा जानलागेको बताएका हुन् । 

मन्त्री ज्ञवालीले चिनियाँ विदेशमन्त्री यीसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र चीनले गर्ने सहयोगको मोडालिटीबारे छलफल गर्ने उनले बताए । प्रधानमन्त्री ओली भारत भ्रमणबाट आएको दुई साता नबित्दै परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा जानुलाई ओलीको चीन भ्रमणको पूर्वतयारीका रुपमा समेत हेरिएको छ । यद्यपि मन्त्री ज्ञवालीले यसबारे केही बताएनन् ।

‘छिमेकी मित्रराष्ट्र चीनका विदेशमन्त्री महामहिम श्री वाङ यिको मैत्रीपूर्ण निमन्त्रणामा आज म औपचारिक भ्रमणका लागि मित्रराष्ट्र चीनतर्फ प्रस्थान गर्दैछ’ उनले भने, ‘भ्रमणका दौरानमा मैले मेरो समकक्षी महामहिम श्री वाङ यीसँग औपचारिक द्विपक्षीय भेटघाट गर्नेछु ।’

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपाललाई चीनले दिने सहयोगको मोडालिटी तयार गरिने जानकारी दिए । ज्ञवालीले पाँच दिने भ्रमणका क्रममा समकक्षी यीसँग संयुक्त प्रेस सम्मेलन गर्नेछन् ।

त्यस्तै ज्ञवालीले त्यहाँका उच्च राजनेतासँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बेजिङ्गमा रहदा चाइनिज थिंकट्यांकको राउण्डटेबल बैठकलाई सम्बोधन गर्नेछन् भने सिचुआन प्रान्तको छेन्दु सहर पुगेर उक्त प्रान्तको उच्च नेतृत्ववर्गसँग भेटघाट र सिचुआँन विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । 

मन्त्री ज्ञवालीसँग चीनका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका अधिकारी  र दूतावासका अधिकारीहरु सम्मिलित हुने बताइएको छ । 

बूढीगण्डकीबारे अहिले केही निर्णय हुँदैन 
यसैबीच, भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री ज्ञवालीले पत्रकारको जिज्ञासाको उत्तर दिँदै सरकारले पूर्ववर्ती सरकारको निर्णय समीक्षा गरिरहेको बताउँदै बूढीगण्डकी आयोजनाबारे अहिले सरकारले केही नसोचेको बताएका छन् ।

उनले तातोपानी नाका छिट्टै खुल्ने आशा गर्दै दुई देशीय छलफलमा यसबारे प्रगति भइरहेको जानकारी दिए । पत्रकारसम्मेलनका क्रममा नेपालको परराष्ट्रनीति पञ्चशील, असंलग्न र पारस्परिक हितका आधारमा हुने भन्दै दुवै छिमेकीसँग मिलेर नेपालको आर्थिक विकासमा योगदान दिने प्रयासमा सरकार रहेको बताए ।

छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध सरकारको प्राथमिकताको विषय भएको उनले बताए । उनले केही दिनअघि भएको प्रधानमन्त्रीको भारत भ्रमणले कृषि, जल र रेलमार्ग विस्तारमा सहमति भएको बताए । 

मन्त्री ज्ञवाली आगामी शनिबार स्वदेश फर्किनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै