• २०८१ बैशाख ६ बिहीबार

रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’ को फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्य, साउनदेखि प्रसारण हुने 

kharibot

काठमाडौं । साउनबाट शुरु हुन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस अफ नेपाल’मा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले सहकार्यको सम्झौता गरेको छ । 

‘दी भ्वाइस अफ नेपाल’ आयोजक संस्था एएनसी र क्याप्सुल ९ बीच सोमबार राजधानीमा पत्रकार सम्मेलनमाझ सहकार्यको सम्झौता भएको हो । क्याप्सुल ९ का तर्फबाट अध्यक्ष दीपकचन्द्र शर्मा र एएनसीका अध्यक्ष प्रल्हादसिंह महतले सम्झौता पत्र आदाप्रदान गरेका थिए ।

सम्झौता कार्यक्रममा ‘दी भ्वाइस अफ नेपाल’ र क्याप्सुल ९ को लोगो अंकित टिसर्ट सार्वजनिक गरिएको थियो । क्याप्सुल ९ का प्रबन्ध निर्देशक विनोद ढकालले सम्झौता पछि ‘दी भ्वाइस अफ नेपाल’ अंकित हरेक टिसर्टमा क्याप्सुल ९ को पनि लोगो रहने बताए । 

‘हाम्रो देशभर ७० वटा डिलर छन् । ती डिलरमार्फत दर्शकले शोको टिसर्ट खरिद गर्न सक्नुहुनेछ,’उनले भने,‘अन्तर्राष्ट्रिय रुपमा ख्यातीप्राप्त गायन रियालिटी शोको नेपाल फ्रेञ्चाइजीसँग सहकार्य गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो । अब हामी चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उत्पादनलाई पुर्याउने अभियानमा छौं ।’ उनका अनुसार शो आयोजकले शो भइरहेको स्थानमा एक स्टिल उपलब्ध गराई टिसर्ट विक्री पनि गर्नेछ ।

‘दी भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले फेसनसँग नजिक रहेर काम गरिरहेको क्याप्सुल ९ सँग शोको सहकार्य गर्न पाउनु सुखद रहेको जनाए । ‘हामीले शो शुरु हुनु अघि नै राम्रा ब्राण्डसँग सहकार्य गर्न पाउनु गर्वको कुरा हो,’उनले भने,‘हाम्रो शोसँगै क्याप्सुल ९ को प्रबद्र्धनका लागि पनि सम्झौता र सहकार्य महत्वपूर्ण हुनेछ ।’

नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा एएनसीले ‘दी भोइस अफ नेपाल’ ल्याएको हो । विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको यो रियालिटी शोको नेपाल फ्रेञ्चाइजीको तयारीमा आयोजक जुटिसकेका छन् । 

नेपाल फ्रेञ्चाइजीको शो निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका छन् । 

कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण हुने शोका लागि काठमाडौंको धुम्बाराही–४ प्रगतिमार्गमा स्टुडियोका लागि भवन (ट्रस) निर्माण भइरहेको छ । यो शो जेठबाट प्रसारण हुने तयारी भइरहँदा सोही समयमा विश्वकप फूटबल हुने भएपछि आयोजकले साउन महिनाबाट शोको प्रसारण शुरु गर्न लागेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै