• २०८१ बैशाख ७ शुक्रबार

पढाइभन्दा पहिले राजनीतिमा लागेकी लक्ष्मी

kharibot

तस्विर : खरीबोट

काठमाडौँ । २०२३ सालमा काठमाडौँमा जन्मिएकी लक्ष्मी श्रेष्ठ सानै उमेरदेखि राजनीतिमा लागिन् । जमिनदार प्रथा चलनचल्तीमा भएको त्यो समयमा पढाइ, लेखाइलाई कसैले पनि चासो दिँदैनथे । सोही कारण उनले पनि पढिनन् ।

त्यतिबेला जागिर खाएर पैसा कमाउने चलन आइसकेको थिएन । सबैको सोच कसरी अन्नपातहरु उब्जाउ गरेर अन्न बेची आम्दानी गर्ने भन्नेतिर हुने उनी आफ्नो भोगाइ सुनाउँछिन् । उनी भन्छिन्, ‘पैसा कमाउने भन्ने खालका कुनै काम नै गरिँदैनथ्यो तर कृषि पेसामा आबद्ध हुने भएकाले सबैको ध्यान कृषिमा नै बित्थ्यो ।’

झन् महिलाले काम गरेर पैसा कमाउने भन्ने कुनै सम्भावना नै थिएन तर उनले हिम्मत हारिनन्, विविध काम गरेर आफू तथा आमाबाबुको लागि थोरै भए पनि पैसा कमाउन लक्ष्मी सधैँ लागिपरेको सम्झिन्छिन् । उनलाई आफ्नो लागि मात्र भए पनि कमाउन सके ठूलो कुरा लाग्थ्यो । सानैदेखि सीपमूलक काम गर्ने उनको बानीले उनी आर्थिक रुपमा पनि विस्तारै सक्षम बन्नथालेकी थिइन् । त्यतिबेलै उनी मासिक पाँच सय रुपैयाँ कमाउँथिन् । ‘त्यतिबेलाको पाँच सयको अर्कै महत्व हुन्थ्यो, परिश्रमको फल पाउँदा घरपरिवार पनि खुसी हुन्थे’, उनी भन्छिन् ।

‘पढेरभन्दा गरेर जान्ने बेला’
लक्ष्मीले चलन नभएर पढ्न नपाए पनि उनमा पढ्नुपर्छ भन्ने इच्छाचाहिँ नभएको होइन । पढाइभन्दा राजनीतिमा लागेकी उनलाई राजनीतिक सक्रियता र आफ्नो कामले पढाइ गर्ने फुर्सद भएन । सानैमा लिएको सीपले पढाइविनै उनलाई केही पैसा कमाउनसकिन्छ भन्ने आत्मविश्वास दिलाइदियो । सोही कारण उनी पढाइ नभएर पनि पैसा कमाउँथिन् । उनी भन्छिन्, ‘मैले धेरै कुरा पढ्न नपाए पनि परेर जानेकी छु, यसैमा खुसी थिएँ ।” सोही कारण उनलाई लाग्छ — कतिपय कुराहरु परेर पनि जानिन्छ । हुन त घरमा उनका बुवा आफैँ पढेर केही हुन्न खेतमा काम गरे अन्न फल्छ, खान पाइन्छ भन्ने स्वभावका थिए । यसले उनको जीवनमा पनि ठूलो प्रभाव पा¥यो ।  

श्रेष्ठले २०४७ सालबाट कम्युनिष्ट राजनीति सुरु गरेकी हुन् । घरमा कसैले पनि राजनीति गरेको थिएन । यस्तो पृष्ठभूमिमा उनको राजनीतिक जीवन सुरु भएको थियो । उनले नै परिवारमा राजनीति सुरु गरिन् । त्यो बेला उनलाई असहज त भएको थियो तर हार मानिनन् । घरमा आफूले काम गरेर २÷४ पैसा कमाउन सक्ने तथा घरमा सहयोग गर्ने भएकाले उनले चालेका कदममा घरका सदस्यले हत्तपत्त विरोध गर्दैनथे । उनी भन्छिन्, ‘घरमा दाजुभाइले गर्नेभन्दा पनि धेरै काम गर्ने भएकाले होला सायद मैले गर्न लागेको काममा खासै घरमा अवरोध हँुदैन थियो ।”

राजनीति सुरु गरेपछि भने उनलाई पढाइ चाहिने रहेछ भन्ने लाग्नथाल्यो । लक्ष्मीले २०५४ सालमा आफ्नै ठाउँबाट एमालेको महिला सदस्यमा उढ्ने मौका पाइन् । त्यसमा उनी सफल भइन् ।

विवाहपछि पढाइ  
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै भयो उनलाई । उनी पढ्न चाहन्थिन्, श्रीमान् त्यस्तै बुझ्ने परे । उनले निरन्तर पढेर एसएलसी पास गरेकी छिन् । यसमा उनी खुसी छन् ।

श्रीमानको पूर्ण सहयोग
लक्ष्मीको पढाइ अघि बढाउन उनका श्रीमानले ठूलो सहयोग गरेका छन् । सधैँ हौसला दिने उनको श्रीमानको बानीले उनलाई अगाडि बढ्न झन सहयोग पुगेको छ । भन्छिन्, ‘सधैँ हौसला दिने श्रीमानले कहीँ कतै रोकावट गर्नुभएन ।’ महिलाहरु अघि बढ्नुपर्छ भन्ने सोच भएका कारण विवाहपछि पढ्ने हौसला उनलाई श्रीमानबाटै मिल्यो । उनी आफ्नो श्रीमान महिलावादी भएको बताउँछिन् । सोही कारण आफूले पढाइ, राजनीति र समाजसेवालाई सँगै लैजान सकेको उनलाई लाग्छ ।

बाचुञ्जेल समाजसेवा गर्छु
श्रेष्ठ एक समाजसेवी पनि हुन् । उनले जीवनमा धेरै सेवा गरेकी छिन् । सानै उमेरदेखि समाजसेवामा लागेकी उनको इच्छा समाजसेवा गरिराख्ने छ । अरुको सेवा गर्न पाउँदा मन प्रसन्न हुने उनलाई संसारमा मानव सेवाभन्दा अरु कुनै धर्म नै छ जस्तो लाग्दैन । अरुको सेवामा यति धेरै रुचि भए पनि श्रेष्ठ अन्याय भने सहन सक्दिनन् । भन्छिन्, ‘बरु आफ्नो ज्यान दिन तयार छु तर अन्याय सहन सक्दिनँ ।’ उनले अन्यायमा परेका महिला तथा  महिलामाथिका अन्याय र अत्याचारको बारेमा आवाज उठाउने समेत गरेकी छिन् । जसले गर्दा उनलाई धेरै धम्की आउने गरेको छ । लक्ष्मीको एक मात्र लक्ष्य भनेकै समाजसेवा गर्नु हो ।

राजनीति पनि समाजसेवा नै हो
एमालेबाट राजनीतिमा सक्रिय उनले दुई पटक महिला सदस्यमा जितिसकेकी छिन् । हालै भएको स्थानीय तहको चुनावमा एमालेकी बौद्ध ६ बाट चुनाव जित्ने लक्ष्मी मात्र हुन् । समाजसेवा राजनीतिबाट पनि गर्न सकिन्छ भन्ने उनलाई लाग्छ । उनको घरमा अन्यायमा परेका धेरै महिलाहरु न्यायका लागि आउने गरेका छन् । उनले उनीहरुलाई सहयोग गर्ने गरेकी छिन् ।

महिला आफैँ सक्षम हुनुपर्छ

विगतको तुलनामा महिलाहरु सक्षम भए पनि आर्थिक कारणले महिलाहरु पछि परेको बताउने लक्ष्मीलाई महिलाहरु आर्थिक रुपमा पनि सबल हुनुपर्ने लाग्छ । आफूले पनि सानैदेखि सीप सिकेर आर्जन गरेको पैसा उनका लागि घरमा जीवन बलियो पार्ने अस्त्र बनेको थियो । सोही कारण उनी भन्छिन्, “महिला आफैँ आर्थिक रुपमा सक्षम हुने हो भने कसैले केही गर्न सक्दैन् ।” आफैँले धेरै दुःख गरेर यहाँसम्म आइपुगेकी लक्ष्मीले आराम थोरै गरेर पनि समाजसेवामा लागिन् । बाबुआमाले छोरा र छोरी दुवैलाई समान व्यवहार गर्नुपर्नेमा उनको जोड छ । उनी परिवारले छोरा र छोरी दुवैलाई अंशबण्डा गरेर भाग लगाउनुपर्ने बताउँछिन् । शिक्षा र सम्पत्तिमा छोरासरह छोरीलाई व्यवहार गरे महिलाहरु बलियो हुने उनको तर्क छ ।

रुचि
उनको रुचि भनेकै समाजसेवा गर्ने हो । त्यसैमा उनी खुसी छिन् । त्य(स्तै लामो समयपछि अहिले एसएलसी पास गरेकी लक्ष्मीलाई १२ कक्षासम्म पढ्ने रहर छ । पहिला पहिला घरको कामै छोडेर फिल्म हेर्न जाने लक्ष्मी अहिले कार्यव्यस्तताले हलसम्म जान भ्याउँदिनन् । उनलाई नारायण गोपाल, अरुणा लामा, रामकृष्ण ढकालका गीत सुन्न मन पर्छ ।

सबैभन्दा खुसी भएको क्षण

उनले जीवनमा धेरै सेवा, सहयोग गरेकी छिन् । उनको जीवनको सबैभन्दा खुसीको क्षण भनेको उनले छोरी जन्माउँदा हो । भन्छिन्, ‘छोरी जन्माउँदा धेरै खुसी भएँ ।’ आमाले आफूलाई धेरै माया गर्ने भएकाले होला छोरी जन्मिँदा उनलाई धेरै खुसी लागेको थियो । सम्भवतः त्यो नै उनको सबैभन्दा धेरै खुसी भएको क्षण हो ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै